काठमाडौँ–नेपाली रंगमञ्च र सिनेमा क्षेत्रमा आफ्नो पृथक् पहिचान बनाएकी अभिनेत्री उषा रजकको यात्रा सौन्दर्य प्रतियोगिता, अभिनय कौशल र सामाजिक सक्रियताले भरिएको छ। ‘सिर्जनात्मकता र प्रतिवद्धताको संगम’ का रूपमा चिनिने रजक अहिले नेपाली चलचित्र क्षेत्रको अनुभवी तथा विचारशील अभिनेत्रीका रूपमा चिरपरिचित छिन्।

उषाको जन्म १८ अक्टोबर १९८५ मा ललितपुरमा भएको हो। प्रारम्भिक शिक्षा ललितपुरकै बालविध्या माध्यमिक विद्यालयबाट सम्पन्न गरेकी उनले वाणिज्य विषयमा स्नातक तहसम्मको अध्ययन गरेकी छिन्। सानैदेखि अभिनय र मोडेलिङप्रतिको आकर्षणका कारण उनले आफ्नो करिअर सौन्दर्य प्रतियोगिताबाट सुरु गरेकी थिइन्।

विसं २०६१ मा आयोजित लक्स ब्यूटी स्टार सौन्दर्य प्रतियोगितामा उनी सनस्लिक मिस ब्यूटीफूल हेयर घोषित भइन्। त्यसपछि सन् २००६ मा दक्षिण कोरियामा भएको मिस वल्र्ड युनिभर्सिटीमा नेपालको प्रतिनिधित्व गरिन् र बेष्ट नेशनल कस्टुमको उपाधि समेत हात पारिन्।

उनको रंगमञ्च यात्रा २०६२ सालमा चितवनमा भएको राष्ट्रिय नाटक प्रतियोगिताबाट सुरु भएको हो। विजय मल्लद्वारा लिखित ‘कंकाल’ नाटकमा अभिनय गर्दै उनले ‘श्रेष्ठ अभिनेत्री’को उपाधि जितेकी थिइन्। त्यसपछि अनुप बराल नेतृत्वको एक्टर्स स्टुडियोमा अभिनय प्रशिक्षण लिएकी उनले सामाजिक विषयवस्तुमा आधारित नाटक ‘अर्को कुरुक्षेत्र’ मा उल्लेखनीय भूमिका निर्वाह गरिन्।

चलचित्रको क्षेत्रमा उनले २०६५ सालमा ‘वान डे’ नामक फिल्ममार्फत डेब्यु गरिन्, जसमा एचआईभी÷एड्सजस्ता संवेदनशील विषयवस्तु उठाइएको थियो। उक्त चलचित्रमा अभिनयका लागि उनले ‘डिजिटल फिल्म अवार्ड २०६६’ मा बेष्ट न्यूकमर एक्स्र्टसको पुरस्कार प्राप्त गरिन्। त्यसपछि ‘कुसुमे रुमाल २’, ‘इकु – द जंगल म्यान’, ‘कथा’, ‘कठपुतली’ जस्ता चलचित्रमा अभिनय गर्दै उनले आफ्नो अभिनयको दायरा फराकिलो बनाइन्।

केही वर्ष किर्गिस्तानमा संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) मा कार्यरत रहेकी उषा रजक पुनः नेपाल फर्किएपछि नाटक र फिल्म क्षेत्रमा सक्रिय भइन्। सामाजिक सरोकारमा समेत आवाज उठाउँदै आएकी उनी २०२३ मा चलचित्र ‘कागबेनी’ को कास्टिङ प्रक्रियामा आफूले भोगेको अनुभव सार्वजनिक गरेकी थिइन्। अनुप बरालको दबाबमा आफूलाई हटाएर अर्की अभिनेत्रीलाई भूमिकामा लिइएको भन्दै उनले फेसबुकमार्फत आपत्ति जनाएकी थिइन्।

रंगमञ्च, सौन्दर्य प्रतियोगिता र चलचित्र तीनवटै विधामा काम गर्दै आएकी उषा रजक सामाजिक सचेतनाका विषयमा पनि जोड दिन्छिन्। ‘रंगमञ्चले अनुशासन दिन्छ, सौन्दर्य प्रतियोगिताले आत्मविश्वास र चलचित्रले व्यापक दर्शकसामु पुग्ने अवसर दिन्छ,’ उनी भन्छिन्। आजको पुस्ताका लागि प्रेरणा बनिरहेकी उषा रजक अभिनय, व्यक्तित्व र सामाजिक चेतनाको समिश्रणको उत्कृष्ट उदाहरण हुन्।



