यौनसम्बन्धी चाहना तथा चासो मस्तिष्क भित्रको हाइपोथालामसले निर्देशित गर्दछ । यसका साथै यौनेच्छाका लागि आवश्यक हार्मोनको उत्पादन पनि मस्तिष्कबाटै हुन्छ । यौन कार्य वा यौन सम्बन्ध हेर्दामा साधारण प्रक्रिया लागे पनि धेरै कुराको समन्वयपछि मात्र यो सम्भव हुन्छ । यौन क्रियाको तयारीमा यससम्बन्धी सोचदेखि शरीरमा नै विविध परिवर्तन देखिन्छन् । यौनचक्रमा चार वटा चरण हुन्छन्ः
यौन उत्तेजनाको चरण
यौनेत्तेजक वस्तु देख्दा, स्पर्श गर्दा, यसबारे सोच्दा मात्र पनि उत्तेजनाको चरण सुरु हुन्छ । यस चरणमा प्राक्क्रीडाको आफ्नै विशिष्ट महत्व छ । कसिलो आलिंगन, ओठ चुम्बन, स्तन स्पर्श, नितम्ब स्पर्श, भगांकुर घर्षण, यौनांग स्पर्श गर्ने तथा यौनका लागि संवेदनशील अन्य अंग चलाउँदा यौन उत्तेजना ह्वात्तै बढ्छ । यस क्रममा पुरुष लिंग उठ्न थालेर कडा हुन्छ भने महिलामा योनि आसपासका क्षेत्रबाट योनिस्रावको उत्पादन हुन थाल्छ । महिलामा पनि योनिको आकार तथा योनिमार्गमा परिवर्तन आउँछ तर पुरुषमा जस्तो देखिने गरी हुँदैन । यसका साथै महिलामा भगांकुरको आकार वृद्धि हुने तथा स्तनको मुन्टा पुरुषको लिंग जस्तै कडा हुन्छ । जुन यौनक्रिया अघिको प्राक्क्रीडामा मात्र अनुभूति हुन्छ । त्यसो त यौन उत्तेजनापछि यौनक्रिया राख्न मिल्ने वातावरण छैन भने महिला तथा पुरुष दुवै साधारण अवस्थामा फर्किन्छ ।
प्लेटो चरण
यौन उत्तेजनापछि यौनसम्पर्क राख्न सकिने भएमा महिला–पुरुष दुवै जना प्लेटो चरणमा जान्छन् । यस चरणमा यौन उत्तेजनाको मात्रा बढछ । व्यक्तिगत भिन्नताका आधारमा प्लेटो चरण लामो वा छोटो समयको हुन्छ । यस चरणमा महिला–पुरुषमा आ–आफ्नै किसिमका परिवर्तन हुन्छन् । पुरुषमा अण्डकोष तथा यस माथिको नलीको आकार बढ्ने हुन्छ । यस चरणमा पुरुष लिंगबाट हल्का चिप्लो पदार्थ निस्किन्छ जसले यौन क्रियालाई सहज बनाउँछ । महिलामा योनि तथा आसपासको क्षेत्र बढ्छ । स्तनको आकार पनि बढ्छ ।
महिला तथा पुरुष दुवैका शरीरभरि नै रक्तप्रवाह बढ्न गई मुख तथा छालाको रङ रातो हुने गर्छ । शरीरमा तातोपना बढ्छ । महिला–पुरुष दुवैको मुटुको चालका साथै श्वास प्रक्रियामा बढ्छ । कथंकदाचित् यौनक्रियाले निरन्तरता पाएन भने पुरुषको अण्डकोष तथा यस माथिको शुक्रकीटवाहिनी नलीमा हल्का पीडा महसुस हुनसक्छ । महिलाले टाउको दुख्ने एवं जीउ भारी महसुस गर्छ ।
चरम सुखको चरण
यस अघिकै यौनक्रियाको निरन्तरता हो । यौनक्रियाको चरण उच्च बिन्दुमा पुगी महिला–पुरुष दुवैले अलौकिक आनन्दको महसुस गर्छन् । यस अघिको यौन तनावबाट छुटकारा महसुस गर्छन् । यो चरण सर्वाधिक सुखको चरण भए पनि यसको सम्झना अति छोटो खालको हुन्छ । तर, यसलाई सम्झिँदै अन्य जीवजन्तुले जस्तै मानिसले पनि फेरि–फेरि यौनसम्पर्क राख्न लालायित हुन्छन् ।
