यौन जीवन गडबड भयो भने सिंगो जिन्दगी ध्वस्त हुन्छ । यौन समस्या या दुर्बलताले कुण्ठित मान्छे कहिल्यै दिल खोलेर हाँस्न सक्दैन । यौन सन्तुष्टिको खोजीमा मानिसहरू बाबाको आश्रमदेखि ‘सेक्स पावर’ बढाउने औषधि पाइने पसलसम्म धाइरहेका छन् । सेक्ससम्बन्धी ९० प्रतिशत समस्या मनोवैज्ञानिक हुन्छन् । चरम सुख, चरमोत्कर्ष या चरम सन्तुष्टिका लागि व्यग्र मानिस ‘यहाँ सबै यौन समस्याको उपचार गरिन्छ’ भन्ने बोर्ड लगाइएका पसलका मुर्गा हुन् । किन यति असन्तुष्ट छन् मान्छेहरू ?
नेपालमा यौन विशेषज्ञ निकै कम छन् । भएका पनि आफूलाई छाला तथा यौन रोग विज्ञ भन्न रुचाउँछन् । सेक्सोलोजिस्ट तथा सेक्स थेरापिस्टको अभावसँगै नेपालमा यौन दुर्बलता हटाउने र ‘सेक्स पावर’ बढाउने भन्दै धन्दा चलाउनेहरूको व्यापार भने मजाले फस्टाएको छ । सेक्समा सन्तुुष्ट हुन नसकेका तथा आफ्नो पार्टनरलाई सन्तुष्ट बनाउन नसकेकाहरू क्षणभरमै सेक्स समस्या छुमन्तर गरिने भन्दै प्रकाशित हुने विज्ञापनको पछि लाग्ने गरेका छन् ।
पत्रपत्रिका र सामाजिक सञ्जालहरूमा दिनहुँजसो विज्ञापन प्रकाशित भएका हुन्छन् । ‘अब ८० वर्षसम्म सेक्स’, ‘४० वर्ष नाघेपछि आउने हरेक प्रकारका सेक्स कमजोरीको उपचारका लागि विश्व विख्यात हर्बल गोली’, ‘पावर सेक्स’, ‘सेक्स पावर’, ‘यौनवद्र्धक अइल’ आदि भन्दै गरिएका विज्ञापनको पछि लागेर आफ्नो यौन जीवन भताभुंग बनाउने नेपाली धेरै छन् ।
नेपालका पुराना सेक्सोलोजिस्ट तथा सेक्स थेरापिस्ट डा. सुबोधकुमार पोखरेलका अनुसार सेक्स समस्या लिएर उपचारका लागि आउने प्रत्येक बिरामीले बजारमा यौन क्षमता बढाउने भनेर प्रचार गरिएका कुनै न कुनै ‘प्रोडक्ट’ प्रयोग गरेकै हुन्छन् । ‘पत्रपत्रिकामा प्रकाशित विज्ञापन हेरेर फलानो ‘प्रोडक्ट’ युज गरेको तर हुँदै भएन भन्दै कपाल कनाउनेहरू थुप्रै हुन्छन्,’ डा. पोखरेलले भने, ‘यौन क्षमता ह्रासको कारण नै पत्ता नलगाई गफको भरमा दौडिने प्रवृत्तिका कारण धेरैको सेक्स लाइफ डामाडोल हुने गरेको छ ।’
विज्ञापनमा भनिएजस्तो ८० वर्षको मानिसले जवानले जस्तै सेक्स गर्न सक्दैन । ‘यो जो कोहीलाई सरासर उल्लु बनाउने तरिकामात्र हो,’ उनले भने । चालिस वर्ष नाघेको पुरुषको टेस्टोस्टेरोन हार्मोनको मात्रा कम हुन्छ । त्यसपछि उसलाई बिस्तारै सेक्समा अरुचि हुन थाल्छ । जवान व्यक्तिहरू पनि सेक्स अवधि लम्ब्याउने भन्दै औषधि तथा तेलको प्रयोग गरेको बताउँछन् । तर, कोही पनि परिणामबाट सन्तुुष्ट भएको पाइएको छैन ।
भनिन्छ– नब्बे प्रतिशत यौन समस्या मनोवैज्ञानिक हुन्छन् । भागदौडको तनावपूर्ण जीवन, चिन्ता, डिप्रेसनजस्ता मानसिक रोगका कारण पनि यौन समस्या देखा पर्छ । यसै गरी यौनप्रतिको दृष्टिकोण, यौन अन्तद्र्वन्द्व आदिले पनि यौन समस्या देखा पर्न सक्छन् । शारीरिक रोग तथा हार्मोनल समस्याका कारण पनि समस्या हुन्छ ।
