सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यू,
लगानी बोर्डमा घुसको रूपमा उपहार दिन खोजिएको भनिएको भिडियो सार्वजनिक भएर भाइरल हुँदा पनि अहिलेसम्म प्रभावकारी कारबाही किन देखिँदैन? जनताले यसको जवाफ खोजिरहेका छन्। यो सामान्य विषय होइन, सुशासन र भ्रष्टाचारविरुद्धको सरकारको प्रतिबद्धतामाथि उठेको गम्भीर प्रश्न हो।
स्पष्ट शब्दमा भन्न चाहन्छु—तपाईंको पार्टीप्रति मलाई विश्वास छैन। तर नेपाली जनताले तपाईंमाथि राखेको आशा र विश्वासलाई म सम्मान गर्छु। जनताको त्यो विश्वास भाषणले होइन, निष्पक्ष काम र परिणामले प्रमाणित गर्नुपर्छ।
प्रधानमन्त्रीज्यू, एउटा कुरा गम्भीरतापूर्वक बुझ्नुहोस्–प्रधानमन्त्रीलाई बिगार्न बाहिरका विरोधी मात्र लाग्दैनन्; वरिपरि घेरिएर बस्ने स्वार्थी, चाकडीबाज र गलत काम गर्ने मानिसहरूले पनि अन्ततः प्रधानमन्त्रीको छवि र सरकारको भविष्य बिगार्न सक्छन्। त्यसैले तपाईंको वरिपरि को छ भन्नेभन्दा पनि कसले के गरिरहेको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ।
लगानी बोर्डका सीईओ र सदस्यहरू वर्तमान सरकारले नियुक्त गरेका हुन् भने उनीहरूमाथि गम्भीर प्रश्न उठ्दा सरकार जवाफदेही हुनैपर्छ। भिडियोमा देखिएको विषयको तत्काल निष्पक्ष छानबिन होस्, सत्यतथ्य सार्वजनिक गरियोस् र दोष प्रमाणित भए संलग्न जोसुकैलाई कानुनअनुसार कारबाही गरियोस्।
भ्रष्टाचार गर्ने आफ्ना हुन् कि पराइ, पुरानो सरकारका हुन् कि वर्तमान सरकारका–कानुन सबैका लागि बराबर हुनुपर्छ। हिजो अरूले भ्रष्टाचार गर्दा विरोध गर्ने अनि आज आफ्नै नियुक्तिका व्यक्तिमाथि प्रश्न उठ्दा मौन बस्ने हो भने नयाँ सरकार र पुरानो सरकारबीचको भिन्नता के रह्यो?
प्रधानमन्त्रीज्यू, तपाईंले पहिलो कदम यहीँबाट चाल्नुपर्छ। भ्रष्टाचारविरुद्धको अभियानको सुरुवात आफ्नै सरकारमाथि उठेका प्रश्नको निष्पक्ष जवाफ दिएर गर्नुहोस्। जनताले तपाईंलाई कसैको संरक्षण गर्न होइन, देशमा विधिको शासन स्थापित गर्न विश्वास गरेका हुन्।
म तपाईंको सरकारलाई अन्धसमर्थन गर्न आएको होइन। गलतलाई गलत भन्न आएको हुँ। सरकार राम्रो काम गर्छ भने समर्थन हुन्छ, गलत गर्छ भने खबरदारी हुन्छ। यही नै सचेत नागरिकको जिम्मेवारी हो।
याद राख्नुहोस्, प्रधानमन्त्रीज्यू–जनताको विश्वास कमाउन वर्षौं लाग्छ, तर वरिपरिका गलत मानिसको संरक्षणले त्यो विश्वास गुमाउन एक क्षण पनि लाग्दैन।
अब भाषण होइन, परिणाम चाहियो। आश्वासन होइन, निष्पक्ष छानबिन चाहियो। र दोषी प्रमाणित भए तत्काल कानुनी कारबाही चाहियो।
जनताको विश्वास जोगाउने हो भने भ्रष्टाचारको यो प्रकरणमा निष्पक्ष छानबिन र कारबाहीबाटै पहिलो उदाहरण प्रस्तुत गर्नुहोस् !