यौनसम्पर्क स्थापित गर्न लाग्दा योनिमार्गको अधिक संवेदनशीलताले गर्दा योनिमा पीडादायी संकुचन हुनसक्छ । महिलाको चाहना बेगर नै भित्री तिघ्रा तथा पुट्ठा भित्रका मांसपेशी एकाएक संकुचनमा भई यस्तो परिस्थिति सिर्जना हुनसक्छ ।
योनि संकुचन हुनाको प्राथमिक प्रकारमा कुनै रोग वा समस्या विशेष हुँदैन । यौनसम्बन्धित मनोगत समस्याले गर्दा प्रायः यौन सम्बन्ध राख्न डराउने महिलामा यस्तो समस्या उब्जिन्छ । कारणयुक्त योनि संकुचनमा योनि वरिपरि कुनै पीडादायी समस्या हुँदा योनि संकुचनको समस्या उब्जिन्छ । योनिमार्ग वरिपरिको भल्भाको सुजन, योनिद्वार ढाक्ने झिल्लीको चोट, योनिद्वारमा रहेको पीडादायी खट, साँगुरो योनिद्वार एवं मार्गका कारणले योनि संकुचित हुनसक्छ । यो अस्थायी प्रकृतिको हुन्छ र कारक तत्व को उचित उपचार गर्नेबित्तिकै समस्या समाधान हुन्छ ।
दोस्रो प्रकृतिको समस्या निदान गर्न गाह्रो नभए पनि पहिलो प्रकारको समस्या पत्ता लगाउन गाह्रो हुनसक्छ । यस्तो अवस्थामा कहिलेकाहीँ पीडित महिलालाई बेहोश बनाई जाँच्नुपर्ने हुनसक्छ । सामान्यतयाः चोर औँला र माझी औँला गरी दुइटा औँला छिराउन सकिन्छ भने योनिमार्गको आकार यथेष्ट छ भन्ने प्रमाणित हुन्छ ।
प्रथम प्रकारको योनि संकुचनको समस्याको लागि दम्पतीलाई यौन शिक्षा दिने, उनीहरूमा आत्मविश्वास जगाउने, मनोचिकित्सा सेवा दिने, औँला वा डाइलेटरको मद्दतले योनिद्वार ठूलो पार्ने कसरत सिकाउने, आवश्यकताअनुसार योनिद्वार ढाक्ने झिल्ली मिलाउने हाइमेनोप्लास्टी वा योनिमार्ग ठूलो पार्ने फेन्टोन नामको भजाइनोप्लास्टी शल्यक्रिया गर्नुपर्ने हुन्छ । योनिमार्ग चिप्लो पार्ने ल्युब्रिकेन्टयुक्त जेलले पनि सघाउ पु¥याउनसक्छ । दोस्रो प्रकारको योनि संकुचनको समस्या औषधि वा शल्यक्रियाबाट हटाउन सकिन्छ ।
व्यक्तिपिच्छे शारीरिक बनावट फरक हुने गर्छ । जस्तैः प्रत्येक व्यक्तिको लिंग तथा योनिको नाप र आकारमा भिन्नता हुनसक्छ । तन्किने एवं खुम्चिने क्षमता भएको मांसपेशीबाट बनेको योनिमार्गका भित्ता सामान्य अवस्थामा एक अर्कामा टाँसिएको हुन्छ । यौन उत्तेजनासँगै हल्का खुल्ने भए पनि यौनसम्पर्कका दौरान जतिसुकै ठूलो वा सानो आकारको पुरुष लिंग ग्रहण गर्ने क्षमता हुन्छ । योनिमार्गको यही क्षमताले सुत्केरी बेलामा पुरुष लिंगको तुलनामा निकै ठूलो गर्भे शिशु सजिलै जन्मिन्छ । सुत्केरीपछिका चारदेखि छ हप्तामा गर्भावस्थाको योनिमार्गमा आएको परिवर्तन गर्भपूर्वको अवस्थामा फर्किनसक्छ ।
योनिमार्गको तन्किने खुम्चिने क्षमताको ज्ञान नहुनु, पुरुष लिंगको आकारको गलत विश्लेषण गर्नु, यौनसम्पर्कसम्बन्धी उचित ज्ञानको अभाव हुनु, अनुभवी व्यक्तिबाट शारीरिक सम्पर्कका दौरान हुनसक्ने पीडाको बढाइचढाइले गर्दा योनि संकुचनको समस्या आउनसक्छ । त्यसै गरी कुमारीत्व, पहिलो यौनसम्पर्कको बेलाको रक्तस्राव, कसिलो योनिमार्ग, पीडादायी यौनसम्पर्कको विगतको अनुभव वा अस्वाभाविक आँकलन पनि यसका कारण हुनसक्छन् ।
