यौनमा मौसम परिवर्तनको प्रभाव

डा. सुमनराज ताम्राकार     १६ वैशाख २०८२, मङ्गलबार

जलवायु परिवर्तनले प्रकृतिका धेरै कुरालाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पारेको देखिन्छ । जलवायु परिवर्तन र मौसमबीच नङ–मासुको सम्बन्ध छ । कतिपयले जिज्ञासा हुने गर्छ– ‘मानवीय यौन गतिविधिसँग मौसमको के सम्बन्ध हुन सक्छ ?’ के मौसम परिवर्तनसँगै मानिसका यौन क्रियाकलापमा फरकपन आउन सक्छ ? 

वसन्तमा वरिपरिको प्रकृति देखेर, आनन्दको अनुभूति गरेर मानिसहरूले यौनिक गतिविधिका साथै माया, प्रेम बढ्ता प्रदर्शन गर्ने गरेको पाइएको छ । हिउँदका चिसा दिन र लामा रातभन्दा वसन्त ऋतुमा हरियाली वातावरणले चिन्ता, डिप्रेसन र खस्किएको मुड पनि त्यसै–त्यसै आनन्दित हुन थाल्छ । जसरी चराचुरुंगीको प्रजनन गतिविधि बढ्ने, रूख, बोटबिरुवाले काँचुली फेर्ने कार्य हिउँदको अन्त्यसँगै बिस्तारै जाग्दै आउँछ । त्यसै गरी मानिसमा पनि वसन्तमा रमाइलो मुड हुने गर्छ ।

तर, मानवीय यौन गतिविधि र मौसमबीचको सम्बन्धबारे ठ्याक्कै भन्ने नसके पनि मानिसका यौन व्यवहार, प्रजनन र मौसमलाई लिएर केही तथ्य भने छन् । यौनजन्य रोग लागेका किशोर–किशोरीको अध्ययन गर्ने क्रममा यौन गतिविधि र शारीरिक सम्पर्क राख्ने कार्य वसन्त र वर्षा याममा बढी पाइयो । जबकि, हिउँदका समयमा ती गतिविधि कम भए । वसन्त र वर्षा यामका शुक्रबार र शनिबार रातिको समय यौन गतिविधि अधिक भए भने आइतबार कम रहेको पाइयो । 

सन् १९८३ मा एरेनक्रान्जले यौन क्रियाकलापबारे ऐतिहासिक रूपमा सन् १७७८ देखि १९४० सम्म उत्तरी गोलाद्र्धमा गरिएको अध्ययनबाट के तथ्य उजागर भयो भने बढीजसो जन्म हिउँदको अन्त्यतिर (मार्च) र बर्खा याम (जूनदेखि अगस्ट अन्तिमतिर) कम पाइयो । यसको मतलब बढीजसो यौन गतिविधि अर्थात् गर्भधारण वसन्त यामको अन्तिमतिर वा वर्षा यामको सुरुवाततिर हुने गरेको पाइयो । र, गर्भ रहने कार्य वर्षा यामको अन्तिमतिर वा शरद यामताका नै कम हुने गरेको पाइयो । सन् १९७४ देखि १९८२ गरिएको एक अध्ययनमा भने बढी जन्मदर वर्षा मौसमको अन्त्यतिर (अगस्ट/सेप्टेम्बरतिर) पाइयो । यसले शरद यामको अन्त्यतिर (नोभेम्बर÷डिसेम्बरतिर) गर्भधारण हुने गरेको इंगित गर्छ ।

महिलाहरूको जीवनमा महिनाावारी सुरु हुने र बन्द हुने कार्यले धेरै महत्व राख्छ । महिलामा हुने यी परिवर्तनमा पनि मौसमी प्रभाव देखियो । लामा दिन, सुहाउँदो तापक्रमजस्ता मौसमी तŒव, स्कुलमा गर्मी छुट्टी हुने समय, आराम महसुस गर्ने बेला सकारात्मक मानसिक प्रभाव परी तनाव कम हुने हुनाले पनि अध्ययनअनुसार बढीजसो महिनावारीको सुरुवात वर्षा यामताका हुने गरेको पाइएको छ । यसै गरी सन् २००५ मा गरिएको एक अध्ययनबाट बढीजसो रजोनिवृत्ति (महिलाहरूमा महिनावारी सुक्ने कार्य) हिउँदको समयमा हुने गरेको पाइयो । 

महिलामा मात्र होइन पुरुषमा पनि मौसम अनुसारको प्रभाव पर्दो रहेछ । उदारहणको लागि वीर्यको गुणस्तर र मात्रा मौसमी विविधताअनुसार प्रभाव हुँदो रहेछ । वर्षाको मौसममा निकै गर्मी हुने मुलुकहरूमा, अन्य मौसममा भन्दा प्रत्येक चोटिको स्खलनमा वीर्यको मात्रा र गुणस्तर कम पाइयो । बर्खाका अन्त्य र शरद ऋतुसम्म आइपुग्दा वीर्यको मात्रा निकै कम बिन्दुमा आइपुग्ने एक अध्ययनले देखाएको छ । 

मौसमी विविधतासँगै दिउँसोको प्रकाश अर्थात् दिनको लम्बाईमा निकै फरकपन आउने उत्तरी गोलाद्र्धका मुलुकहरूमा हर्मोनको काम र गर्भधारण दर हिउँदका अँध्यारा महिनामा कम रहेको पाइयो भने वर्षा याममा गर्भधारण उच्च र वसन्तमा बच्चा जन्मिने दर बढी पाइयो । 

पुरुषले महिलालाई हेर्ने दृष्टिमा पनि मौसमी प्रभाव हुन्छ ? यो विषयमा त्यति धेरै अध्ययन नभए पनि एउटा अध्ययनमा मौसमी प्रभाव देखिएको छ । पावलोस्की र सोरोकोवस्कीले पोल्यान्डका १ सय १४ पुरुषलाई सन् २००४ को हिउँददेखि सन् २००५ को हिउँदसम्मको तीन अन्तरालमा महिलाको अनुहार, स्तन र जीउडालका आकर्षक फोटोग्राफ देखाएर गरिएको एक अध्ययनअनुसार हिउँदका महिनामा महिलाको स्तन र जीउडालमा बढ्ता आकर्षण हुने गरेको पाइयो भने अनुहारमा खासै कमेन्ट गरिएको पाइएन ।

पहिले परम्परागत नेपाली समाजमा ‘युवतीहरूको पिँडौला वा तिघ्राको तल्लो भाग हेर्न पाउँदा पनि रोमाञ्चित हुन्थे रे !’ भनेझैँ हिउँदका समयमा महिलाले बढ्ता अंग ढाक्ने हुनाले शरीर हेर्न पाइँदैन । त्यसैले स्तन एवं जीउडालको नापनक्शाले नै आकर्षण गर्ने गरेको पाइयो । जबकि, वर्षा याममा विशेषतः पश्चिमा महिला तुलनात्मक रूपमा खुल्ला भई हिँड्ने हुनाले आकर्षण कम हुने गरेको पाइयो । 

मौसमअनुसार मुडमा परिवर्तन भएसँगै मानिसहरूको धारणा बनाउने कार्यमा पुरुषको टेस्टोस्टेरोन मात्राले भूमिका खेल्छ । अतः मौसमी विविधताका कारण हिउँदका समयमा त्यस्तो सकारात्मक धारणा बनाएको हुन सक्छ ।

प्रतिक्रिया