कसै–कसैलाई बजारमा सर्वसुलभ पाइने औषधिले फाइदा गरेको भान परे पनि यौन दुर्बलताको वास्तविक कारण पत्ता नलगाई गरिएको उपचार खेर जाने डा. पोखरेल बताउँछन् । ‘यौन क्षमता बढाउने औषधि महिलाले ओठमा लिपस्टिक लगाएजस्तो होइन,’ उनले भने, ‘यो चिकित्सकको सल्लाह बमोजिममात्र प्रयोग गर्नुपर्छ ।’ एक अध्ययनअनुसार ४० देखि ७० वर्ष उमेरका ५० प्रतिशत पुरुष लिंग उत्तेजनासम्बन्धी समस्याले ग्रस्त छन् । तीमध्ये १० प्रतिशत पुरुषको लिंग बिलकुल उत्तेजित हुँदैन ।
चरम सन्तुुष्टिमै केन्द्रित सबै
सेक्स समस्या लिएर चिकित्सककोमा पुग्ने अधिकांशको चिन्ता सन्तुष्टि पाउन नसकेको, यौन सम्पर्कका बेला शीघ्र स्खलन हुने गरेको, लिंगमा उत्तेजना नआउने गरेको आदि हुन्छन् । माता मनकामना आरोग्य केन्द्र तथा सेक्सोलोजिस्ट डाक्टर्स क्लिनिकका डा. बद्रीप्रसाद भट्टराईका अनुसार उपचारका लागि आउने अधिकांश व्यक्ति चरम सन्तुष्टि पाउन नसकेको गुनासो गर्छन् । ‘लिंगको आकार, शीघ्र स्खलन, हस्त मैथुनको असरलगायत विषयमा जिज्ञासा राख्ने र श्रीमतीलाई सन्तुष्ट बनाउन सकिँदैन कि भनेर मनमा डर पालेर बसिरहेका धेरै युवा परामर्शका लागि आउने गरेका छन्,’ डा. भट्टराईले बताए ।
अग्र्याजम या चरम सुख या चरमोत्कर्ष भनेको सम्भोग गर्दा प्राप्त हुने तीव्र र आनन्ददायी शारीरिक सुख हो । ‘हस्तमैथुनद्वारा पनि चरमसुख प्राप्त गर्न सकिन्छ,’ डा. भट्टराईले भने, ‘हरेक व्यक्तिको अग्र्याजमको अनुभूति फरक हुन्छ । मनका थुप्रै भावना वर्णन गर्न नसकिएजस्तै अग्र्याजमलाई पनि यही हो भनेर वर्णन गर्न सकिन्न ।’
पुरुष वीर्य स्खलन हुँदा चरमोत्कर्षमा पुग्छन् । तर, महिलाको चरमसुख अलिक जटिल प्रकृतिको हुन्छ । चरमोत्कर्षमा पुग्दा मुटु जोडजोडले चल्छ अर्थात् यसको गति दु्रत हुन्छ । श्वासप्रश्वासको गति पनि द्रुत हुन्छ ।
महिलाको चरमसुख पुरुषको भन्दा पृथक र जटिल हुन्छ । योनीका मांसपेशीहरूमा खिचाव आउँदा महिलालाई चरमसुखको अनुभूति हुन्छ । तर, हरेक सेक्समा महिलाले चरमसुख प्राप्त गर्छिन् भन्ने हुँदैन । महिलाको चरमसुख उनको पुरुष साथीको यौन दक्षता र आफ्नो शारीरिक र मानसिक अवस्थामा निर्भर गर्छ । भनिन्छ, २० देखि २५ प्रतिशत महिलाले मात्रै चरमसुख प्राप्त गर्छन् । सम्भोग गर्दा महिलाको योनीका ‘क्लिटोरिस’ र ‘जी स्पट’ उत्तेजित भए भने महिलाले चरमसुख प्राप्त गर्छिन् । यौनसम्बन्धी ज्ञानको कमी र खुलेर कुरा गर्न नसक्नुले धेरै महिला चरमसुखबाट वञ्चित हुन्छन् । केहीलाई त जिन्दगीभरि अग्र्याजमको स्वादै थाहा हुँदैन ।
केले ध्वस्त पार्छ सेक्स जीवन ?
