यी हुन् यौनबारे जान्नैपर्ने कुराहरू 

डा. सुमनराज ताम्राकार     २२ साउन २०७८, शुक्रबार
यी हुन् यौनबारे जान्नैपर्ने कुराहरू 

सुरुमा कुमारीत्वबारे कुरा गरौँ। जसरी औँला, नाक, कानले कुमारीत्व निर्धारण गर्दैनन्, त्यसरी नै कुमारी झिल्ली (हाइमेन) बाँकी छरछैन भन्ने कुराले मात्र कुमारीत्व निर्धारण गर्न गाह्रो हुन्छ। किनकि, कसैकसैको जन्मजात रूपमा यो झिल्ली हुँदैन भने कसैको उमेर बढेसँगै खेलकुदमा लागेका कारण पनि कुमारी झिल्ली च्यातिइसकेको हुन्छ। पहिलो पटकको यौनसम्पर्कमा कुमारी झिल्ली तन्किन गई केही थोपा रगत बग्न सक्छ। तर, ओछ्याइएको तन्नामै लाग्ने गरी रगत बग्नुपर्छ भन्ने धारणा ठीक होइन। तन्नामा लाग्ने गरी रगत बगेन भन्दैमा ‘कुमारी नै छैन’ कि भन्ने शंका गर्नु मूर्खता हो। 

कसैले यौन सम्पर्क राखेको शंका गर्न सकिँदैन। पहिलो पटक वा सयौँ पटकको यौन सम्पर्कपछि पनि त्यस्तो प्रमाण भेटाउन सकिँदैन। तर, यौन सोच वा यौन कार्यको क्रममा यौन उत्तेजनाका क्रममा शारीरिक प्रतिक्रियास्वरूप योनि वरिपरिको भाग ९भल्भा० राताम्य भई सुन्निने, पुरुष लिंग उत्तेजित भई दह्रो हुने, सास छिटो छिटो चल्ने, पसिना आउने, छाला पनि राताम्य हुने हुन्छ। यी परिवर्तन केवल क्षणिक हुन्। अस्थायी तवरमा आउने शारीरिक परिवर्तन यौन उत्तेजनाको उत्साहको प्रतिक्रिया मात्र हुन्। यौन कार्यपश्चात्को अलग्गै पहिचान वा आवरण हुँदैन। त्यसैले कुमारीत्व छरछैन, बाहिरबाट थाहा हुँदैन। 

पहिलो चोटिको यौन सम्पर्कमै पनि गर्भ रहन सम्भव छ। अतः वीर्य स्खलन योनिभित्र वा योनिद्वारवरिपरि भएमा पनि गर्भ रहन सक्ने भएकाले पार्टनर दुवैले तत्कालै गर्भ चाहेका छैनन् भने उपयुक्त साधन अपनाउनुपर्छ। कन्डमको उचित प्रयोगले गर्भ रोक्ने मात्र नभई योन सम्पर्कले सर्ने रोगबाट पनि बचाउँछ। योनि लिंगको सम्पर्कमा मात्र नभई मुख वा गुदद्वार मैथुनका क्रममा पनि यौन तथा एचआईभी सर्न सक्ने भएकाले यथोचित सावधानी अपनाउन आवश्यक छ। पुरुष पार्टनरले कन्डमको प्रयोगमा अल्छ्याइँ गर्न सक्छन्। महिला पार्टनरले कन्डम प्रयोग गर्न लगाउनुपर्छ। 

यौन कार्यका लागि वातावरण सहज भएमा चरमसुख ९अग्र्याजम० प्राप्त हुन्छ। आफ्नै शारीरिक अवस्था अनि पार्टनरको पनि सहज हुँदा यौन सन्तुष्टि बढी प्राप्त गर्न सकिन्छ। त्यसैले यौन कार्यका लागि सम्पूर्ण शरीरले आत्मसात् गरेको खण्डमा यौन क्रियाकलाप सफल हुन्छ। पहिलो पटक यौन सम्पर्कमा चरमसुख प्राप्त गर्न नसकेको महिलाले पछि–पछि पनि प्राप्त गर्न सक्दैनन् भन्ने हुँदैन। यौन सम्पर्क कति सहज वातावरणमा भयो भन्ने कुरामा निर्भर हुन्छ। एक अध्ययनअनुसार ११ देखि ४१ प्रतिशतमा चरमसुखको समस्या पाइएको छ।

