पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई

राम्रो अनलाइन     ०१ असोज २०८३, बिहिबार
पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई

नुवाकोट–पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्ने बताएका छन्।  

बाढीबाट प्रभावित नुवाकोटका विभिन्न स्थानको बुधबार अवलोकन गर्नाका साथै प्रभावित बासिन्दासँग अन्तरक्रिया गरेका पूर्वप्रधानमन्त्री भट्टराईले अबको पुनरुत्थान तथा पुनर्निर्माणमा सुरक्षित बस्ती विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

“भोटेकोशीमा आएको बाढी सामान्य विपद् होइन, यसलाई हिमालय महाविपत्तिका रूपमा लिन सकिन्छ,” उनले भने, “हिमताल र हिमनदीको जोखिम निकै भयावह बन्दै गएको छ । आगामी दिनमा कसरी सुरक्षित रहने भन्ने विषयमा अहिले नै चनाखो भएर सुरक्षित स्थानमा बस्ती बसाल्नुपर्छ ।”

पूर्वप्रधानमन्त्री डा भट्टराईले बाढीबाट क्षति पुगेको विदुर नगरपालिकाका विभिन्न स्थानको अवलोकन गरेका थिए। त्यस क्रममा उनले प्रभावित क्षेत्रका बासिन्दा तथा स्थानीय जनप्रतिनिधिसँग बाढीले पुर्‍याएको क्षति र पुनरुत्थानका विषयमा जानकारी लिए।

उनले नदीको बहाव पुगेको क्षेत्रसम्मको जग्गा सरकारले अधिग्रहण गरी प्रभावितलाई सुरक्षित स्थानमा वैकल्पिक जग्गा उपलब्ध गराउनुपर्नेमा जोड दिए। 

बाढीपछिको खोज तथा उद्धार, राहत वितरण तथा प्रभावितलाई राख्न निर्माण गरिएका ‘होल्डिङ सेन्टर’को व्यवस्थापन प्रभावकारी देखिएको उल्लेख गर्दै उनले पुनरुत्थानका काममा पनि यही प्रकारको समन्वय र सहजीकरण कायम गर्नुपर्ने बताए।

विदुर नगरपालिकामा बाढीबाट पुगेको क्षतिको नगरप्रमुख राजन श्रेष्ठ तथा वडाध्यक्षबाट जानकारी लिएपछि उनले उद्धार तथा प्रभावितको व्यवस्थापनमा तीन तहका सरकारबीच भएको सहकार्य उदाहरणीय रहेको बताए। 

प्रतिक्रिया