मधुमेहका रोगी, मानसिक रोगी, हाइपर टेन्सनको औषधि सेवन गरिरहेकाहरू, ‘साइकोजेनिक’, अत्यधिक मद्यपान गर्नेहरू र लागुऔषध सेवन गर्नेहरूको सेक्स लाइफ ध्वस्त हुने बताउँछन्, चिकित्सक हरिनारायण गुप्ता । ‘डिप्रेसनमा गएको व्यक्तिको सेक्स लाइफ पनि लथालिङ हुन्छ,’ डा. गुप्ताले भने ।
डिप्रेसन महिला–पुरुष दुवैमा सेक्स समस्या पैदा गर्ने एक प्रमुख कारण हो । डा. गुप्ताले भने, ‘डिप्रेसनबाट पीडित अधिकांश स्त्री–पुरुष दुवैलाई सेक्सप्रति रुचि हुँदैन ।’ डिप्रेसनले यौन इच्छामा कमी ल्याउनुको साथसाथै यौन प्रक्रियामा समेत असर गर्ने गर्छ । डिप्रेस्ड महिलामा यौन इच्छामा कमी तथा चरमोत्कर्षमा समस्या देखा पर्न सक्छ भने डिप्रेस्ड पुरुषमा यौन इच्छा तथा यौन क्षमतामा कमी आउन सक्छ । डिप्रेसनका कारण लिंगमा कडापना नआउने तथा शीघ्र पतनको समस्या पनि देखा पर्न सक्छ । यस्ता समस्याले डिप्रेसन झन् बढ्ने गर्छ । सेक्स समस्याबाट पीडित व्यक्तिले कतै आफू डिप्रेसनबाट पीडित त छैन भन्ने कुराप्रति ध्यान दिनु पर्ने सुझाव डा. गुप्ताको छ ।
पाटन अस्पताल मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्यका अनुसार डिप्रेसनमा गएकाहरूको उत्साहहीनता र ऊर्जाहीनताका कारण शारीरिक क्षमतामा पनि कमी आउ“छ र सेक्स प्रक्रियामा अवरोध देखा पर्छ । ‘सेक्स प्रक्रियामा कठिनाइ, नकारात्मक विचार तथा अनावश्यक शंका–उपशंकाका कारण पतिपत्नीको सम्बन्ध नै धरापमा पर्न सक्छ । परिवार नै भताभुंग हुन सक्छ । डिप्रेसन जटिल बन्यो भने सेक्स लाइफ मात्र होइन, सिंगो जिन्दगी बर्बाद हुनसक्छ,’ डा. शाक्यले भने ।
भ्रमले बिगार्छ यौन जीवन
नेपाली समाज यौनका मामिलामा केही उदार बन्दै गए पनि हामीसँग अझै पनि सेक्ससम्बन्धी थुप्रै भ्रम र अन्धविश्वास छन्, जसका कारण हाम्रो सेक्स लाइफ निकै बोझिलो भएको छ । हामी अधिकांश समय सेक्सकै बारेमा चिन्ता गरेर बिताइरहेका छौँ । आफ्नो यौनांगको साइज, यौन सम्पर्कको अवधि, दुब्लो–मोटो शरीर, स्तनका आकारलगायत भ्रमैभ्रमको महाजालमा हाम्रो सेक्स लाइफ अल्झिएको छ ।
नेपाली समाजमा सेक्ससम्बन्धी थुप्रै भ्रममध्ये कुमारीत्व, हस्तमैथुन, लिंगको आकार, सेक्सको अवधि, स्तनको आकार आदि छन् । समस्या लिएर चिकित्सककोमा जानेहरूले पनि यिनै कुरामा बढी जिज्ञासा राख्ने गरेका छन् । शीघ्र पतन हुन्छ भन्नेहरू पनि थुप्रै हुन्छन् ।
