काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक तथा केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले नेपालको संविधान २०७२ पछाडि अबको यात्रा विकास, समृद्धि, सुशासन, सामाजिक न्याय, स्वाधीनता र मानव मर्यादा भएको बताएका छन्।
रास्वपाको कोशी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै सचेतक परियारले आर्थिक विकाससँगै मुलुकको समग्र समृद्धिमा सहयोग गर्न सबैलाई अपिल गरेको उनको सचिवालयले जनाएको छ ।
“के हामी फेरि रगतमै रमाइरहेका छौँ ? विकाससँगै कस्तो विकास ? समन्यायिक विकास । कस्तो समृद्धि ? समतामूलक समृद्धि । कस्तो सुशासन ? सामाजिक न्यायसहितको सुशासन । त्यस कारणले यो प्रदेशको गरिमा राख्न हाम्रा पूर्वप्रधानमन्त्रीहरूको योगदान, हाम्रा कोशी प्रदेशबाट राजकीय जीवनमा योगदान गरेका व्यक्तिहरूको योगदान, सबैलाई आत्मसात् गर्दै अबको यात्रा विकास, समृद्धि, सुशासन, सामाजिक न्याय, स्वाधीनता र मानव मर्यादा नै हो”, सचेतक परियारले भने।
मेरिटोक्रेसी, गुणव्यक्तालाई छातामा राखेर समावेशिता र कोशी प्रदेशको संरचनालाई आत्मसात् गर्नैपर्ने उल्लेख गर्दै उनले भने, “हरेक समितिमा महिलाको उपस्थिति कमजोर भयो, महिला खोज्नु भन्ने त्यो उदार छाती भएन भने हामी अगाडि बढ्न सक्दैनौँ ।”
सचेतक परियारले आज पनि पूर्वमा लाजेहाङहरू सहिद भइरहेको र त्यहाँ पहिचानको आन्दोलन भइरहेको उल्लेख गर्दै सहिष्णुतालाई नबढाउँदा विकास, समृद्धि र सुशासनको नारालाई छातामा राखेर सहिष्णुतालाई ऐना नबनाउँदा सबैभन्दा बढी समस्या कोशी प्रदेशमा हुने बताए।