यस्तो छ सम्भोग र मैथुनबीचको भिन्नता

डा. सुमनराज ताम्राकार     १८ असार २०७८, शुक्रबार
यस्तो छ सम्भोग र मैथुनबीचको भिन्नता

मैथुन र सम्भोगबीच तात्त्विक भिन्नता छ। यी शब्द पर्यायवाचीजस्ता लागे पनि वंशज निरन्तरताको क्रममा सहअस्तित्वमा आएका दम्पतीले एकअर्काको गुण, अवगुणको समन्वय गरी आफ्नो पारिवारिक जीवन रसमय तरिकाले व्यतीत गर्ने तौरतरिका वा माध्यम हो– सहवास। सफल सम्भोगका लागि यौनेच्छा तथा यौन क्रियाकलापका बारेमा खुलेर एकअर्कासँग कुरा गर्ने वातावरण हुनुपर्छ। 

दुवै पार्टनरबीच हेराइबाट यौनको अपिल सुरु भई यौनजन्य वार्तालाप, संवेदनशील स्पर्श हुँदै अन्त्यमा सम्भोगमा विसर्जन हुन्छ। सम्भोगमा सही अर्थमा यौनसुख प्राप्त हुन्छ। यसमा चुम्बन, वैकल्पिक यौन कार्य (मुख मैथुन, गुदद्वार मैथुन) भए पनि सम्भोगबाट वास्तवमा दुवै जनालाई असीम यौन आनन्द प्राप्त हुन्छ।

जबकि, हतारमा अर्थात् एक जनाले हृदयदेखि नचाहेको अवस्थामा वा दुवै जना मानसिक रूपले यौन कार्यका लागि तयार नभएको अवस्थामा स्थापित यौन कार्य केवल भौतिक सुख, केवल एक जना मात्र तृप्त हुने कार्य हो– मैथुन। 

मानिसहरूमा यौन प्रक्रियाको अन्तिम गन्तव्य योनि–लिंग मिलन भए पनि सम्भोग कार्यअघि यौनालापका क्रममा आपसी छेडखानी, चिमोट्ने कार्य तथा आसन परिवर्तनले सम्भोग कार्यलाई बढावा दिन्छ। मैथुनमा प्रेम, आकर्षण नहुन पनि सक्छ, आवश्यकता नहुन पनि सक्छ। मैथुन एकपक्षीय कार्य हो। मैथुन कार्यमा स्खलन अन्तिम बिन्दु हुन्छ।

वंशज निरन्तरताका लागि मैथुन मात्र पर्याप्त भए पनि वास्तवमै जीवन प्रगाढ बनाउन सम्भोग कार्यको निकै ठूलो भूमिका हुन्छ। सम्भोगमा अर्को पक्षको सन्तुष्टिलाई पनि उत्तिकै महत्त्व दिइन्छ। साथमा गोपनीयता, गोप्य एवं सुरक्षित वातावरण हल्का मद्यपान वा अँध्यारो वातावरणको ख्याल राखिन्छ।

मैथुन कार्यमा पुरुष पार्टनरको सक्रियता बढी हुन्छ। वीर्य स्खलनसँगै पुरुष पार्टनरमा शिथिलता आउँछ भने महिला पार्टनरको सन्तुष्टि मौन हुन्छ। पूर्वीय समाजमा विवाहित नै भए पनि महिला श्रीमान्ले उत्ताउली, छिल्लिएकी भन्ला भनेर आफ्नो यौन इच्छा, आकांक्षा एवं सन्तुष्टि दबाएर बसेका हुन्छन्।

मैथुन कार्यमा भन्दा सम्भोगमा महिला पार्टनरको इच्छा पनि उचित कदर गरिने हुनाले वास्तवमै सफल सम्भोगपछि भविष्यमा पनि महिला पार्टनर यौन सम्बन्ध राख्न उत्साहित हुने हुन्छ। मानसिक समस्या उत्पन्न हुने सम्भावना हुँदैन। व्यावसायिक यौनकर्मीसँग विविध कारणले मैथुन कार्य गरिन्छ भने वैवाहिक स्थितिमा भने सम्भोग कार्यमा पनि बढ्ता जोड दिइन्छ।

यौन सम्पर्कका बेलामा यौन उत्तेजना आउने, स्खलित हुने र चरम सन्तुष्टि प्राप्त गर्ने कार्यमा महिला र पुरुषबीच भिन्नता हुन सक्छ। अतः दुवैको समझदारीमा सम्भोग गर्नुको मज्जा बेग्लै हुन्छ।

महिनावारीको मध्यतिर अर्थात् डिम्ब निष्कासन हुने समयताका महिलामा यौन सम्पर्कको अधिक इच्छा हुन्छ। यो तथ्य बुझेर यौन सम्पर्क गरेको खण्डमा महिलाले चरम सन्तुष्टि प्राप्त गर्न सक्छिन्। सम्भोगमा पुरुष महिलाले बराबर भोग र आनन्द प्राप्त गर्छन्। यसका लागि महिलालाई कुन आसन वा के गर्दा बढ्ता सन्तुष्टि प्राप्त हुन्छ सोध्नुपर्छ।

प्रायः महिलाले यौन सम्पर्कलगत्तै पुरुषबाट आत्मीयता खोजे पनि पुरुष पार्टनर चाहिँ अर्कोतिर फर्केर सुत्ने तथा महिलाले चरम सन्तुष्टि प्राप्त गरे नगरेको सोध्दैनन्। सम्भोग कार्यमा यस्तो मान्यता स्वीकार्य हुँदैन। पुरुष र महिला दुवै शारीरिक एवं भावनात्मक रूपमा एकाकार वा सानिध्य भए पनि मैथुन शब्दले शारीरिक पक्ष र सम्भोगले संवेगात्मक पक्षलाई महत्त्वदिएको हुन्छ। मैथुन शारीरिक कार्य मात्र हो। सन्तान उत्पादनका लागि मैथुन पर्याप्त भए पनि सम्भोगमा दुवै जनाले चरम सुख प्राप्त गर्छन्। 

मैथुन अर्थात् शारीरिक सम्पर्कभन्दा सम्भोग कार्यले मानसिक तथा भावनात्मक सन्तुष्टि दिलाउन, तौल घटाउन, तनाव कम गर्न, मुटुको चाल एवं रक्तचाप नियन्त्रणमा राख्न तथा निद्रा राम्ररी पार्न मद्दत गर्छ। थकान, तनाव, अनिद्राले यौन कार्यको चाहनामा कमी ल्याउन सक्छ। यस कुरालाई हेक्का राखी महिला पार्टरनको स–साना कुरालाई पनि ध्यान दिई यौन सम्बन्ध राखेमा पूर्ण यौन सन्तुष्टि प्राप्त हुन्छ। यही सम्भोग कलाको सार हो। त्यसो भएर हतारमा यौन कार्य गर्नुभन्दा आफ्नै आत्मीय पार्टनरसँग जहिल्यै पनि सम्भोग कार्यमै जोड दिनुपर्छ।
 

प्रतिक्रिया