चिकित्सकका अनुसार को कुमारी हो, को कुमारी होइन, प्रमाणित गर्न निकै गाह्रो छ । योनीमार्गमा हुने एक प्रकारको झिल्ली, जसलाई हाइमन भनिन्छ, त्यो पहिलो पटक यौन सम्पर्क गर्दा च्यातिन्छ र रगत बग्छ भन्ने भ्रमका आधारमा कुमारीत्वको मापन गर्ने विधि अव्यावहारिक र मूर्खतापूर्ण भएको बताउँछन् चिकित्सक ।
यौन चाहना पूरा गर्न गरिने हस्तमैथुनले जो कोहीलाई पनि स्वस्थ र फूर्तिलो बनाउँछ । तर, हस्त मैथुन गर्ने अनि कमजोर भएँ, घुँडा र टाउको दुख्यो भन्दै डाक्टरकोमा धाउनेहरू पनि छन् । पछिल्लो समयमा चिकित्सकहरूले ‘धात सिन्ड्रोम’ भन्दै हस्तमैथुन गर्न हौसाइरहेका छन् । बढ्दो एचआइभी संक्रमण, यौन रोग, बलात्कार घटाउन युवाहरूलाई हस्तमैथुन गर्न प्ररित गरिएको छ । चिकित्सकका अनुसार वीर्य स्खलन हुँदा कमजोर हुन्छु भन्नु थुक्दा मुख सुक्यो भन्नुजस्तै हो ।
लिंगको आकारलाई लिएर तड्पिनेहरू कम छैनन् । पोर्न फिल्म हेर्नेहरू फिल्मको ‘क्यारेक्टर’को जत्रै लिंग भइदियोस् भन्ने कल्पना गर्छन् । लिंगको साइजले पार्टनरलाई सन्तुष्टि दिने सन्दर्भमा असर गर्छ भनी सोच्नु सर्वथा गलत हो । यौन सम्पर्कलाई आनन्ददायी बनाउन लिंगको साइजको कुनै भूमिका हुँदैन । पार्टनर, परिवेश, ‘फोरप्ले’लगायत पक्षमा ध्यान दिनसके यौन पार्टनरलाई पूर्ण सन्तुष्टि दिन सकिन्छ ।
स्तनसम्बन्धी भ्रम पनि व्याप्त छ । स्तन सानो भएकी महिला ‘श्रीमान् या पार्टनरलाई सन्तुष्ट बनाउन सक्दिनँ’ भनेर सोचिरहेकी हुन्छिन् भने पुरुष पनि स्तन नै यति सानो भएकीले के आनन्द देली भनेर सोचिरहेको हुन्छ । यी दुवै गलत सोचाइ हुन् । स्तन भनेको कस्मेटिक अंगमात्र हो । यसले महिलालाई सुन्दर देखाउन मद्दत गरे पनि सेक्समा यसको साइजले कुनै अर्थ राख्दैन । महिलालाई यौन उत्तेजनामा ल्याउन निप्पलको टुप्पो नै काफी हुन्छ । बाँकी भनेको फ्याट र दूध उत्पादन गर्ने ग्रन्थीहरूको डल्लो मात्र हो ।
सेक्स अवधि यति नै हुनुपर्छ भन्ने कुनै मापदण्ड छैन । तर, धेरै मानिस अहिले पनि शीघ्र पतन तथा ढिला पतनको विषयमा सोचेर दिन बिताइरहेका हुन्छन् । साथीहरूको बीचमा कुरा हुँदा ‘मेरो त यार कहिलेकाहीँ एक घण्टासम्म पनि जान्छ’ भन्दै गफ चुट्ने अनि पोर्न फिल्ममा देखाइएको जस्तै लामो समयसम्म यौन सम्पर्क गर्न खोज्नेहरू थुप्रै छन् । तर, अवधिलाई लिएर अनावश्यक चिन्ता गर्नु व्यर्थ छ । आफ्नो यौन पार्टनरसँग राम्रोसँग फोरप्ले गरिएको छ, उनलाई राम्रोसँग उत्तेजनामा ल्याइएको छ भने एकदेखि तीन मिनेटसम्म ‘इन्टरकोर्स’ गर्दा पर्याप्त हुन्छ । ‘तर, पार्टनर देख्नेबित्तिकै बाघले शिकार झम्टेको जस्तै गरी झम्टिने हो भने दुवैको सेक्स लाइफ बिग्रन्छ,’ डा. पोखरेलले भने ।
कसरी गर्ने व्यवस्थापन ?
