काठमाडौँ–एनपिएलको तेस्रो संस्करण त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार सुरु हुँदै छ । पहिलो र दोस्रो संस्करण अत्यधिक रूपमा सफल भएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) समक्ष तेस्रो एनपिएल अझ बढी उत्कृष्ट गर्ने ठुलो चुनौती तेर्सिएको छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइतबार आयोजित पत्रकार सम्मेलनमा एनपिएल तेस्रो संस्करणसम्म पुग्दा अझ विशिष्ट हुँदै छ भने । “उत्कृष्ट खेलाडीहरूको सहभागिता, डिआरएसको आगमन र एनपिएलमा बढ्दै गएको कारोबारले यो प्रतियोगिता थप विशिष्ट बन्ने छ,” उनले भने। यसै गरी यो एनपिएल रसुवा बाढीले दिएको पीडालाई भुलाउने माध्यम हुन सक्ने उनको भनाइ छ ।
क्यानका सचिव तथा प्रतियोगिता संयोजक पारस खड्काले पनि आइसिसी मान्यता भइसकेपछि करिब एक महिना हुने एनपिएललाई सफल बनाउन सबै सरोकारवालाको जिम्मेवारी अझ बढेको बताए। “हामी इतिहास रच्ने मौकामा उभिएका छौँ,” उनले भने । हुन पनि यसपालि आइसिसीको आधिकारिक मान्यता, डिआरएस प्रविधिको पहिलो पटक प्रयोग, विदेशी खेलाडीको अनुबन्धमा थप सहजताका साथै स्टार क्रिकेटरहरूको जमघट र त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्तरोन्नतिले एनपिएलको चर्चा थप चुलिएको छ ।
विगतकै आठ फ्रेन्चाइज टोली टिम च्याम्पियन लुम्बिनी लायन्स, पछिल्ला दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्स, पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्ने छन् । सबै टिमले टिम अक्सन र विश्वका सुपरस्टार क्रिकेटरहरू आबद्ध गरेर एक से एक टिम तयार पारेका छन् । यसपालि हरेक टिमसमक्ष कम्तीमा छदेखि बढीमा आठ जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । अन्तिम ११ मा सात नेपाली र चार विदेशी खेलाडी अनिवार्य समावेश गर्नुपर्ने नियम छ । यद्यपि यसपालि हरेक टिमसमक्ष अझ धेरै विदेशी खेलाडीको विकल्प उपलब्ध भएको छ ।
तेस्रो एनपिएलको सिङ्गल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर हुँदै मङ्सिर ५ गते उपाधि भिडन्त हुने छ ।
विजेतालाई एक करोड ५० लाख
क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले एनपिएल तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपियाँ पुरस्कार पाउने जानकारी दिनुभयो । यसै गरी उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपियाँ प्राप्त गर्ने छन् । यो पुरस्कार रकम गत संस्करणको भन्दा धेरै हो । गत संस्करणको विजेता लुम्बिनी लायन्सले एक करोड १० लाख रुपियाँ पाएको थियो । कोषाध्यक्ष खड्काले तेस्रो संस्करणसम्म आउँदा एनपिएलले आर्थिक रूपमा धेरै उचाइ लिइसकेको बताए। उनले यसपालि एनपिएलमा एक महिनाको अवधिमा १५० करोड रुपियाँको कोराबार हुने जानकारी गराए। कोषाध्यक्ष खड्काका अनुसार प्रायोजनबाट १८ करोड र टिकट बिक्रीबाट ७० देखि ७५ करोड रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ ।
पहिलो पटक आइसिसीको आधिकारिक मान्यता
तेस्रो एनपिएलको आइसिसीबाट प्राप्त आधिकारिक मान्यताप्राप्त प्रतियोगिता हो । यसबाट विदेशी खेलाडीहरूको अनुबन्ध लचिलो भएको छ । फलस्वरूप यसपालिको एनपिएलमा स्टार खेलाडीहरू धेरै छन् । तीमध्ये अस्ट्रेलियाका पूर्वकप्तान डेविड वार्नर, वेस्ट इन्डिजका एन्द्रे रसेल, सेरफन रुदरफर्ड, दक्षिण अफ्रिकाका फिनिसर डेभिड मिलर, बङ्गलादेशका अलराउन्डर सकिब अल हसन जस्ता खेलाडीको उपस्थितिले एनपिएलको रौनक अझ बढेको छ ।
डिआरएसको प्रयोग
यस प्रतियोगितामा नेपालमै पहिलो पटक डिसिजन रिभ्यु सिस्ट (डिआरएस) को प्रयोग हुने छ । अब थर्ड अम्पायरहरूले अनफिल्ड अम्पायरलाई निर्णय दिन कठिनाइ भएको अवस्थामा प्रविधिको सहायता लिइने छ । विशेष, एलबिडब्लु, रनआउट, स्टम्पिङ, फ्रन्टफुट नोबल, वाइडका निर्णय गर्नुका साथै छक्काको दुरी र उचाइ मापन गर्न पनि प्रविधिको प्रयोग हुने छ । प्रत्येक टोलीले एक पालिमा दुई वटा असफल ‘रिभ्यु’ लिन पाउने छन् । डिआरएसको प्रयोग हुने भएपछि क्यानले खेल तालिकामा पनि परिवर्तन गरेको छ ।
लुम्बिनी र सुदूरपश्चिमबिच उद्घाटन खेलमा सोमबार साँझ च्याम्पियन लुम्बिनी लायन्सले गत उपविजेता सुदूरपश्चिम रोयल्सको सामना गर्ने छ । गत वर्ष लुम्बिनी फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले हराएर च्याम्पियन बनेको थियो । लुम्बिनी गत संस्करणकै लय देखाएर उपाधि रक्षा अभियानको सुरुवात सकारात्मक रूपमा गर्ने योजनामा छ । सुदूरपश्चिम भने बदला लिने दाउमा हुने छ ।