निर्वाचन आयोगद्वारा तीनै तहका राजनीतिक दलहरूसँग छलफल, निर्वाचन सुधारका विविध पक्षमा विचार-विमर्श

राम्रो अनलाइन     १६ असोज २०८३, शुक्रबार
निर्वाचन आयोगद्वारा तीनै तहका राजनीतिक दलहरूसँग छलफल, निर्वाचन सुधारका विविध पक्षमा विचार-विमर्श

काठमाडौँ–निर्वाचन आयोगले सरकारका तीनै तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग निर्वाचन तथा राजनीतिक दल व्यवस्थापनका विषयमा बृहत् छलफल कार्यक्रम सम्पन्न गरेको छ।

चौबिस वटा राजनीतिक दललाई आमन्त्रण गरिएको उक्त कार्यक्रममा निर्वाचन आयोगका तर्फबाट निर्वाचनका विविध पक्षहरू समेटेर प्रस्तुतीकरण गरिएको थियो। छलफलका क्रममा विशेषगरी आगामी दिनमा निर्वाचनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने विषयमा केन्द्रित रहेर कुराकानी भएको छ।

छलफलका मुख्य विषयहरू:

निर्वाचनमा बढीभन्दा बढी मतदाताको सहभागिता गराउने र बदर मतको सङ्ख्या न्यूनीकरण गर्ने।

मतदाता नामावलीको शुद्धता कायम गर्ने तथा विदेशमा रहेका र आफ्नो स्थायी ठेगानाभन्दा बाहिर (अन्तर जिल्ला) बसोबास गर्ने नेपाली नागरिकहरूका लागि मतदानको व्यवस्था मिलाउने।

निर्वाचनमा आधुनिक सूचना प्रविधिको प्रयोग, निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र निर्वाचन खर्च न्यूनीकरण गर्ने।

मतदाता शिक्षाको विस्तार तथा राजनीतिक दल सम्बन्धी ऐन बमोजिम दलहरूले गर्नुपर्ने दायित्वहरू लगायत समग्र निर्वाचन सुधार।

कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले संविधानले सबै नागरिकलाई मतदानको अधिकार दिएकाले अस्थायी बसोबासीहरूलाई पनि मताधिकार सुनिश्चित गरिनुपर्नेमा जोड दिएका थिए। साथै, निर्वाचनमा प्रविधिको प्रयोग गर्दा स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा कुनै आँच नआउने गरी विज्ञहरूको सल्लाहमा अध्ययन गरेर मात्र लागू गर्नुपर्ने सुझाव दलहरूले दिए। खर्च न्यूनीकरण, मतदाता शिक्षा र नामावली सङ्कलनमा दलहरूका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आयोग र राजनीतिक दलहरूको आपसी सहयोग तथा सहकार्यबाट नै लोकतान्त्रिक पद्धति अनुसार निर्वाचनका सबै पक्षमा समयानुकूल सुधार ल्याउन सकिने बताए । उनले दलहरूबाट प्राप्त भइरहेको उल्लेखनीय सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा रहेको विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा आयोगका माननीय निर्वाचन आयुक्तहरू डा. जानकी कुमारी तुलाधर, सगुन शम्सेर ज.ब.रा., गुरुप्रसाद वाग्ले, डा. राजीव सुब्बा तथा आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया