स्त्रीले चरमोत्कर्ष वा चरम आनन्द अनुभव गर्न नसक्ने धेरै कारण छन्। तर, तीमध्ये केही कारणको समाधान महिलालाई आफ्नो शरीरको कामुक प्रकृतिबारे अवगत गराई गर्न सकिन्छ।
कहिल्यै चरमोत्कर्षमा पुग्न नसकेका वा क्षमता भएर पनि त्यसमा कमी आएको अथवा त्यस अवस्थामा पुग्न आफूलाई पूरै असमर्थ अनुभव गरेका स्त्रीलाई चेतना केन्द्रित अभ्यासबाट त्यो क्षमता विकासमा मद्दत गर्न सकिन्छ। यस्तो अवस्थामा महिलाले हस्तमैथुन प्रयोगका साथै आफ्नो शरीरको कामुकताप्रति संवेदनशील भएर आत्मरति गर्ने अभ्यास गर्नुपर्छ।
यस प्रयोजनका लागि आफ्नै संवेदनशील अंग मर्दन गर्ने, मुसार्ने तथा सुमसुम्याउनेजस्ता अभ्यास उपयुक्त हुन्छन्। शरीरमा सुगन्धयुक्त मलम लगाएर आफ्नो शरीरलाई माया गर्दै स्पर्श गर्दा स्त्रीलाई आफ्नो शरीरको महत्वर आत्मविश्वास बढेको अनुभूति हुन्छ।
लाज मान्ने स्त्री अथवा आफ्नो यौनांगप्रति नकारात्मक सोच विकास भएका महिलाले एकान्तमा ऐनामा आफ्नो रूप नियाल्दै औँलाले संवेदशील अंगलाई चलाई आफ्ना महत्वपूर्ण अंगको महत्त्वको आत्मबोध गर्नु राम्रो हुन्छ।
आफ्नो शारीरिक व्यक्तित्वको उच्च मूल्यांकन गर्न थालेपछि हस्तमैथुन गर्दै आफ्नो शरीर मुसार्दै र सुमसुम्याउँदै योनिका ओठ र भगनासलाई हलुका मर्दन गरेर यस्तो विशिष्ट स्पर्शका माध्यमबाट त्यसको आनन्द अनुभूति गर्दै कामोत्तेजना जगाउन सफल हुन सकिन्छ।
यस अभ्यासलाई महिलाले जति कामुक तरिकाले सम्पन्न गर्न सक्छ त्यति नै उनका मनोशारीरिक प्रतिक्रिया विकसित हुन्छन्। यस्तो अभ्यास गर्दा स्त्रीले मुहार, गर्धन, स्तन, पेट, नितम्ब, तिघ्रा, योनिमाथिको कोमल भाग र भगोष्ठलगायत शरीरका अन्य भागलाई सुमसुम्याउँदै र मुसार्दै आत्मरति गर्न नियमित रूपमा यथेष्ट समय दिनुपर्छ।
यसका लागि महिलाले उपयुक्त मनस्थिति बनाउन अभ्यासअघि सुगन्धयुक्त जलमा स्नान गरेर छालालाई लोसन वा मलम लगाएर नरम बनाउनुपर्छ। त्यसपछि पृष्ठभूमिमा आनन्ददायी तथा कामुक संगीत बजिरहेको, धेरै मैनबत्ती प्रज्वलित भएको न्यानो र एकान्त कोठामा अभ्यास गर्नुपर्छ।
अभ्यासका क्रममा महिलाले मन पर्ने र उत्तेजक लाग्ने कामुक स्वैरकल्पनामा मग्न भई आफूलाई कामुक बनाउने कोसिस गर्नुपर्छ। धेरै स्त्री हीनताबोध र उत्तेजक कल्पना गर्ने बानी नभएका कारणले कामुक स्वैरकल्पना गर्न असमर्थ भएको अनुभव गर्न सक्छन्।
यस्ताहरूले अंग्रेजी लेखिका न्यान्सी फ्राइडेद्वारा लिखित पुस्तक ‘माई सेक्रेट गार्डेन’ पढ्नु उपयुक्त हुनेछ। पुस्तकमा लेखिकाले अत्यन्त सावधानीपूर्ण अनुसन्धानद्वारा प्रतिपादित स्त्री स्वैरकल्पनाका विविधता र विशिष्टतालाई स्पष्ट रूपमा उल्लेख गरेकी छिन्।
यसबाट स्वैरकल्पना विचित्र, हाँसोउठ्दा, डरलाग्दा वा रंगिन जस्तासुकै भए पनि तिनले स्त्रीको मस्तिष्क पुरुषको भन्दा कम कल्पनाशील हुँदैन भन्ने स्पष्ट हुन्छ। अभ्यासको यस चरणमा स्त्रीले भाइब्रेटरको प्रयोग गर्न सक्छन्।
स्त्रीहरू आफ्नो शरीरमाथि नियन्त्रण गुमाउने डरले वा छाडा भइने आशंकाले आफूलाई चरमोत्कर्षका प्रतिक्रियासम्म पुग्नबाट रोक्छन्। तर, लामा–लामा सास फेर्दै आफ्नो बेडमा लुटुपुटु गरेर उच्छ्वास निकाल्दै र कराउँदै चरमोत्कर्षको तहसम्म पुगी त्यसका प्रतिक्रियाको अभ्यास गर्नाले उनीहरूलाई आफ्नो यौनसाथीसँग खुला रूपमा सम्भोगजन्य प्रतिक्रिया व्यक्त गर्न सक्षम र समर्थ बनाउँछ।
