जनताको प्रतिनिधि भएर संसदमा पुग्नु भनेको कापीमा लेखिएको कुरा पढेर सुनाउनु मात्र होइन। आफूले प्रतिनिधित्व गरेको ठाउँको माटो, बाटो, नदी, खोला, बाढी, कटान र त्यहाँका जनताको दुःख–पीडा बुझ्नु पनि जनप्रतिनिधिको जिम्मेवारी हो।
तर कहिलेकाहीँ संसदमा उठाइएका विषय सुन्दा लाग्छ–माननीयज्यू आफू निर्वाचित भएको क्षेत्रको प्रतिनिधि भएर बोल्दै हुनुहुन्छ कि कुनै कापीको प्रतिनिधि भएर ?
स्थानीय भूगोल नबुझी स्थानीय समस्यामाथि भाषण गर्न थालियो भने यस्तै हुन्छ। नदीको नाममा अलमल, खोलाको ठाउँमा अर्को खोला, तटबन्ध कहाँ चाहिन्छ भन्नेमा अन्योल अनि स्थानीय जनताको वास्तविक समस्याभन्दा कागजमा तयार पारिएको विषयलाई ठूलो उपलब्धिजस्तो प्रस्तुत गर्ने अवस्था।
कालिन्जोर र फुल्जोर मिसिएपछि झिम नदीको स्वरूप बन्छ। यस्तो आधारभूत भौगोलिक कुरा बुझेर मात्रै झिम नदीको बाढी, कटान र तटबन्धको विषयमा गम्भीर बहस गर्न सकिन्छ।
स्थानीय जनता वर्षौँदेखि नदीको बहाव, कटान र डुबानसँग जुधिरहेका छन्। उनीहरूलाई कुन ठाउँमा पानी बढ्छ, कुन बस्ती जोखिममा पर्छ, कहाँ तटबन्ध आवश्यक छ र कहाँ पहिले नै भएका संरचना कमजोर छन् भन्ने कुरा भाषणभन्दा धेरै राम्रोसँग थाहा छ।
त्यसैले स्थानीय जनताको समस्यामाथि बोल्ने माननीयले पनि पहिले स्थानीय जनतासँग बसेर उनीहरूको कुरा सुन्नुपर्छ।
‘जनताको तटबन्ध’ जस्ता कार्यक्रम र सम्बन्धित निकायले नदी नियन्त्रण तथा तटबन्धका क्षेत्रमा गरिरहेका कामबारे जानकारी लिएर, सम्बन्धित प्राविधिकसँग छलफल गरेर, स्थलगत निरीक्षण गरेर अनि स्थानीय जनताको अनुभव सुनेर संसदमा कुरा उठाउँदा त्यसको अर्थ हुन्छ।
नत्र एउटा प्रश्न उठ्छ–
जनताको समस्या बुझ्न जनताको घरदैलोमा पुग्नुपर्ने कि काठमाडौंमा बसेर कापीमा लेखिएको रिपोर्ट पढे पुग्ने ?
टुरिस्ट उम्मेदवार भएर चुनावको समयमा एउटा क्षेत्र पुग्ने, चुनाव जितेपछि राजधानी फर्किने अनि वर्षौँदेखि स्थानीय जनताले भोगिरहेको समस्या कागजमा आएको बेला मात्रै थाहा पाउने हो भने त्यसलाई जनप्रतिनिधित्वको वास्तविक अर्थ कसरी मान्ने ?
जनप्रतिनिधिले स्थानीय भूगोल नचिन्ने हो भने स्थानीय जनताले आफ्नो समस्या कसलाई सुनाउने ?
नदीलाई नदी भनेर चिन्न नसक्ने, खोलाको बहाव र जोखिम क्षेत्रबारे जानकारी नराख्ने, स्थानीय जनताको वास्तविक पीडा नबुझ्ने अनि संसदमा ठूलो स्वरमा भाषण गर्ने शैलीले मात्रै तटबन्ध बन्दैन, बाढी रोकिन्न र जनताको घर जोगिँदैन।
जनताले संसदमा ठूलो आवाज खोजेका होइनन्।
जनताले सही ठाउँको सही समस्या सही तथ्यसहित उठाउने प्रतिनिधि खोजेका हुन्।
त्यसैले अब प्रश्न व्यक्तिगत होइन, सार्वजनिक हो–
माननीयज्यू, तपाईंले प्रतिनिधित्व गर्ने क्षेत्रको नदी–खोला, बाढी–कटानको जोखिम र स्थानीय जनताको वास्तविक समस्या कति नजिकबाट बुझ्नुभएको छ ?
एकपटक कापी बन्द गरेर स्थानीय जनताको बीचमा गएर हेर्नुहोस्–समस्या कागजमा लेखिएभन्दा धेरै ठूलो हुन सक्छ।
अनि अर्को प्रश्न अझ गम्भीर छ–
यदि आफ्नो निर्वाचन क्षेत्रको भूगोल र जनताको वास्तविक समस्या बुझ्न पनि स्थानीय जनताले नै तपाईंलाई सिकाइदिनुपर्ने हो भने, हामीले तपाईंलाई प्रतिनिधि बनाएर संसदमा किन पठाएका हौँ ?
भाषण पढ्नका लागि कि जनताको समस्या बुझेर समाधान खोज्नका लागि ?