कुनै एक पार्टनरले मात्र चरमसुख प्राप्त गर्नु मात्र यौन कार्यको उद्देश्य होइन। मुख्य कुरा त दुवै पार्टनरमा बराबरी आनन्द प्राप्त हुन आवश्यक छ। प्रत्येक पटकको यौन सम्पर्कमा उत्तिकै मात्रामा यौन आनन्द प्राप्त हुन्छ भन्ने छैन। मुख्य कुरा एक पार्टनरले आफू तृप्त भएजस्तै आफ्नो पार्टनर पनि सन्तुष्ट भए कि भएनन् भन्ने हेक्का राख्नुपर्छ। अतः पार्टनरबीच यौन सन्तुष्टिका विषयमा स्पष्ट रूपमा कुराकानी हुनुपर्छ। अन्यथा, यौन कुण्ठा विकसित हुन बेर लाग्दैन।

पहिलो पटकको यौन सम्पर्कका क्रममा यौन कार्य पीडामय नै हुन्छ भन्ने छैन। तर, यौन सम्पर्कको क्रममा वा लगत्तै हल्का असहज भने हुन सक्छ। योनि सुक्खा वा किशोरीमा इन्डोमेट्रिओसिसको समस्या छ भने पछि–पछिको यौन कार्य पनि पीडादायी हुन सक्छ। योनि सुक्खाको समस्याको हकमा यौन कार्य अगाडिको प्राक्क्रीडाले प्राकृतिक रूपमा योनि मार्ग चिप्लो, ओसिलो र रसिलो बनाई यौन कार्य गर्र्दा घर्षण कम गराई पीडा कम गराउन सकिन्छ। विकल्पमा चिप्लो बनाउने लुब्रिकेन्ट प्रयोग गर्न सकिन्छ। योनि मार्गमा आवश्यक चिप्लोपनको अभावमा योनिमा चोट लाग्न सक्छ। 

सुरु–सुरुको यौन सम्पर्कमा अनुभवको कमीले गर्दा हल्का डरले यौन कार्य सफल नहुन सक्छ। पटक–पटकको प्रयास वा निरन्तरताले नै पूर्णता प्राप्त हुने हो। अन्य कार्यमा जस्तै पटक–पटकको अभ्यासले नै यौन कार्य सफल बनाउन सकिन्छ। विशेषतः महिला पार्टनरले आफ्नो यौन इच्छा, चाहनालाई नदबाई आफ्नो पार्टनरलाई प्रष्ट भन्नुपर्छ। यसको ठीक विपरीत आफूलाई यौन सम्पर्क राख्ने इच्छा छैन भने भन्न सक्नुपर्छ। यस्तो अवस्थामा बुज्झकी पार्टनरले जोडबल पनि गर्नु हुन्न। पहिलो पटक मात्र नभई प्रत्येक पटक यौन कार्यलाई मैथुन नबनाई सम्भोग अर्थात् दुवैले समान भोग प्राप्त गर्ने उद्देश्य राख्नुपर्छ। 

कतिपय मानिसले यौन कार्यलाई धार्मिक आस्थासँग गाँसे पनि धेरैले भौतिक कुरा मात्र मानिरहेका हुन्छन्। विशेष गरी, आकस्मिक रूपमा राखिएको यौन सम्पर्कका कारण आत्मग्लानि महसुस हुन सक्छ। यौन सम्पर्कलाई सामान्य स्वास्थ्य क्रियाकलापका रूपमा लिनुपर्छ। यसलाई नैतिक वा आध्यात्मिक तवरले व्याख्या गर्न आवश्यक छैन। यौन सम्पर्क आपसी सहमति र सहजतामा हुनुपर्छ। दुईमध्ये एक पार्टनरले ‘नो’ भन्ना साथ त्यो स्वीकार्न सक्नुपर्छ।      

प्रतिक्रिया