आत्मरतिका प्रक्रियाको अभ्यासले स्त्रीलाई आफ्ना विशिष्ट यौनप्रतिक्रियासँग परिचित हुने मौका दिन्छ। यसबाट उनीहरूमा प्रदर्शन गरेको व्यवहारका कारणले मात्र होइन ‘आफैँ पनि चरमोत्कर्षमा पुग्न योग्य छु’ भन्ने आत्मविश्वासको विकास हुन्छ। महिला भविष्यमा यौन सम्पर्कका क्रममा आफ्ना शारीरिक र मानसिक कामुक प्रतिक्रियाबारे यस अनुभूतिलाई प्रयोग गर्न सक्षम हुन्छन्।
सम्भोगका क्रममा चरमोत्कर्षमा पुग्न असमर्थ हुने समस्याबाट ग्रस्त भएका बेला महिला र उनका पुरुष साथीले चेतनाकेन्द्रित अभ्यासका माध्यमबाट फाइदा लिन सक्छन्। महिला–पुरुषले एकअर्काको यौनांगको स्पर्श गर्ने अभ्यास गर्दा राम्रो हुन्छ। जसमा स्त्रीले पुरुष साथीलाई हस्तमैथुनको कुन प्रक्रिया आफूलाई मन पर्छ भन्ने कुरा बुझाउन सक्छ।
लामो आनन्ददायी प्राक्क्रीडा, चुम्बन, कामुक अंगको मर्दन, हातले भगनासको मर्दन अथवा मुखसम्भोग यौन आनन्दको विविधताका लागि प्रयोग गरिन्छन्। लिंग प्रवेश वा योनिच्छेदनअघि यी प्रक्रियाको यथोचित् प्रयोगले स्त्रीलाई चरमोत्कर्षमा पुग्ने कामना र इच्छाशक्ति विकास गर्न मद्दत गर्छ।
स्त्रीले आफ्नो पुरुषसाथीको आनन्दका लागि मात्र अथवा उसका अगाडि आफूलाई कामुक प्रमाणित गर्न मात्र चरमोत्कर्षमा पुग्ने चाहना राख्नुपर्छ भन्ने सोच गलत हो। बरु, यस्तो सोचले महिलामा मानसिक र शारीरिक तनाव पैदा गरी उनको प्राकृतिक प्रतिक्रियालाई निषेधित गर्न सक्छ।
जोडीहरूले सम्भोगरत हुनुअघि आफ्ना विमति, आफूबीच रहेका वा लुकेका नकारात्मक सोचको समस्यालगायत पूर्ण समाधान गर्नु जरुरी छ। किनभने, यस्ता अवस्थाले पनि स्त्रीको कामुक चेतनालाई तिखार्न दिँदैनन्। यसबाहेक उचित समयको चयन, यौनसाथीको शारीरिक र मानसिक थकाइ, तनावको अवस्था र बालबच्चाका चिन्ताबाट मुक्त रहेको उचित समय चयन गरी सम्भोग गर्दा दुवैको यौनप्रतिक्रिया सुमधुर हुनाका साथै बढी कामुक हुन्छ।
कतिपय महिला कामुक क्रिया वा अवस्थाबाट पनि चरमोत्कर्षमा पुग्न नसक्ने ‘एनअर्गाज्मिया’ भन्ने समस्याबाट ग्रस्त
हुन्छन्। उनीहरूले आफूलाई चरमोत्कर्ष प्राप्तिका लागि समर्थ बनाउन अनुभवी यौनचिकित्सिकको सहयोग लिनु उपयुक्त हुन्छ।
पुरुषजस्तै स्त्रीमा चरमोत्कर्ष प्राप्ति हुँदा यौनांगबाट कुनै वस्तु स्खलित हुनैपर्छ भन्ने छैन। तर, केही स्त्रीमा योनिका भित्तामा रहेका ग्रन्थि लिंग घर्षणका क्रममा प्राप्त हुने उत्तेजनाले द्रवित भई पानीजस्तो सङ्लो रस निस्कन्छ।
यस्तो अवस्थामा चरमोत्कर्षका बेला उत्तेजनाले सामान्यतः योनिभित्र आउने चिप्लोपनभन्दा फरक प्रकारको रस धाराप्रवाह रूपमा निस्कने गर्छ। तर, यसो नहुँदैमा स्त्रीले चरमोत्कर्ष प्राप्त नगरेको भन्न मिल्दैन। स्त्रीको चरमोत्कर्षको प्रस्तुति त्यतिखेर शरीरमा एक्कासि बढ्दो तनाव र त्यसपछिको स्वतः स्फूर्त शिथिलताका रूपमा प्रकट हुन्छ।
यसबाहेक मानसिक स्थितिमा परिवर्तन, अत्यधिक छटपटी, उच्छ्वास र शारीरिक कम्पनपछिको सन्तुष्टिजन्य स्थिरताबाट पनि चरमोत्कर्षमा पुगेको लख काट्न सकिन्छ।