काठमाडौं–विश्वका विभिन्न देशमा अक्टोबर ३१ का दिन मनाइने हलोविन पर्वको रौनक नेपालमा पनि देखिन थालेको छ । पछिल्लो समय नेपाली सेलिब्रेटीहरू पनि हलोविनलाई विशेष फोटो सुट, आकर्षक पहिरन तथा फरक गेटअपमार्फत मनाउन थालेका छन् । यसै क्रममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको हलोविन लुक्सले अहिले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ ।
हलोविन भन्नेबित्तिकै भूतप्रेत, डरलाग्दा आकृति तथा अनौठा पहिरनको सम्झना आउँछ । तर, अभिनेत्री साम्राज्ञीले भने यसपटक डर लाग्दो रूप रोजिनन् । उनी सेतो पहिरन, आकर्षक पखेटा अनि परी झैँ देखिने गेटअपमा प्रस्तुत भएकी छिन् । उनको यो फरक अवतारले हलोविनको परम्परागत डरलाग्दो शैलीभन्दा बिल्कुलै फरक आकर्षण थपेको छ ।
सिड मेकअपको मेकअप तथा ग्राभिज प्रोडक्सन स्टुडियोले खिचेका तस्विर तथा भिडियोमा साम्राज्ञी निकै आकर्षक देखिएकी छिन् । सेतो रङको ग्ल्यामरस पहिरन, पछाडि सजाइएको पखेटा, आँखामा हल्का नीलो लेन्स र लामो खुला कपालले उनलाई कुनै काल्पनिक कथाकी परीझैँ देखाएको छ ।
विशेषगरी उनको पहिरन र मेकअपको संयोजनले धेरैको ध्यान खिचेको छ । तस्विर तथा भिडियोमा उनले दिएका विभिन्न पोजले उनको आत्मविश्वास र ग्ल्यामरस अन्दाजलाई थप आकर्षक बनाएको छ । हलोविनमा प्रायः डर लाग्दा गेटअपले प्राथमिकता पाउने भए पनि साम्राज्ञीले सुन्दर र आकर्षक परीको अवतार रोजेर आफ्नो छुट्टै पहिचान बनाएकी छिन् ।
उनको यो लुक्स सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रशंसाका शब्दहरू पनि देखिएका छन् । कतिपयले उनलाई डिभा, ब्युटिफुल तथा वर्जियसभन्दै प्रशंसा गरेका छन् भने कतिपयले नेपालमा साम्राज्ञीजस्तो सुन्दर र आकर्षक व्यक्तित्व कमै रहेको प्रतिक्रिया दिएका छन् ।
केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको सौन्दर्य र प्रस्तुतिको खुलेर प्रशंसा गर्दै नेपाली फिल्म क्षेत्रले पनि उनको आकर्षण र प्रतिभालाई उचित रूपमा स्वीकार गर्नुपर्ने आशयका टिप्पणी गरेका छन् । त्यस्तै, उनको लुक्सलाई लिएर काइलीसँग तुलना गर्ने र साम्राज्ञीको प्रशंसामा प्रतिक्रिया दिनेहरू पनि देखिएका छन् ।
हलोविनको अवसरमा गरिएको यो फोटोसुटले साम्राज्ञीको सुन्दरतासँगै उनको फरक शैली र फेसन चेतनालाई पनि चर्चामा ल्याएको छ । भूतप्रेतको गेटअपले भरिने हलोविनमा परी बनेर प्रस्तुत भएकी साम्राज्ञीको यो अवतार अहिले उनका प्रशंसकका लागि आकर्षणको विषय बनेको छ ।