सेक्ससम्बन्धी हटाउनैपर्ने भ्रम

प्रा.डा. रवि शाक्य, मनोचिकित्सक     ०५ जेठ २०७८, बुधबार
सेक्ससम्बन्धी हटाउनैपर्ने भ्रम

पुरुष प्रत्येक सात सेकेन्डमा यौनबारे सोच्छ 

यो सन् १९७० को दशकमा अमेरिकामा गरिएको एक अध्ययनमा आधारित भएर गरिने कुरा हो । यो सबै ठाउँमा मान्य पनि छैन । त्यसपछि यो अनुसन्धालाई थप पुष्टि गर्ने अन्य अनुसन्धान पनि भएका छैनन् । यो अतिरञ्जना हो । यौनलाई धेरै कुराले असर गर्ने भएकाले काममा भएका बेला, महत्वपूर्ण काम फत्ते गर्नुपर्ने बेला वा सानो चिन्ता हुँदा पनि सेक्समा ध्यान जाँदैन । 

धेरै पोर्नोग्राफी हेर्नाले लत लाग्छ 

पोर्नोग्राफी हेर्दैमा लत नै लाग्छ भन्ने होइन । कसैकसैलाई प्राकृतिक सेक्समा भन्दा पोर्नोग्राफी हेरेर चरम आनन्द प्राप्त हुने समस्या हुन्छ । यो एक प्रकारको मानसिक रोग हो । 

महिलाहरू यौनमा कम रुचि दिन्छन् 

यो पनि समाज कस्तो छ ? यौनका बारेमा कति खुला छ भन्नेमा भर पर्छ । महिलामा यौनका बारेमा रुचि हुँदैन वा कम हुन्छ भन्नु मूर्खतापूर्ण कुरा हो । सामाजिक तथा सांस्कृतिक परिवेशअनुसार कुन स्तरमा चासो दिन्छन् भन्ने मात्र हो । महिलाहरू सेक्सको मामिलामा ‘स्लो स्टार्ट’ हुने मात्र हुन् । केटामा यौन चाहना छिटो सुरु हुने भएकाले उनीहरूले बढी चासो दिएको जस्तो देखिन्छ । सेक्स चाहनामा महिला भनेका भुसको आगो हुन् । बिस्तारै सल्किने र पछिसम्म रहिरहने ! त्यसैले महिलाहरू यौनका बारेमा कम रुचि राख्छन् भन्ने कुरा सही होइन । 

साना स्तन भएका स्त्रीसँग सेक्स गर्दा सन्तुष्टि हुँदैन 

स्तनको आकार र सेक्स सन्तुष्टिको कुनै सम्बन्ध हुँदैन । यो पुरुषका दृष्टिमा महिलामा रहेको महत्वपूर्ण ‘सेक्सुअल पार्ट’ त हो, तर यसको साइजले यौन सन्तुष्टिमा कुनै भूमिका खेल्दैन । पुरुषका आँखा ठोकिने र समाजले बनाएको महिला सौन्दर्यको विभिन्न मानकमध्ये स्तनको साइज पनि पर्ने भएकाले यसको आकारलाई लिएर विभिन्न धारणा बनाएको पाइन्छ । स्तन साना भएका महिला कामुक हुँदैनन् भन्ने होइन । ठूला स्तन भएका महिला बढी कामुक हुन्छन् भन्ने पनि होइन । यो पुरुषलाई आकर्षण गर्ने ‘प्वाइन्ट’ भने पक्कै हो । हृष्टपुष्ट स्तन ‘साइन अफ हेल्दिनेस’ हो । स्तनको ‘निप्पल’ संवेदनशील प्वाइन्ट हो । जसको भूमिका यौन उत्तेजनासँग जोडिए पनि बोसो र ग्ल्यान्डहरूले बनेको स्तनको डल्लो सानो र ठूलो हुनुले यौन सन्तुष्टिमा कुनै असर गर्दैन । 