चिकित्सकका अनुसार धेरैलाई नियमपूर्वक यौन सम्पर्क गर्न आउँदैन, जसका कारण सेक्ससम्बन्धी अनेकौँ समस्या देखिने गरेका छन् । सम्भोग अर्थात् पुरुष र महिलाले बराबर गर्ने भोग या आनन्द भनिए पनि नेपाली समाजमा महिलाले आफूले सम्भोगबाट चरम सुख पाए÷नपाएको भन्न हिचकिचाउँछन् । चिकित्सककोमा पनि पुरुषको तुलनामा थोरैमात्र महिला यौन असन्तुष्टिको कुरा लिएर पुग्ने गरेका छन् ।
यौन सम्पर्क भन्नेबित्तिकै धेरैले लिंगलाई योनीभित्र छिराएर वीर्यपतन गर्नु भन्ने मात्र बुझेका छन् । त्यसैले अधिकांश महिलाले यौनको पूर्ण आनन्द लिन पाएका हुँदैनन् । पुरुषले पनि यौनको वास्तविक मजा लिन सकेका हुँदैनन् । चिकित्सकका अनुसार नियमपूर्वक यौनको वास्तविक मजा लिन ‘फोरप्ले’ अनिवार्य हुन्छ । ‘फोरप्ले’ बिनाको यौन सम्पर्कले समस्या मात्र खडा गर्ने डा. समन रूपाखेतीको भनाइ छ । उनका अनुसार यौन सम्पर्क गर्नुपूर्व पर्याप्त मात्रामा ‘फोरप्ले’ गरेमा जोडीले यौनबाट पर्याप्त आनन्द र चरमोत्कर्षमा पुग्न सक्छन् । ‘पुरुषको यौन चाहना सलाईको काँटीजस्तो झर्र बलिहाल्छ र सेलाउँछ,’ डा. रूपाखेतीले भने, ‘तर, महिला चाहिँ फलामको ताप्के ताते जस्तै गरी बिस्तारै उत्तेजित हुन्छिन् ।’ महिलालाई पर्याप्त मात्रामा सन्तुष्टि दिलाउने सबैभन्दा उपयुक्त माध्यम भनेको नै ‘फोरप्ले’ हो । यसमा यौन सम्पर्क गर्नुपूर्व चुम्बन गर्ने, शरीर सुमसुम्याउने, स्तन मुसार्ने लगायत क्रियाकलाप पर्छन् ।
प्रत्येक महिला र पुरुषले आ–आफ्ना तरिकाले सम्भोग गर्दा मात्र चरम आनन्द पाउन सक्छन् । सबैलाई कुनै एउटै प्रकारको विधिले सम्भोगमा चरम आनन्द प्राप्त हुन्छ भन्न कदापि सकिन्न । कुन आसनमा सम्भोग गर्दा आनन्द आउँछ, कुन अंगमा स्पर्श गर्दा उत्तेजना बढ्छ भन्ने कुरा नसोधी थाहा हुन सक्दैन । त्यसको लागि दम्पतीबीच खुलेर यौनको बारेमा चर्चा हुन जरुरी छ ।
मानसिक तथा शारीरिक कुुन समस्याका कारण यौन जीवनमा तनाव आएको हो, त्यही अनुसार उपचार गर्ने हो भने भत्किन लागेको वा भत्सिकेको सेक्स लाइफलाई पनि सही ट्र्याकमा ल्याउन सकिन्छ । मनभित्र यौन आनन्द नपाएको कुण्ठा पालिरहने तर त्यसको कारण खोज्ने तथा समाधानको उपाय पत्ता लगाउन लागिनपर्ने हो भने सेक्स लाइफसँगै मानिसको सम्पूर्ण जीवन नै सेक्सको बारेमा सोचेर नै बित्न बेर लाग्दैन ।
सन्तुष्टिको नाममा ब्रह्मलुट
यौनसम्बन्धी सम्पूर्ण समस्याको ग्यारेन्टीका साथ उपचार गरिन्छ भनेर खोलिएका केन्द्र तथा पसलहरूबाट जोगिनुपर्ने अवस्था छ । स्वास्थ्यसँग सम्बन्धित सामग्री भए पनि कानुनको अभाव, कस्मेटिक तथा चकलेट खरिद गरेजसरी विदेशबाट आयात गरिएका यौन शक्ति बढाउने भनिएका औषधिको प्रयोग नगर्दा नै राम्रो हुने चिकित्सक बताउँछन् । राजधानीलगायत देशका विभिन्न शहरमा खुलेका यौन रोग उपचार केन्द्रहरूले शीघ्र पतन, यौन सन्तुष्टि, यौन चाहना, स्वप्नदोÈ, स्तन सानो वा ठूलो पार्नेदेखि महिलाको गुप्तांग टाइट गर्ने, पुरुषको लिंग लामो र मोटो बनाउने लगायत आकर्षक ‘नारा’ दिँदै उपभोक्तालाई ठगिरहेका छन् । शतप्रतिशत उपचारका नाममा भ्रामक विज्ञापन दिँदा समेत नियमक निकाय स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग टुलुटुलु हेरेर बसिरहेका छन् । ‘सरकारी निकायहरू एकले अर्कालाई दोष दिएर उपचारका नाममा ठगी गर्नेहरूलाई उन्मुक्ति दिइरहेका छन्,’ डा. रूपाखेतीले भने ।
