१४ वर्षको कलिलो उमेरमा फिल्म ‘जेरी’बाट उदाएकी आना शर्माको परिचय केवल एक सफल हिरोइनका रूपमा मात्र सीमित छैन। उनको अभिनयमा देखिने गहिराइ, पात्रप्रतिको लगाव र आफूलाई निरन्तर परिष्कृत गरिरहन चाहने उनको स्वभावले उनलाई अब्बल अभिनेत्रीका रूपमा स्थापित गराउँदै लगेको छ । आमा रचना गुरुङ शर्मा चर्चित शो निर्देशक, कोरियोग्राफर र पेजेन्ट कोच हुन् । आमाको प्रोफेसनका कारण पनि उनले यो ग्ल्यामर दुनियाँलाई नजिकबाट नियाल्ने अवसर बच्चैदेखि पाइन्। ‘म सानैदेखि अलि नक्कली थिएँ, अरुको नक्कल गर्ने, पाहुनाहरू आउँदा उनीहरूको जस्तै हाउभाउ गर्ने मेरो बानी थियो’आना भन्छिन् ।

१४ वर्षको कलिलो उमेरमा जब उनको हातमा अनमोल केसीको अपोजिटमा रहने गरी फिल्म ‘जेरी’ को प्रस्ताव आइपुग्यो, त्यो उनका लागि एक अचम्मको मोड थियो। ‘आइ वाज सो यंग, धेरै एक्सपोजर पाएको थिएँ त्यतिबेला। पहिलो फिल्म नै हिट हुँदा मलाई त्यो उमेरमा करियरभन्दा पनि सेल्फ डेभलपमेन्टको धेरै प्रेसर थियो,’ आनाले भनिन्।

सन् २०१४ मा ‘जेरी’ बाट सुरु भएको उनको यात्राले २०१७ को ‘ग्याङ्स्टर ब्लुज’ सम्म आइपुग्दा उनलाई एउटा परिपक्व अभिनेत्री बनायो। उनले वेब सिरिज ‘द म्यान फ्रम काठमाडौं’मा नम्रताको भूमिका निभाएर डिजिटल युगमा पनि आफूलाई अब्बल सावित गरिन्।

उनको अभिनय यात्रामा ‘रमिताको पिरती’ एउटा कोसेढुङ्गा नै सावित भयो। गत वर्ष त्यो फिल्मबाट उनले उत्कृष्ट अभिनेत्रीका रुपमा नेसनल फिल्म अवार्ड र क्रिटिक्स फिल्म अवार्ड दुवै हात पार्न सफल भइन्। उनको यो सफलता केवल संयोग थिएन, बरु उनले पात्र निर्माणमा गरेको मिहिनेतको परिणाम थियो।









