राजनीतिमा पद पाउनु मात्र ठूलो उपलब्धि होइन, पाएको पदको गरिमा र जनताको विश्वास जोगाएर राख्न सक्नु नै वास्तविक सफलता हो। आज केही सांसदहरूको गतिविधि हेर्दा आफ्नै सरकारको आलोचना र विरोधमा उनीहरू विपक्षीभन्दा पनि अगाडि देखिन थालेका छन्। सरकारका कमजोरी औँल्याउनु, प्रश्न गर्नु, सुझाव दिनु र सुधारका उपाय प्रस्तुत गर्नु लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो। तर आफ्नै सरकारलाई बलियो बनाउने जिम्मेवारी बोकेका व्यक्तिहरूले नै सरकारलाई कमजोर बनाउने किसिमले प्रस्तुत हुनु भने सोचनीय विषय हो।
एउटा कुरा हामीले बिर्सनु हुँदैन–आज तपाईंहरू सांसद हुनुहुन्छ भने त्यो पद व्यक्तिगत कृपा वा संयोगले प्राप्त भएको होइन। एउटा राजनीतिक पार्टी थियो, त्यसको संगठन थियो, त्यसप्रति जनताको विश्वास थियो र जनताले आफ्नो मत दिएका थिए। त्यही मतको परिणामस्वरूप तपाईंहरू संसदमा पुग्नुभएको हो। त्यसैले जनताको मतबाट प्राप्त पदमा बसेर जनताको अपेक्षा र विश्वासलाई पनि सम्मान गर्नुपर्छ।
अझ अहिलेको राजनीतिक परिवर्तनको सन्दर्भमा जनताले प्रधानमन्त्री बालेन्द्र शाहप्रति ठूलो आशा र विश्वास राखेका छन्। मेरो बालेनप्रतिको समर्थन कुनै व्यक्तिप्रतिको अन्धो समर्थन होइन; यो पुरानो राजनीतिक संस्कारभन्दा फरक काम गर्ने शैली, नयाँ सोच, जवाफदेहिता र परिवर्तनको चाहनाप्रतिको समर्थन हो। त्यसैले सरकारका कमजोरी भए औँल्याउनुपर्छ, गल्ती भए सच्याउनुपर्छ र आवश्यक परे कडा खबरदारी पनि गर्नुपर्छ। तर परिवर्तनको अपेक्षासहित जनताले दिएको जनादेशलाई कमजोर बनाउने काम कसैबाट हुनु हुँदैन।
जीवनको एउटा गहिरो दर्शन छ–मानिसले आफूले पाएको वस्तुको मूल्य समयमै बुझ्न सकेन भने पछि त्यसको अभावमा भौँतारिनुपर्ने हुन्छ। आफ्नै हातमा आएको हिराको मूल्य नबुझेर फालिदिएपछि जीवनभरि ढुंगा खोज्दै हिँड्नुको कुनै अर्थ हुँदैन। राजनीति पनि त्यस्तै हो। आज प्राप्त भएको अवसर, जिम्मेवारी र जनताको विश्वासलाई हल्का रूपमा लिइयो भने भोलि त्यही विश्वास फेरि प्राप्त गर्न निकै कठिन हुन सक्छ।
सत्ता र पद स्थायी हुँदैनन्, तर जनताको सम्झना र जनताको फैसला लामो समयसम्म रहन्छ। त्यसैले आज कसले कसलाई कमजोर बनायो भन्नेभन्दा पनि, कसले जनताको विश्वासलाई कति सम्मान गर्यो भन्ने कुरा इतिहासले सम्झनेछ।
त्यसैले मेरा सांसद मित्रहरूलाई मेरो आग्रह छ–आफ्नै सरकारको विरोध गर्नुभन्दा पहिले आफूलाई संसदमा पुर्याउने जनताको मत सम्झनुहोस्। व्यक्तिगत असहमति भए राख्नुहोस्, नीतिगत प्रश्न भए उठाउनुहोस्, तर परिवर्तनको यात्रालाई कमजोर पार्ने होइन, सही दिशामा अघि बढाउने भूमिका निर्वाह गर्नुहोस्।
किनकि आफ्नै हातमा आएको हिरा जोगाउन नसक्नेहरूले भोलि त्यही हिराको मूल्य बुझेर पनि त्यसलाई फेरि प्राप्त गर्न नसक्न सक्छन्।