चितवन–पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरोले १८ दिन सडक अवरुद्ध बनाएपछि राजधानी भित्रिने यातायातका साधन सहज रुपमा चल्न सकेका थिएनन् । ठूला सवारीसाधन बाटोमै रोकिएका थिए भने साना सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गरेर काठमाडौँ ओहरदोहर गर्ने गरेका थिए ।
मालवाहक ठूला सवारीसाधन राजधानी प्रवेश गर्न सकेका थिएनन् । एलपी ग्यासका बुलेट तराईका उद्योगमा बोटलिङ गरेर लैजानुपर्ने बाध्यता थियो । ठूला मालवाहक ट्रक हेटौँडातर्फबाट गुडाउन चालकलाई निकै कठिन भएको थियो । कतिपय ठूला सवारीसाधन बाटोमै रोकिएका थिए । पर्यटकीय बस चल्न सकेका थिएनन् ।
सरकारले द्रुत गतिमा गरेका कामका कारण छोटो समयमा नै कृष्णभिरको सडक बनेपछि यातायात व्यवसायी उत्साहित भएका छन् । राजधानीतर्फ जाँदै गरेका माइक्रोबसका धनी तथा चालक राजु थापा कृष्णभिरको सडक दुईतर्फी रुपमा खुलेपछि सेवा दिन सहज भएको बताउँछन्।
उनले भने, “कृष्णभिरमा पहिरो गएपछि मैले दुईवटा माइक्रोबस दुईतर्फ नै राखेर यात्रुलाई सेवा दिँदैआएको थिएँ ।” थापाले नारायणगढबाट यात्रु लिएर कृष्णभिरसम्म र भिरमा यात्रुलाई हिँडाएर पारि आफ्नै अर्को माइक्रोबसमा राखेर काठमाडौँसम्म यात्रु पुर्याउने कार्य गर्दैआएका थिए।
काठमाडौँबाट नारायणगढ आइपुगेका ट्रकका चालक शिवकुमार थारुले कृष्णभिर बन्द हुँदा निकै दुःख पाएको गुनासो गरे । आफू काठमाडौँ जाँदा हेटौँडा हुँदै गएको र बाटो बनेको थाहा पाएर कृष्णभिर हुँदै आज फर्किएको उनले बताए। हेटौँडातर्फबाट जाँदा साँघुरो बाटो र धेरै ठाउँमा बिग्रिएका कारण दुःख पाएको उनको भनाइ छ । थारुले भने, “हामीलाई पृथ्वी राजमार्ग नै सजिलो हुन्छ ।”
अर्को ट्रकका चालक खुशीयाल पठान आजै कृष्णभिर हुँदै नारायणगढ आएका छन् । भैरहवा जान आएका पठानले सडक बनेपछि सहज भएको बताए। हेटौँडा हुँदै जाँदा बाटो लामो हुने र दुःख पाइने भन्दै उनले पृथ्वी राजमार्ग हुँदै आउँदा धेरै सहज भएको बताए। सरकारले छोटो समयमा वैकल्पिक मार्ग बनाएकामा उनले धन्यवाद दिए।
भैरहवाबाट काठमाडौँ जाँदै गर्नुभएका बसका चालक आशिष क्षेत्री सडक बनेपछि आफूहरुलाई सहज भएको बताउँछन् । यसअघि काठमाडौँ जाँदा हेटौँडा हुँदै गएको भन्दै उनले जामका कारण दुई दिन समय लागेको बताए। हेटौँडा हुँदै जाँदा सडक ८१ किलोमिटर लामो पर्ने क्षेत्रीको भनाइ छ ।
उनले भने, “सडक साँघुरो, ठाउँठाउँमा भत्किएको र लामो हुँदा दुःख पाइयो ।” काम गरे सकिन्छ भन्ने प्रमाण कृष्णभिरले दिएको भन्दै उहाँले सरकारले गरेको कामको प्रशंसा गरे।
पर्साको ठोरीबाट काठमाडौँ आवतजावत गर्ने बसका चालक रुपेश परियार कृष्णभिरको पहिरोपछि आफूले बस चलाउन छाडेको बताउँछन्। वैकल्पिक बाटो जाँदा लामो र अप्ठ्यारो हुने हुँदा बस थन्क्याउनुपरेको र अब सडक बनेसँगै पृथ्वी राजमार्ग हुँदै जाने बताए। उनले भने, “हेटौँडा हुँदै जाँदा खर्च नधान्ने भएपछि हामीले बस चलाउन बन्द गर्नुपर्ने अवस्था आयो ।”
कृष्णभिरमा सडक बनेपछि बुधबार साँझ सडकमा रोकिएका सवारीसाधन आवतजावत गराइएको थियो । चितवन तर्फबाट मात्रै एक हजार नौ सय हाराहारी रोकिएका सवारीसाधन काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले बताए। आज बिहानदेखि सहज रुपमा सवारीसाधन कृष्णभिर हुँदै आवतजावत गरेका उनले जानकारी दिए।
कृष्णभिरको सडक फेदमा त्रिशूली नदीले कटान गरेपछि सडक पूर्ण रुपमा भाँसिएको थियो । झण्डै एक सय मिटर सडक भाँसिएपछि नजिकैबाट भित्तो काटेर वैकल्पिक मार्ग बनाइएको हो । नियमित रुपमा तीव्र गतिमा काम गरिएकै कारण १८औँ दिनमा पूर्ववत् अवस्थामा आज बिहानदेखि सडक सञ्चालनमा आएको हो । यसबीचमा रोकिएका र वैकल्पिक मार्ग भएर जाँदा दुःख पाएका सवारी चालकहरुले सडक बनेसँगै खुसी व्यक्त गरेका छन् ।