मोटी महिलासँग सेक्स गर्दा यौन सन्तुष्टि पाइँदैन 

कतिपय देश र समाजमा मोटी महिला नै सुन्दर मानिन्छन् । उनीहरू नै कामुक मानिन्छन् । मेक्सिको तथा अफ्रिकी देशमा मोटी महिला नै सुन्दर मानिन्छन् । प्रायः आदिवासीहरूमा मोटी महिला नै सुन्दर र सेक्सी मानिन्छन् । पातली तथा जिरो फिगर भएकी महिला सुन्दर र उनीहरूसँग सेक्स गर्दा बढी मज्जा आउँछ भन्ने भ्रम फैलाउने पश्चिमा देशहरू हुन । ‘स्लिम इज ब्युटीफुल’ भन्ने मान्यता पश्चिमा देशहरूले स्थापित गराएका हुन् । फिल्म तथा विभिन्न सौन्दर्य प्रतियोगतामा महिलाको ‘फिगर साइज’का आधारमा जज गरिने गरिएका कारण पातली सेक्सी हुने भ्रम धेरैमा पर्न गएको छ । यो ‘जिरो फिगर’को अवधारणाले दिएको भ्रम हो । छिमेकी देश भारतमा मुम्बईमा काम गर्ने हिरोइनहरू जिरो फिगर हुनुपर्ने तर दक्षिण भारतका हिरोइन मोटी हुँदा सेक्सी मानिने गरिन्छ । यसबाट के बुझिन्छ भने यो बजार र मिडियाले बनाएको भ्रम हो । मोटो र पातलो शरीरका कारण सेक्स गर्दा कम र बढी मज्जा आउने भन्ने हुँदैन । 

ठूलो लिंगले धेरै यौन सन्तुष्टि दिन्छ 

लिंगको साइज ठूलो हुँदा धेरै यौन सन्तुष्टि हुन्छ भन्नु भ्रम हो । चरम यौन सन्तुष्टिका लागि मानसिक पक्षको भूमिका महत्वपूर्ण हुन्छ । घरमा भात खाए पनि पेट त भरिन्छ नै । तर, कहिलेकाहीँ फाइभ स्टार होटलमा भात खाँदा आज ठूलो होटलमा भात खाइयो भनेर मख्ख परे जस्तै हो, ठूलो लिंग भएकाले धेरै यौन सन्तुष्टि लिन्छन् भन्ने कुरा । 

रक्सी सेवनपछि सेक्स अवधि लामो हुन्छ 

यो एकदमै गलत धारणा हो । थोरै रक्सी सेवनले संकोच र लाज हटाउन मद्दत गरे पनि रक्सी सेवन गरेको मानिसले सेक्स गर्न सक्दैन । धेरै रक्सी सेवन गरेपछि लिंग उत्तेजित नै हुँदैन । रक्सीले सेक्स सुरुवात गर्न मद्दत गरे पनि ‘पर्फर्मेन्स’ भने बिगार्छ । महिलाले रक्सी सेवन गरेर सेक्स गर्दा उनलाई कुनै ‘फिलिङ’ नै हुँदैन । 

