काठमाडौं: बहुप्रतिष्ठित सौन्दर्य प्रतियोगिता 'मिस युनिभर्स नेपाल २०२६' को तयारी तीव्र गतिमा अघि बढिरहेको छ। यसै क्रममा काठमाडौंको प्रख्यात होटल सोल्टीमा आयोजित एक विशेष र्याम्प वाक शो मा प्रतियोगीहरूले नेपाली कला, संस्कृति र पहिचानको भव्य प्रस्तुति दिएका छन्।

ग्लोबल ग्ल्यामर भेन्चर' (Global Glamour Venture) द्वारा आयोजित यस प्रतियोगिताको नेसनल डाइरेक्टरको रूपमा संगीता पुरीले जिम्मेवारी सम्हालेकी छिन्। यस वर्षको संस्करणमा नेपालभित्र तथा विदेशमा रहेका गैरआवासीय नेपाली (NRN) युवतीहरूले समेत सहभागिता जनाउने अवसर पाएका छन्। साथै, विवाहित तथा अविवाहित दुवै महिलाले प्रतिस्पर्धा गर्न पाउने नियम राखिएका कारण यस पटकको प्रतियोगिता थप समावेशी बनेको छ।

प्रसिद्ध कोरियोग्राफर प्रशान्त ताम्राकारको कोरियोग्राफीमा सम्पन्न उक्त रनवे शो मा १४ भन्दा बढी प्रतियोगीहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा नेपालका चर्चित फेसन डिजाइनरहरू—श्वेता आचार्य, प्रियंवश खेतान, युमी कुमारी चौधरी र आकृती पुन मगर लगायतका डिजाइनरहरूद्वारा तयार पारिएका मौलिक तथा आकर्षक पहिरनहरू प्रदर्शन गरिएका थिए।

नेपाली नारीहरूको प्रतिभा, नेतृत्व क्षमता, आत्मविश्वास र सामाजिक उत्तरदायित्वलाई प्रस्फुटन गराउँदै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान उँचो बनाउनु यस प्रतियोगिताको मुख्य ध्येय रहेको आयोजकले जनाएको छ। यसको ग्रान्ड फिनालेबाट छनोट हुने विजेता प्रतियोगीले आगामी अन्तर्राष्ट्रिय 'मिस युनिभर्स' मञ्चमा नेपालको तर्फबाट आधिकारिक रूपमा प्रतिनिधित्व गर्नेछिन्।


