स्थानीय तह निर्वाचनका लागि न्यायपरिषदले पठायो ४६७ अधिकृतको नाम

राम्रो अनलाइन     १८ फागुन २०७८, बुधबार
स्थानीय तह निर्वाचनका लागि न्यायपरिषदले पठायो ४६७ अधिकृतको नाम

काठमाडौं– न्याय परिषदले स्थानीय तह निर्वाचनको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि ४ सय ६७ जनाको नाम निर्वाचन आयोगमा पठाएको छ । परिषदको सोमबारको बैठकले ९२ जना जिल्ला न्यायाधीश र न्याय सेवाका ३ सय ७५ जना उपसचिवको नाम आयोगमा पठाएको हो ।

न्याय परिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले हरेक जिल्ला अदालतका एक नम्बर न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको रुपमा सिफारिस गरिएको बताए । सिन्धुली र रामेछापका जिल्ला न्यायाधीश अरु काममा समेत व्यस्त भएकाले उनीहरुको ठाउँमा अरु नाम पठाइएको छ ।

७७ जिल्लाका एक/एक न्यायाधीश बाहेक जगेडाका लागि थप १७ गरी कुल ९२ जना न्यायाधीशको नाम पठाइएको हो । उनीहरु जिल्ला सदरमुकाम रहेको स्थानीय तहको निर्वाचन अधिकृत भई मुख्य निर्वाचन अधिकृतको भूमिका समेत निर्वाह गर्नेछन् ।

त्यसैगरी न्यायसेवाको विभिन्न समूहबाट ३ सय ७५ जना उपसचिवहरुलाई निर्वाचन अधिकृतको रुपमा सिफारिस गरिएको छ । प्रवक्ता कार्कीका अनुसार, न्यायप्रशासन समूहबाट १७९, कानून समूहबाट ४९ र सरकारी वकिल समूहबाट १ सय ४७ जनाको नाम पठाइएको हो ।

उनीहरु सबै उपसचिवस्तरका कर्मचारी हुन् । आयोगले जिल्ला न्यायाधीश र न्याय सेवाबाट करिव ३ सय कर्मचारीहरुको नाम सिफारिस हुने अनुमान गरेकोमा न्यायपरिषदले डेढ सयभन्दा बढी कर्मचारीको नाम सिफारिस गरेको हो ।

७ सय ५३ स्थानीय तहको निर्वाचनका लागि अब अपुग हुने करिब ३ सय कर्मचारी निर्वाचन आयोगले सरकारसँग माग गर्नेछ । अपुग भएका निर्वाचन अधिकृतहरु निजामती प्रशासनको उपसचिवस्तरका कर्मचारी खटाई परिपूर्ति गरिनेछ ।

प्रतिक्रिया