लागुऔषध सेवनपछिको सेक्स अविस्मरणीय हुन्छ  

हामी सन्तुष्ट हुँदा प्राप्त हुने आनन्द (प्लेजर) मा मस्तिष्कमा उत्पादन हुने अफिम जस्तै विशेष प्रकारको रसायनको महत्वपूर्ण भूमिका हुन्छ । प्लेजर अनुभव हुँदा मस्तिष्कमा अफिमजस्तै तत्व निस्कन्छ । जसले गर्दा हामीले आनन्द महसुस गर्छौं । यस्तै तत्व बाहिरबाट दिँदा आनन्द प्राप्त हुने कुरा साँचो भए पनि यसले सेक्सलाई अविस्मरणीय चाहिँ बनाउँदैन । शरीरमा पीडा महसुस हुँदा पनि मस्तिष्कमा अफिम तत्व उत्पादन हुन्छ । अफिम सेवन गरेर हलो जोत्न गए पनि आनन्द नै प्राप्त हुन्छ । भारतको पञ्जाब तथा हरियाणा राज्यमा कृषि क्षेत्रमा काम गर्ने मजदुरहरूलाई चियाको सट्टा अफिमको झोल खान दिएर काम लगाउने गरिन्छ । प्लेजरका लागि अफिमजस्ता लागुऔषधको भूमिका भए पनि लागुऔषध खाएर सेक्स गर्दा अविस्मरणीय हुन्छ भन्नु चाहिँ भ्रम मात्र हो ।  

 भायग्राले यौनशक्ति बढाउँछ  

भायग्राले यौनशक्ति बढाउँछ भन्ने ठूलो भ्रम फैलाइएको छ । यसमा भायग्रा उत्पादन गर्ने कम्पनी र भायग्राका बारेमा सामान्य तथ्य पनि नबुझी यसबारे लेख्ने तथा प्रकाशन एवं प्रसारण गर्ने सञ्चारकर्मी तथा मिडियाको पनि मुख्य भूमिका देखिन्छ । यौनशक्ति बढाउने औषधि भनेर मिडियामा प्रचारप्रसार भएपछि सर्वसाधारणमा विश्वास हुने नै भयो । यौन इच्छा नै नहुने व्यक्तिलाई भायग्रा खान दिएर मात्र उसको यौन इच्छा बढ्दैन । यौन इच्छा भएको तर लिंग पूर्ण रूपमा उत्तेजित नहुने व्यक्ति (जसलाई ब्लेड प्रेसर, सुगर, रक्तसञ्चार सम्बन्धी रोग आदि छैन भने) हरूले   विशेषज्ञ चिकित्सको निगरानीमा भायग्रा सेवन गर्न सक्छन् । यसले लिंग कडा बनाउन मद्दत गरे पनि यौन इच्छा जगाउने काम भने गर्दैन । लिगंमा हुने नसाहरूमा रक्तसञ्चार भएपछि जब नसा खुम्चिन्छ, त्यसपछि लिंग कडा हुन्छ । यसरी नसा नखुम्चने अवस्थामा भायग्रा सेवन गर्दा यसले नसामा संकुचन ल्याउने र लिंग कडा बनाउन मद्दत गर्छ । पानी बगिरहेको कुनै नरम पाइपको मुखमा च्याप्प समाएपछि जसरी पानी पछाडि फर्केर पाइप डोलो र मोटो देखिन्छ, त्यसरी नै रक्तसञ्चार भइरहेको लिंगको नसामा संकुचन हुँदा लिंग उत्तेजित हुन्छ । ब्लड प्रेसर हुनेहरूले यो कदापि सेवन गर्नु हुँदैन । भायग्रा खाएर उत्तेजित भएको लिंग कहिलेकाहीँ शिथिल नै हुँदैन । जसलाई मेडिकल भाषामा ‘पेनफुल इरेक्सन’ भनिन्छ । कतिपय युवा भायग्रा खाएर यस्तै ‘पेनफुल इरेक्सन’को समस्या लिएर अस्पतालको इमर्जेन्सीमा आइपुग्ने गरेका छन् । बेलैमा उपचार गर्न सकिएन भने यस्तो समस्याले लिंग नै काम नलाग्ने हुनसक्छ । धेरै समय लिंग उत्तेजित भइरह्यो भने अपरेसन गरेर ब्लक भएको रगत निकाल्नुपर्ने हुन्छ । त्यसैले भायग्रा खाएमा यौन चाहना बढ्छ भनेर कसैले भ्रम पालेको छ भने त्यो तुरुन्त हटाउँदा नै राम्रो हुन्छ ।  
   

  
 

प्रतिक्रिया