यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छः प्रधानमन्त्री बालेन्द्र शाह

राम्रो अनलाइन     १० भदौ २०८३, बुधबार
यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छः प्रधानमन्त्री बालेन्द्र शाह

आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू,
आज म अत्यन्तै भारी मन लिएर तपाईंहरूमाझ उभिएको छु। आज बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्याएको ठूलो मानवीय र भौतिक क्षतिले सिङ्गो देशलाई नै स्तब्ध र मर्महत बनाएको छ। प्राकृतिक विपद्को यो अप्रत्याशित बज्रपातले हाम्रा धेरै दाजुभाइ, दिदीबहिनी र साना–साना बालबालिकाहरूलाई गहिरो पीडामा धकेलेको छ।

बाढीका कारण हालसम्म ५० भन्दा बढी हाम्रा प्रिय नागरिकहरूले ज्यान गुमाइसकेको दुःखद खबर प्राप्त भएको छ। म नेपाल सरकार र व्यक्तिगत तर्फबाट ज्यान गुमाउनुहुने ती सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। आफ्नो मान्छे, आफ्नो परिवार र सर्वस्व गुमाएर शोकमा डुब्नुभएका ती दाजुभाइ तथा दिदीबहिनीहरूमा गहिरो समवेदना व्यक्त गर्दछु। तपाईंहरूको यो असैह्य पीडामा सिङ्गो नेपाल सरकार र सम्पूर्ण देशबासी साथमा छौँ। बाढीमा परी घाइते हुनुभएका र अस्पतालमा उपचार गराइरहनुभएका सबै नागरिकहरूको छिटोभन्दा छिटो स्वास्थ्य लाभको कामना गर्दछु।

यो दुःखद खबर पाउनासाथ सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई हजारौंको संख्यामा उद्धार कार्यमा परिचालन गरेको छ।

बाढी गएलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बस्यो। त्यसलगत्तै राष्ट्रिय परिषद्को बैठक र मन्त्रिपरिषद्को बैठक समेत बसेर उद्धार, खोज र राहत कार्यलाई कसरी तीव्र बनाउने भन्नेबारे महत्वपूर्ण निर्णयहरू गरियो।
बाढी प्रभावित क्षेत्रमा नागरिकहरूको ज्यान जोगाउन र खोजतलास गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीहरूलाई तत्कालै मैदानमा उतारिएको छ।

हाम्रा सुरक्षाकर्मीहरूले नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५०+ नागरिकको उद्धार गरिसकेका छन्। उद्धार गरिएकामध्ये घाइतेहरूलाई तत्काल काठमाडौँ ल्याएर उपचार सुरु गरिएको छ।
अहिलेको यो समय निकै संवेदनशील छ। घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु नै हाम्रो पहिलो प्राथमिकता हो।

घाइते नागरिकहरूको सहज र निःशुल्क उपचारका लागि काठमाडौँको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा शय्या छुट्याइएको छ। उपत्यकाका अन्य सबै ठूला अस्पतालहरूलाई पनि जुनसुकै बेला घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ। सरकारले प्रभावित क्षेत्रमै मेडिकल टिम खटाएर घाइतेहरूको उद्धार र प्राथमिक उपचार गरिरहेको छ। काठमाडौंको  राष्ट्रिय ट्र्मा सेन्टर, विभिन्न सुरक्षा निकायहरुबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीहरुको टोली तत्कालै पठाइएको छ। यस्तै, नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायत निकायबाट पनि चिकित्सक, उद्धारकर्मी र स्वास्थ्य सामग्री बाढीप्रभावित क्षेत्रमा पठाइसकिएको छ।
आपत्कालीन स्वास्थ्य सेवा, औषधी र रगतको अभाव नहोस् भनेर रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयहरू, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटजस्ता संघसंस्थाहरूसँग निरन्तर समन्वय भइरहेको छ।

बाढीग्रस्त क्षेत्रका संघीय सांसदहरूसँग हामीले परामर्श गरी स्थानीय तहमा कहाँ के सहयोग आवश्यक छ, सोही अनुसार सहजिकरण गरिरहेका छौं। घाइतेहरूको थप विवरण संकलन गर्ने काम अझै निरन्तर जारी छ।

यो विपद्बाट नागरिकलाई बचाउन र उहाँहरूको जनजीवन सामान्य बनाउन सरकार लागिरहनेछ। बाढीमा हराइरहेका नागरिकहरूको खोजतलासलाई अझ तीव्र पारिनेछ। घाइतेहरूको पूर्ण विवरण र बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण संकलन गरिनेछ। आज रात भर पनि उद्धार कार्य जारी नै रहने छ । 

नुवाकोटको विदुर; रसुवाको उत्तरगया र गोसाइँकुण्ड; धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन्। यी सबै क्षेत्रका पीडित परिवारहरूसम्म खानेकुरा, सफा खानेपानी, औषधी र अस्थायी बसोबासको व्यवस्था तुरुन्त पुर्याइने छ ।

बाढीका कारण भत्किएका सडक, पुल, बिजुली र खानेपानीका आयोजनाहरूलाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई पुनः पुरानै अवस्थामा फर्काइनेछ। विस्थापित भएका परिवारहरूलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिनेछ

बाढी प्रभावित क्षेत्रका आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

तपाईंहरूले भोग्नुपरेको पीडा र गुमाएको क्षति सानो छैन। तर म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु—यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न। राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ। कृपया धैर्य धारण गर्नुहोला। तपाईंहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ।

यस्तो विपद्को बेला हामी सबै एक ढिक्का हुनुपर्छ। म सम्पूर्ण सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकहरूलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न हार्दिक अनुरोध गर्दछु।
हाम्रा पीडित दाजुभाइ–दिदीबहिनीहरूलाई पुनः सामान्य जीवनमा फर्काऔँ।
धन्यवाद। See less

प्रतिक्रिया