काठमाडौँ–नेपाली फिल्म क्षेत्रमा पछिल्लो दशकमा अभिनयको दमदार उपस्थिति जनाउँदै आएकी अभिनेत्री बेनिशा हमाल आज चर्चाको शिखरमा छिन्। रेडियोबाट सञ्चारकर्मीका रूपमा करिअर सुरु गरेकी चितवनकी बेनिशाले अहिले नेपाली सिनेमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन्।

चितवनको गीतानगरमा जन्मिएकी हमालको स्कूले जीवन भरतपुरमा बित्यो। कलिका एफएममा आरजेका रूपमा काम गर्दै ‘आइडियल आरजे’ प्रतियोगितामा दोस्रो रनरअप बनिन्। त्यसै अवसरले उनलाई काठमाडौंसम्म ल्यायो, जहाँ उनले टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्न थालिन्।

नेपाल टेलिभिजन, एनटिभी प्लस, च्यानल नेपाल जस्ता मिडियामा कार्यक्रम प्रस्तोता हुँदै उनको यात्रा सुरु भयो। केही समयमै उनले विज्ञापन र म्युजिक भिडियोमा अभिनय गर्न थालिन्। ‘सिन्धुलीको’ गीतबाट उनको भिडियो यात्रा सुरु भएको थियो।

वि.सं. २०६७ सालमा उनले पहिलोपटक चलचित्र ‘स्वर’ मार्फत ठूलो पर्दामा पाइला राखिन्। त्यसयता उनले दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन्। ‘मोक्स्या’, ‘महसुस’, ‘घर’, ‘ब्लाइन्ड रक्स’, ‘झ्यालकुटी’ लगायत फिल्ममा बेनिशाको अभिनयले समीक्षक र दर्शक दुवैलाई आकर्षित गर्यो।

विशेषगरी ‘ब्लाइन्ड रक्स’ चलचित्रमा दृष्टिविहीन युवतीको भूमिकाले उनले राष्ट्रिय फिल्म अवार्ड जितिन्। उक्त फिल्मले सामाजिक सन्देश मात्र हैन, उनको अभिनय क्षमतालाई पनि पूर्ण रूपमा उजागर गर्यो।

बेनिशालाई ‘सीजी कामना फिल्म अवार्ड’ मा उत्कृष्ट सहायक अभिनेत्रीको पुरस्कार (चलचित्र ‘महसुस’) प्रदान गरिएको थियो। त्यसबाहेक ‘नेफ्टा अवार्ड’ लगायतका थुप्रै सम्मानले उनको कदर गरेको छ।

बेनिशाले कान्तिपुर कलेजबाट मिडिया र अंग्रेजी विषयमा स्नातक तथा गोल्डेनगेट कलेजबाट स्नातकोत्तर अध्ययन पूरा गरेकी छन्। अध्ययनसँगै उनको अभिनय र लेखनमा रुचि पनि गहिरिएको पाइन्छ।

एक आरजेबाट फिल्म अभिनेत्री बनेकी बेनिशा हमालको यात्रा नेपाली सिनेक्षेत्रमै अनुपम उदाहरण हो। उनले देखाएको निरन्तरता, विविधता र अभिनय क्षमताले उनलाई आजको सफलताको शिखरमा पुर्याएको छ। युवापुस्ताका लागि उनी प्रेरणाको स्रोत बनेकी छन्। उनले पछिल्लो समयमा अभिनय गरेको फिल्म ‘सिटामोल’ र ‘मोहर’ प्रदर्शनको तयारीमा रहेको छ ।