नेपालमा यौनवद्र्धक औषधि आयात गर्ने तथा बिक्री गर्ने संस्था कति छन् भन्ने यकिन तथ्यांकसमेत छैन । शहरका चोक–चोक र गल्ली–गल्लीमा भेटिइने यस्ता संस्थाले विभिन्न नाम र ब्रान्डका तेल, ट्याबलेट, क्याप्सुल, जेल, स्प्रे, बिक्री गरिरहेका भेटिन्छन् । दुईतीन थरी तेल र केही उपकरण राखेर प्रमुख शहरी क्षेत्रमा महँगा फ्ल्याट भाडामा लिएर सञ्चालन भइरहेकाले पनि यसको बजारको सहजै अनुमान लगाउन सकिन्छ । मलेसिया, भारत, चीनलगायत देशबाट औषधि ल्याएर नेपाली नाम दिएर रिप्याकिङ गर्ने चलन पनि छ । जानकारका अनुसार जर्मनी, अमेरिका, जापान, थाइल्यान्ड, फ्रान्स, कोरियालगायत देशबाट आयात गरिने भने पनि अधिकांश यस्ता औषधि चीनबाट भित्र्याइन्छन् ।
औषधि ऐन अनुसार कुनै पनि ट्याब्लेट, क्याप्सुल, मलम, तेल, स्प्रेजस्ता औषधिमा पर्ने वस्तुमा उत्पादक कम्पनीको नाम, ब्याच नम्बर, मूल्य, म्याद सकिने मिति, उत्पादन मिति, सञ्चय गर्ने तरिका, प्रयोग गर्ने विधि, औषधीय तत्वको नाम र परिणाम प्रस्टसँग नेपाली वा अंग्रेजी भाषामा लेखिएको हुनुपर्छ । तर, बजारमा भेटिएका यस्ता औषधिमा माथि उल्लेख गरिएका कुनै पनि कुरा भेटिन्न । नेपाली बजारमा पनि यस्ता यौनवद्र्धक भनी बिक्री गरिएका औषधिमा उत्पादक कम्पनीको नाम, औषधिमा मिसाइएका रासायनिक पदार्थ, उत्पादन, म्याद सकिने मिति, सेवन विधिलगायत कुनै पनि जानकारी उल्लेख भएको भेटिन्न ।
कानुनतः यस्ता उत्पादनको आयात, बिक्रीवितरण, विज्ञापनदेखि यस्ता संस्थाको सञ्चालन एवं परामर्श समेत पूर्णत अवैध हो । औषधि ऐन, २०३५ अनुसार त्यस्तो अवैध कारोबारीलाई पाँच हजार रुपैयाँ र एक वर्र्षसम्म सजाय हुन सक्ने व्यवस्था रहेको छ । तर, आजसम्म यस्ता बिक्रेतालाई सम्बन्धित निकायले कारबाही गरेको एउटा पनि उदाहरण छैन । यस्ता औषधि बिक्रेतालाई तीन वर्ष कैद वा २५ हजार जरिवाना वा दुवै सजाय, भ्रामक विज्ञापन गर्नेलाई एक वर्ष कैद वा पाँच हजारसम्म जरिवाना वा दुवै सजाय हुन्छ । यस्ता औषधिले शरीरको कुनै अंग क्षीण गराए वा शक्तिहरण भएमा १० वर्ष कैद वा जरिवाना, अन्य अवस्थामा पाँच वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुनसक्छ । यस्ता औषधि वा वस्तुले शारीरिक हानि गरेमा औषधि व्यवस्था विभागमा उजुरी दिन सकिन्छ । औषधिले हानि–नोक्सानी गरेको छ भने उत्पादक कम्पनीले पीडित पक्षलाई पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म क्षतिपूर्ति दिनुपर्ने ऐनमा प्रावधान छ । तर, तथाकथित यौनवद्र्धक औषधिहरू विभागमा समेत दर्ता छैनन् । अधिकांश यस्ता औषधिमा मूल्यसम्बन्धी पुराना स्टिकर उप्काएर मनपर्दी मूल्य राखिएको हुन्छ ।