जनताको आशा, परिवर्तनको बाटो र नेतृत्वको दृढता

गुरु केदार बराल     १५ कात्तिक २०८३, आइतबार
जनताको आशा, परिवर्तनको बाटो र नेतृत्वको दृढता

सम्माननीय प्रधानमन्त्रीज्यू,

इतिहासले सधैँ एउटा कुरा प्रमाणित गरेको छ–परिवर्तनको बाटो कहिल्यै सहज हुँदैन। जब पुरानो सोच, स्वार्थ र स्थापित विकृतिविरुद्ध नयाँ प्रयास सुरु हुन्छ, तब त्यसलाई रोक्न अनेकौँ दबाब, आलोचना र अवरोध सिर्जना हुनु स्वाभाविक हो। तर नेतृत्वको वास्तविक परीक्षा सहज परिस्थितिमा होइन, कठिन परिस्थितिमा हुन्छ।

विगतका वर्षहरूमा देशले धेरै राजनीतिक नेतृत्व र शासनशैली देख्यो। नेताहरूले नेतृत्वको वास्तविक जिम्मेवारी पूरा गर्न सकेनन्, पत्रकारिताको आवरणमा निष्पक्षताको धर्म निर्वाह हुन सकेन र राज्यका विभिन्न निकायहरू जनताको अपेक्षाअनुसार उत्तरदायी बन्न सकेनन्। परिणामस्वरूप देशमा निराशा, अविश्वास र बिचौलियाको प्रभाव बढ्दै गयो। सर्वसाधारण नागरिकले न्याय, सुशासन र अवसरका लागि समेत संघर्ष गर्नुपर्ने अवस्था सिर्जना भयो।

आज सम्माननीय प्रधानमन्त्रीज्यूबाट सुरु भएका सुधारका प्रयास र देखिएको सक्रियताले आम नागरिकमा नयाँ आशा जगाएको छ। जनताले खोजेको कुरा कुनै व्यक्तिको जयजयकार होइन, वर्षौंदेखि जरा गाडेर बसेको बेथितिको अन्त्य र राज्यप्रति भरोसाको पुनःस्थापना हो।

यस्तो अवस्थामा विभिन्न स्वार्थ समूहबाट दबाब आउन सक्छ। आलोचना हुन सक्छ, घेराबन्दी हुन सक्छ र विभिन्न बहानामा नेतृत्वलाई कमजोर बनाउने प्रयास पनि हुन सक्छन्। तर एउटा कुरा बुझ्न जरुरी छ–कुनै पनि नेतृत्वलाई कमजोर बनाउने प्रयासभन्दा जनताको सामूहिक विश्वास धेरै शक्तिशाली हुन्छ।

ग्रहदशा र समयको भाषामा पनि अहिलेको परिस्थितिलाई नेतृत्वका लागि दृढता, धैर्य र विवेकको परीक्षा मान्न सकिन्छ। कसैले चुनौती खडा गर्दैमा नेतृत्वको बाटो अवरुद्ध हुन्छ भन्ने छैन। तथापि, ग्रहभन्दा ठूलो कर्म, भाग्यभन्दा ठूलो निर्णय र व्यक्तिभन्दा ठूलो संस्था तथा विधिको शासन हो।

सम्माननीय प्रधानमन्त्रीज्यू, मेरो विनम्र आग्रह छ–कसैको दबाबमा खुट्टा नकमाउनुहोस्। हतारमा पछि नहट्नुहोस्। तर दृढताको अर्थ जिद्दी होइन र परिवर्तनको अर्थ प्रतिशोध पनि होइन। संविधान, कानुन, न्याय र नैतिकताको सीमाभित्र रहेर अघि बढ्नुहोस्। दोषीलाई उन्मुक्ति नहोस्, निर्दोष अन्यायमा नपरून्। गल्ती गर्ने आफ्ना हुन् वा पराइ, सबैलाई समान मापदण्डमा जवाफदेही बनाउनुहोस्।

दर्शनले भन्छ–सत्ता प्राप्त गर्नु ठूलो कुरा होइन, सत्तामा रहेर आफ्नो स्वार्थभन्दा माथि उठ्नु ठूलो कुरा हो। इतिहासमा धेरै शासक आए र गए, तर जनताको पीडा बुझ्ने र व्यवस्थामा सकारात्मक परिवर्तन ल्याउने नेतृत्व मात्र स्मरणीय बनेको छ।

अन्ततः, कुर्सीले नेतृत्व ठूलो बनाउँदैन, नेतृत्वको चरित्र र कर्मले कुर्सीको गरिमा बढाउँछ।

जनताको आशालाई निराशामा बदलिन नदिनुहोस्। यो अवसर व्यक्तिगत सफलता होइन, राष्ट्रको भविष्य निर्माण गर्ने जिम्मेवारी हो। दृढ रहनुहोस्, विवेकशील रहनुहोस् र जनताको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो शक्ति बनाउनुहोस्।

जनताले परिवर्तनको अपेक्षा गरेका छन्, त्यसैले परिवर्तनको बाटोमा दृढतापूर्वक अघि बढ्नुहोस्।

प्रतिक्रिया