ट्रान्सजेन्डरको यौन–अभ्यास

राम्रो अनलाइन     २६ फागुन २०७७, बुधबार
ट्रान्सजेन्डरको यौन–अभ्यास

भूमिका श्रेष्ठ, ट्रान्सजेन्डर मोडल 

समलिंगी–तेस्रोलिंगीबीच कसरी यौन सम्बन्ध हुन्छ ? धेरैलाई चासोको विषय हुन सक्छ। पुरुष र महिलाबीच मात्र शारीरिक संसर्ग हुने बुझाइ राख्नेहरूलाई पुरुष–पुरुष वा महिला–महिलाबीच पनि यौन सन्तुष्टि लिने प्रक्रिया चल्छ भन्ने सुन्दा नौलो लाग्नु स्वाभाविक पनि हो।

म तेस्रोलिंगी–समलिंगी अधिकारको आन्दोलनमा होमिएकी मान्छे। हाम्रो समुदायको यौनशैली कस्तो हुन्छ भनेर जानकारी दिनुलाई अन्यथा मान्दिनँ। किनकि, हरेक मानिसलाई यौन शिक्षाको आवश्यकता छ।  

यौन संसर्गका बेला हामी मुखमैथुन, गुदामैथुन, हस्तमैथुनजस्ता प्रक्रिया अपनाउँछौँ। समलिंगी सम्बन्धका हकमा समान यौनांग भएका साथीबीच सहवास गरिन्छ। त्यस क्रममा एक जनाले केटाको, अर्काले केटीको भूमिका निर्वाह गरिरहेका हुन्छन्। परम्परागत यौनमा लिंग योनिमा प्रवेश गराउने र स्खलित हुने चलन छ। धेरैले सहवासका क्रममा यही अभ्यास गर्छन्। तर, हामी तेस्रो लिंगी र समलिंगीको यौन साथीसँग समान अंग हुने भएकाले मुखमैथुन र गुदद्वारमैथुनकै बढी अभ्यास गर्छौं। 

समलिंगीका हकमा मुखमैथुन भन्नाले स्त्री–साथीले अर्की स्त्री–साथीको मुखमा आफ्नो स्तन, यौनांग आदि घर्षण गराउँदै यौनरस स्खलित गराउँछिन्। पुरुष–साथीले अर्को पुरुष–साथीको मुखमा आफ्नो लिंग प्रवेश गराउँदै घर्षणबाट सन्तुष्टि लिन्छन्। मुख वा हातले खेलाएर वीर्य स्खलित गराउँछन्।

तेस्रोलिंगी महिलाको हकमा धेरैजसोले गुदद्वारलाई स्त्री–यौनांग कल्पना गर्दै लिंग प्रवेश गराउँछन्। जसलाई ‘एनल सेक्स’ भनिन्छ। अहिले त कतिपय पुरुषहरू स्त्रीसित पनि एनल सेक्स गर्छन्। एनल सेक्समा स्वास्थ्यको निकै ख्याल गर्नुपर्ने हुन्छ। किनकि, हाम्रो मलद्वारका तन्तु निकै संवेदनशील हुन्छन्।  

मलद्वारमा सेक्स गर्दा या केही चिज घुसाउँदा कोषिका फाट्ने जोखिम हुन्छ। त्यसले इन्फेक्सन हुन सक्छ। मलद्वारमा दिसा रोक्न सक्ने क्षमताका कोषिका हुन्छन्। इन्फेक्सन भए तिनले काम गर्न छाडेर दिसा लागिरहने समस्या आउन सक्छ। तिघ्राको कापको त्यो भागमा धेरै ब्याक्टेरिया (कीटाणु) हुन्छन्। एनल सेक्स गर्दा पार्टनरलाई पनि संक्रमणको आशंका रहिरहन्छ। सलाइबा अर्थात् यौनरस र मलका स–साना अंशमा पनि हेपाटाइटिस ‘बी’का कीटाणु हुन सक्छन्। 

मलद्वार चाट्दा मलका कणमा रहेका हेपाटाइटिस ‘ए’ कीटाणु संक्रमणको खतरा पनि हुन सक्छ। त्यसै गरी हर्पिस सिम्पल्याक्स भाइरस चाहिँ मलद्वारमा घाउ भएमा हुन सक्छ। असुरक्षित एनल सेक्सबाट सिफलिस, एचआईभी, एचपीबी, जेनाइटल वार्ट, गोनोरिया, क्लमाइडिया, हिमोफिल्स ड्रयुस्री, सल्मोनेला, सिगेला आदि संक्रमणको जोखिम रहन्छ।

यस्ता संक्रमणबाट बच्न एनल सेक्सअघि मलद्वार सफा गर्नुपर्छ। लुब्रिकेन्ट प्रयोग गर्नुपर्छ। एनल सेक्समा पनि कन्डोम प्रयोग गर्न जरुरी छ। रगत आए या पीडा भए चिकित्सकको सल्लाह लिनुपर्छ। हाम्रा साथीहरूमा सुरक्षित एनल सेक्सको चेतना बढ्दै गएकाले समस्या कम हुँदै गएका छन्। तैपनि, जोसमा होस भने राख्नैपर्छ। 

