नयाँ राजनीति कि पुरानै संस्कार ?

रश्मिला बस्नेत     ०१ असोज २०८३, बिहिबार
नयाँ राजनीति कि पुरानै संस्कार ? रास्वपा सांसद नीतिमा भण्डारी

रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता हुनुभएका शिक्षक द्वारिकाप्रसाद दंगालप्रति सम्मान र उहाँको परिवारप्रति गहिरो सहानुभूति छ। पीडित परिवारलाई राज्यले राहत, क्षतिपूर्ति र आवश्यक सहयोग दिनुपर्छ यसमा कुनै विवाद छैन।

तर रास्वपाकी सांसद नीतिमा भण्डारीले बेपत्ता शिक्षक दंगालकी श्रीमतीलाई उहाँकै रिक्त शिक्षक पदमा नियुक्त गर्न सरकारसँग गरेको मागले भने गम्भीर प्रश्न उठाएको छ।

सांसदज्यूले यस्तो माग किन गर्नुभयो ? सरकारी पद योग्यता र प्रतिस्पर्धाबाट प्राप्त गर्ने हो कि पीडित परिवारको सहानुभूतिका आधारमा ?

पीडित परिवारलाई सहयोग गर्ने धेरै बाटा छन्–राहत, क्षतिपूर्ति, सामाजिक सुरक्षा, रोजगारी वा अन्य विशेष व्यवस्था। तर रिक्त सरकारी पद नै परिवारका सदस्यलाई दिनुपर्ने मागले योग्यताका आधारमा अवसर खोजिरहेका हजारौँ युवामाथि कस्तो सन्देश जान्छ ?

रास्वपा राजनीतिमा आउँदा पुरानो राजनीतिक संस्कार बदल्ने, योग्यतालाई प्राथमिकता दिने र नयाँ राजनीतिक संस्कृति निर्माण गर्ने दाबी गरेको थियो। त्यही आशा र अपेक्षाले जनताले नयाँ अनुहारलाई मत दिएका हुन्।

तर आफ्नै सांसदको यस्तो अभिव्यक्ति सुन्दा रसुवाका जनताले मात्र होइन, देशभरका मतदाताले प्रश्न गर्नुपर्ने अवस्था आएको छ ।

हामीले साँच्चिकै नयाँ राजनीतिक संस्कार रोजेका थियौँ कि पुरानै शैलीलाई नयाँ अनुहारमा हेर्न खोजेका थियौँ ?

सांसदको जिम्मेवारी जनताको भावनालाई मात्र बोल्नु होइन, कानुन, योग्यता र समान अवसरको पक्षमा उभिनु पनि हो।

दुःखमा परेको परिवारलाई न्याय चाहिन्छ, तर न्यायको नाममा नियुक्तिको नयाँ नजिर बनाउनु न्यायसंगत हुन्छ कि हुँदैन?

राजनीति परिवर्तन गर्ने दाबी गर्नेहरूले पहिले आफ्ना माग र अभिव्यक्तिबाटै परिवर्तन देखाउनुपर्छ।

नयाँ पार्टी, नयाँ अनुहार र नयाँ नारा भएर मात्र राजनीति नयाँ हुँदैन। सोच र संस्कार पनि नयाँ हुनुपर्छ।

नत्र जनताले फेरि सोध्नेछन्–

“हामीले पात्र फेर्‍यौँ कि राजनीतिको शैली नै फेर्‍यौँ?”

र अन्तिम प्रश्न सांसदज्यूलाई नै–

योग्यताका आधारमा सरकारी सेवामा प्रवेश गर्न खोजिरहेका हजारौँ युवाको अधिकारभन्दा पारिवारिक सहानुभूतिको आधारमा एउटा व्यक्तिलाई नियुक्त गर्ने माग कसरी न्यायोचित भयो ?

प्रतिक्रिया