यौनसम्पर्कका विभिन्न चरण छन् । मानव यौनसम्पर्कका चार चरण यौन उत्तेजना, यौनेत्तजना निरन्तरता, चरम सुख र उत्तेजनापूर्वको अवस्थामा फर्किने क्रिया गरी सफल सम्भोग । त्यसमध्ये सुरुवाती प्राकक्रीडाको आफ्नै महत्व छ । योनिभन्दा बाहिर पनि यौन संवेदनशील क्षेत्र धेरै छन् । प्राकक्रीडाका बेला यौन उत्तेजना हुँदा उत्पादन हुने पर्याप्त मात्राको योनिरसले गर्दा पुरुष लिंग प्रवेशलाई सजिलो बनाइ दिन्छ । प्राकक्रीडा एवं यौनक्रियामा विभिन्न आसन परिवर्तनले योनि संकुचन घटाउन मद्दत गर्दछ ।
यौनसम्पर्कअघि प्राकक्रीडाको क्रममा, यौनसम्पर्कका बेला पुरुष पार्टनरले सहयोग गरेको खण्डमा धेरै हदसम्म योनि संकुचनको समस्या कम हुन्छ । त्यसै गरी यौनसम्पर्क करकाप, बलजफ्तीले होइन बरु महिला पार्टनरलाई पनि यौनसम्पर्कका लागि मानसिक एवं शारीरिक रूपमा तयार पार्न सकेमा योनि संकुचनको समस्या हट्छ । आवश्यक परेमात्र शल्यक्रियाको जरुरत पर्दछ भने धेरैजसो प्रभावित महिलालाई मोडल, डमी देखाएर यौनशिक्षा दिएको खण्डमा धेरै हदसम्म समस्या निराकरण हुन्छ । प्रभावित व्यक्तिलाई यौन शिक्षा दिई एक पटक सफल तरिकाले यौनक्रिया स्थापित गराउन सके वा पटक–पटकको यौनसम्पर्कपछि तुलनात्मक रूपमा योनिमार्गमा खुकुलोपन आएपछि यौनसम्बन्ध राख्न कुनै समस्या हुँदैन । महिला पार्टनरले डरले पनि योनि संकुचनसम्बन्धी समस्या नभनिरहेको हुनसक्छ । त्यसैले तिनीहरूमा आत्मविश्वास जगाई पुरुष पार्टनरले समस्या निराकरणका लागि सहयोग गर्नुपर्छ ।
योनि सुक्खा हुनुका कारण
यौन उत्तेजनासँगै पुरुष लिंगमा चिप्लो पदार्थ उत्पादन भए जस्तै सफल सम्भोगका लागि महिलामा पनि पर्याप्त योनिरस निष्कासन हुुनुपर्छ । योनिमार्गमा स्राव उत्पादन गर्ने ग्रन्थि विशेष नै नभए पनि अत्यधिक यौन उत्तेजनाको क्रममा जननेन्द्रिया क्षेत्रमा रक्तप्रवाह बढ्न गई अत्यधिक योनिरस उत्पादन हुन थाल्छ । यौनसम्पर्कलाई सहज बनाउन उत्पादन हने योनिरस कतिपय अवस्थामा यौन उत्तेजनाको स्तर र व्यक्ति विशेषमा भरपर्छ । करकाप, डर, त्रासको वातावरण एवं मानसिक तयारीबिना यौनसम्पर्क राख्न खोज्दा योनि सुक्खा हुने समस्या आउनसक्छ । योनि सुक्खाको समस्याले गर्दा कतिपय महिला यौनसम्पर्क राख्नै डराउने हुन्छ । पुरुष पार्टनरले पनि असजिलो महसुस गर्छन् ।
हतारमा बिनाप्राकक्रीडा गरे पुरुष पार्टनरले यौनसम्पर्क राख्न खोज्दा पनि योनि सुक्खा हुने समस्या उत्पन्न हुन्छ । किनकि, यस्तो अवस्थामा पर्याप्त मात्रा लिंग एवं योनिरस उत्पादन हुन पाउँदैन । यसबाहेक तनाव, डर, चिन्ताले गर्दा पनि यौनेच्छा कम हुने हुन्छ र यौनसम्बन्ध राख्न नचाहनाले पनि योनि सुक्खा हुने समस्या देखापर्छ ।
महिलाको उमेरअनुसार हार्मोनको मात्रा तल–माथि भए जस्तै योनिरस उत्पादनमा कमी तथा योनि सुक्खाको समस्या देखापर्दछ । मासिक चक्रको दोस्रो खण्ड, गर्भावस्था, स्तनपानका बेला योनिरस कम उत्पादन हुने र योनि सुक्खा हुने गर्छ । महिनावारी भइसकेपछि यो समस्या अधिक देखापर्छ । मधुमेहको औषधि, साबुन, सुगन्धित झोलले पनि योनि सुक्खा हुने समस्या निम्त्याउनसक्छ । पटक–पटकको योनि सफाइ तथा क्यान्सरविरुद्धको केमो तथा रेडियोथेरापी पनि योनि सुक्खाको कारण बन्नसक्छन् ।