अभिनयदेखि कास्टिङ निर्देशनसम्म पवित्रा आचार्यको यात्रा

राम्रो अनलाइन     ०५ साउन २०८२, सोमबार
अभिनयदेखि कास्टिङ निर्देशनसम्म पवित्रा आचार्यको यात्रा

काठमाडौं–नेपाली रजतपटमा चलचित्र ‘विजयपथ’मार्फत पाइला चालेकी अभिनेत्री पवित्रा आचार्य हाल कास्टिङ निर्देशकको भूमिकासम्म पुग्दै आफ्ना क्षमताको विस्तार गरेकी छिन्। निखिल उप्रेती, सुशील क्षेत्री र सञ्चिता लुइँटेलजस्ता स्टारकास्टहरूसँग डेब्यु गर्ने अवसर पाएकी आचार्य अभिनयसँगै अन्य विधामा पनि सक्रिय रहँदै आएकी छिन्।

चलचित्र ‘विजयपथ’पछि उनले ‘महानायक’ राजेश हमालसँग चलचित्र ‘राजनीति’मा अभिनय गरिन्। सो चलचित्रबाट गायिका कोमल वलीले पनि ठूलो पर्दामा अभिनयमा डेब्यु गरेकी थिइन् । त्यसपछि आचार्यले आर्यन सिग्देल अभिनीत ‘आवेग’मा समेत अभिनय गर्ने अवसर पाइन्।

नृत्यमा सानैदेखि रुचि राख्ने आचार्यले अभिनयसँगै आफ्नो रुचिलाई जीवित राख्दै कोरियोग्राफरको रूपमा पनि आफूलाई स्थापित गरिन्। सन् २०७० को प्रारम्भबाट उहाँले कोरियोग्राफीमा सक्रियता बढाउँदै गएकी थिइन्। कोमल वलीको तीज गीतमार्फत उहाँले कोरियोग्राफरको रूपमा डेब्यु गरेकी हुन्। त्यसयता उनले करिश्मा मानन्धर, अनुपविक्रम शाही, आँचल शर्मा, सलोन बस्नेत, अनु शाह, नीता ढुंगानालगायत चर्चित कलाकारलाई निर्देशन गरिसकेकी छिन्।

चलचित्र ‘कमाण्डर’ र ‘मेला’ मा पनि उनले नृत्य निर्देशन गरेकी छिन् । मोडलिङमा समेत आफूलाई स्थापित गरेकी उनी अहिले ‘पावला’ नामले चिनिन्छिन्। यही नामबाट उनले एक अन्तर्राष्ट्रिय स्वाद बोकेको गीतको भिडियो निर्देशन तथा कोरियोग्राफीसमेत गरेकी छिन्।

हालै निर्माणाधीन चलचित्र ‘कश्यप’ले उनलाई कास्टिङ निर्देशकका रूपमा अनुबन्ध गरेको छ । अभिनय, नृत्य निर्देशन र मोडलिङ हुँदै अब कास्टिङ निर्देशनसम्म आइपुगेकी आचार्यका लागि यो नयाँ जिम्मेवारी थप उचाइको अवसर बन्नसक्नेछ ।

कलाकार पवित्रा आचार्य हाल नेपाल चलचित्र कलाकार संघको केन्द्रीय सह–कोषाध्यक्षसमेत रहेकी छन्। सामाजिक क्षेत्रमा पनि उनी सक्रिय छिन्। काठमाडौंका वृद्धाश्रम तथा बालआश्रमहरूमा उहाँले निरन्तर सहयोग पुर्‍याउँदै आइरहेकी छिन् । ‘मिहिनेत नै सफलताको सूत्र हो’, भन्ने विश्वास राख्ने आचार्यको यो नयाँ यात्रा कता पुग्छ, त्यो भने समयले नै बताउनेछ ।

प्रतिक्रिया