अहिले बजारमा थरी–थरी सेक्स टोयज आएका छन्। धेरै मानिस यिनैबाट सन्तुष्टि लिन्छन्। कतिपयले एक्लै हुँदा त कतिले युगल, सामूहिक सहवासमा पनि सेक्स टोयज प्रयोग गर्छन्। हामी भावनात्मक स्पर्शमा रमाउँछौँ। अरूलाई कस्तो–कस्तो लाग्दो हो, हामीलाई यही सहवास पूर्ण र सन्तुष्टिदायक लाग्छ। हामी ध्यान र समर्पणभावले सहवासमा सहभागी हुन्छौँ। 

धेरैले सोच्छन्– समानलिंगीबीच यौन सम्बन्ध कसरी सम्भव छ ? खासमा मन मिल्ने, भावना मिल्ने दुई व्यक्तिबीचको यौन क्रियामा शरीर एकअर्कामा स्पर्श गराउँदा मात्र पनि सन्तुष्टि हुन्छ। समलिंगी यौन सम्बन्ध बढी भावनात्मक हुन्छ। आफूले रोजेको या मन मिलेको साथीबीच स्पर्श, एकअर्काका गोप्य अंगको हस्तमैथुनजस्ता क्रियाकलाप गरिन्छ।

समलिंगी महिला पुरुषप्रति आकर्षित हुँदैनन्। यस्तो स्वभाव उनीहरूमा प्राकृतिक रूपमै विकास भएको हुन्छ। तर, समाजको अबुझपनले गर्दा उनीहरूले अपराधीजसरी सामाजिक, पारिवारिक असुरक्षा महसुुस गरिरहनुपरेको छ। समलिंगी स्वभाव भएकालाई अझै पनि जबर्जस्ती पुरुषसँग विवाह गरी बालबच्चा जन्माउन बाध्य पारिन्छ। 

समलिंगी महिलाको जीवन विपरीतलिंगीको भन्दा पृथक् छ। महिला–महिलाबीच आकर्षण बढ्नु कसैलाई नौलो लाग्ला तर यो अप्राकृतिक होइन। धेरै अनुसन्धानले यो तथ्य प्रमाणित गरिसकेका छन्। मान्छेले स्वयं शारीरिक स्वभाव परिवर्तन गर्न सक्दैन। महिला समलिंगीलाई पुरुषसँग यौन–गतिविधिमा संलग्न गराए ऊ विपरीतलिंगी हुन्छे भन्ने भ्रम छ समाजमा। वास्तवमा यसो गर्दा उनीहरूलाई मर्नुपरेजत्तिकै कष्ट हुन्छ। 

हाम्रो समाजमा समलिंगी या तेस्रोलिंगी भन्नासाथ वेश्यावृत्ति, छलछाम, चोरी र विभिन्न अपराध गर्नेे मानिस सोचिन्छ जुन गलत हो। बहुमतमा रहेका विपरीतलिंगीभित्रै पनि त्यस्तो सोच–व्यवहार भएका मान्छे छैनन् र ? सबै नस्ल–समुदायमा सबै प्रकारका मानिस हुन्छन्। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमाथि मात्र दोष थोपारिनु न्यायसंगत हुन्छ र ? एक–दुई व्यक्तिको व्यवहारलाई इंगित गरेर समग्र समूह वा समुदायबारे एउटै दृष्टिकोण बनाउनु गलत हो।

यौन सम्बन्ध विपरीतलिंगी मात्र नभई भावना मिल्ने दुई व्यक्तिबीच पनि हुन्छ र हुनुपर्छ भन्ने हामीलाई लाग्छ। यौनबाहेक भावनात्मक सम्बन्ध मात्र राख्ने मान्छे पनि छन्। केटीबीचको यौन सम्बन्धले बच्चा दिन त सक्दैन तर हामी आफैँमा भने पूर्ण सन्तुष्ट हुन्छौँ। समलिंगी पुरुष वा महिला जो जे भए पनि शारीरिक रूपमा सन्तान जन्माउन सक्षम त हुन्छन्। तर, मानसिक रूपमा न महिला समलिंगी पुरुषसँग यौन सम्बन्ध राख्न रुचाउँछन्, न त पुरुष समलिंगी महिलासँग। 

समाज, परिवारले यस्तो सम्बन्धलाई अझै नस्विकारेकोमा हामी दुःखी छौँ। जन्मजात स्वभावअनुसार बाँच्न पाउनु मान्छेको नैसर्गिक अधिकार हो। जब समलिंगी, तेस्रोलिंगी विवाहलाई कानुनी मान्यता दिइन्छ तब मात्र हामीले कमाएको र पुख्र्यौली सम्पत्तिमा अधिकार स्थापित गर्न सक्छौँ, धर्मसन्तान राख्न पाउँछौँ वा कृत्रिम गर्भधारण गर्न सक्छौँ। अनि, मात्र वैधानिक परिवार निर्माण गरी सुरक्षापूर्वक जिउन सहज हुनेछ। 

प्रतिक्रिया