यस चरण श्वास–प्रश्वास एवं मुटुको चालमा झन् तीव्रता आउनुका साथै जननेन्द्रिय आसपासका मांसपेशीमा संकुचन आउँछ । सफलतम चरम सुखमा महिलामा पाठेघर, योनिद्वार खुम्चिने–फुक्ने हुन्छ । पुरुषमा भने जननेन्द्रियका मांसपेशीमा अझ कडापन आउनुका साथै वीर्य स्खलन हुन्छ । वीर्य स्खलन र चरम सुख प्राप्ति एकै पटक हुने गरे पनि वीर्य स्खलनलाई मात्र चरम सुख मान्न सकिन्न ।
रिजोलुसनको चरण
महिला–पुरुष दुवैमा यौनक्रियाका क्रममा चरम सुख प्राप्तिपछि पूर्ववत् अवस्थामा फर्किन्छन् । दुवै जनाको जननेन्द्रिय तथा शरीरमा आएका परिवर्तन बिस्तारै सामान्य अवस्थामा फर्किन्छन् । हस्तमैथुनका बेलामा पनि कमै मात्रामा भए पनि वास्तविक यौनक्रियाका यी परिवर्तन देखिन्छन् । पुरुषहरू एक पटकको यौनक्रियाको चरम सुख प्राप्त गरेपछि तुरुन्तै यौनसम्पर्क राख्न असमर्थ हुन्छन् । किनभने, तिनीहरू पूर्णतः आरामको स्थितिमा जान्छन् । तर, कतिपय महिलामा भने यौन उत्तेजना कायम रहिरहेको खण्डमा पटक–पटक चरम सुख प्राप्त गर्न सक्दछन् ।
प्राक्क्रीडा
यौनक्रियाका क्रममा प्रत्यक्ष रूपमा महिला–पुरुष दुवैका जननेन्द्रिय सम्पर्क गर्नुभन्दा पहिले यौन उत्तेजना जगाउन गरिने विभिन्न क्रियाकलापलाई प्राक्क्रीडा भनिन्छ । महिला पार्टनरको भावना तथा तिनीहरूको तयारी अवस्था नै नबुझी विशेषतः पुरुष एकैचोटि यौनक्रियामा लिप्त हुन लालायित हुन्छन् । महिला र पुरुष चरम सुखमा पुग्ने समय फरक–फरक हुन्छ । पटक–पटक महिलाको चरम सुखलाई ध्यान दिइएन भने महिलामा मानसिक समस्या उत्पन्न हुने तथा सम्बन्ध–विच्छेदसम्मका समस्या निम्तिन बेर लाग्दैन । त्यसैले सफलतम यौनक्रिया अनि महिला–पुरुष दुवैले चरम सुखको अनुभूति लिनका लागि प्राक्क्रीडाको विशिष्ट महत्व छ ।
एकै पटक यौनक्रियामा लाग्नुअघि प्राक्क्रीडामा संलग्न भएको खण्डमा यसले यौनक्रियाका लागि आ–आफ्ना पार्टनरलाई तयारी गर्ने, एकापसमा ख्यालठट्टा गर्न पाइने, एकअर्काको भावना बुभ्mन पाइने हुनाले यौनसम्बन्ध सफल हुनुका साथै दाम्पत्य जीवन पनि प्रगाढ हुन्छ । प्राक्क्रीडाको क्रममा एकअर्काले शरीरका संवेदनशील अंगहरू चुम्बन गर्ने, स्पर्श गर्ने, चलाउने, हल्का दबाब दिने, घर्षण गर्ने गरिन्छ । यौनांग वरिपरिका क्षेत्र, ओठ, नितम्ब, स्तन, काखी, तिघ्रा, नाभी क्षेत्र, हातखुट्टाका औँला प्राक्क्रीडाका लागि निकै संवेदनशील अंग हुन् । पुरुष लिंग तथा महिलामा भगांकुर त झनै संवेदनशील यौनांग हुन् । मधुरो प्रकाश, हल्का मद्यपान, एकान्त तथा गोपनीय वातावरणले प्राक्क्रीडालाई थप उत्साह प्रदान गर्छ ।