पाको उमेरमा यौन सम्बन्धमा देखिने जटिलताहरू

डा. सुबोधकुमार पोखरेल     ०६ फागुन २०७८, शुक्रबार
पाको उमेरमा यौन सम्बन्धमा देखिने जटिलताहरू

स्त्री र पुरुषबीच यौन सम्बन्धमा जटिलताहरू मूलतः तीन कारणबाट आउँदछन्— मानसिक, शारीरिक र मनोशारीरिक । प्रौढ अवस्था यस्तो उमेर हो जसमा तीन वटै कारणले यौन जटिलता आउन सक्छ । पुरुषभन्दा महिनावारी बन्द हुने बेलाको आसपासका महिलाको यो उमेर बढी संवेदनशील हुन्छ । 

इस्ट्रोजेन हार्मोनमा एक्कासि आउने कमीले यस उमेरमा विभिन्न मानसिक र शारीरिक परिवर्तन ल्याउँछ । मानसिक परिवर्तनमा मानसिक डिप्रेसनका लक्षण देखिनसक्छन् भने शारीरिक परिवर्तनमा महिनावारी छिटोढिलो हुने, कमबेसी हुनेजस्ता गडबडी देखापर्छन् । यसबाहेक यौन चाहना भएका बेला योनिमा निस्कने चिप्लो खालको योनिस्राव कम हुँदै गएर ठ्याप्पै बन्द हुनसक्छ । जसले गर्दा सम्भोगका बेला हुने लिंग र योनि बीचको सहज घर्षण सम्भव हुन छाड्छ र यौन सम्पर्कका बेला महिलालाई अप्ठ्यारो हुने मात्र होइन पीडा पनि हुनसक्छ । यस्तो अप्ठ्यारो वा पीडाले योनिलाई सम्भोगका बेला सजिलो पार्नुको सट्टा मांसपेशीमा संकुचन ल्याएर झन् साँगुरो बनाउनसक्छ । साँगुरो र ओबानो भएको योनिमा यौन आनन्द प्राप्त हुनुको सट्टा पीडा हुने डरले यौन चाहना नै घटेर जान्छ । अर्काेतिर मानसिक डिपे्रसनसमेत भयो भने त निश्चित रूपमा यौन चाहना घट्ने मात्र होइन, आफ्नो पुरुषसाथी वा पतिले माया चाहिँ गरोस् तर सम्भोग नगरोस् भन्ने मानसिकताको विकास हुन्छ ।

पुरुष यौनसाथीको भूमिका यस अवस्थाको व्यवस्थापनमा अत्यन्त महत्वपूर्ण हुन्छ । कतिपय पुरुष योनिबाट चिप्लो स्राव ननिस्कँदा यौन सम्पर्कका बेला हुने आनन्दमा आउने कमीका लागि स्त्रीलाई जिम्मेवार ठान्दछन् र स्त्रीले यौन क्रियाकलापमा ध्यान दिन छाडेर हेलचेक््रयाइँ गरेको वा अन्य कसैबाट यौन सन्तुष्टि लिने गरेको अत्यन्त खतरनाक भ्रमसम्म पाल्न पुग्दछन् । जसले गर्दा आपसी प्रेम भित्रबाट नमरे पनि असमझदारीको बढ्नसक्छ । यस्तो जटिलता स्वाभाविक भएको बुझेका वा पढेका समझदार पुरुषले स्त्रीलाई पनि यसको कारण बुझाएर आपूm यसबाट विचलित नभएको बरु यस अवस्थाको सामना जीवनका प्रत्येक सुखदुःखजस्तै अहिले पनि सँगै गर्न तयार रहेको आश्वासनका साथ अरू बेलाभन्दा झन् सहज रूपमा धैर्यसहित प्रस्तुत हुन्छन् ।

योनि ओभानो भएको अवस्थाका लागि शरीरलाई हानि नगर्ने विशेष किसिमका जेली बजारमा पाइन्छन् । मान्छेको थुक प्राकृतिक र सबैभन्दा भरपर्दो लुब्रिकेन्ट अर्थात् चिप्लो पदार्थ हो ।

योनिद्वारमाथि रहेको केराउको दानाजस्तो भगनास भन्ने अंगमा यस्तो चिप्लो जेली वा थुक लगाएर हलुका मर्दन गर्ने, लामो प्राक्क्रीडा गर्ने र योनिभित्र पनि जेली वा थुकको प्रयोगबाट कृत्रिम चिप्लोपन वा ढिलो भए पनि केही प्राकृतिक चिप्लोपन पैदा गर्ने । स्त्रीसँग प्रेमपूर्ण वार्तालाप खास गरी विगतका मधुरस्मृतिका प्रसंग निकाल्ने । कहिलेकाहीँ स्पष्ट कुराकानी गरी स्त्रीलाई अप्ठ्यारो वा पीडा भएको भए प्राक्क्रीडामा अझ विविधता ल्याई योनिमा लिंग प्रवेश गर्नुको साटो स्तन वा अन्य संवेदनशील अंगमा आपसी सल्लाहले हस्तमैथुनद्वारा भए पनि पुरुषले स्खलन गरेर यस्तो अवस्थाको व्यवस्थापन गर्ने । आफ्नो अप्ठ्यारालाई पुरुषले बुझेको अनुभूति गर्दा स्त्रीमा आफ्नो साथीप्रति कृतज्ञताको भाव बढ्दछ र यौन जीवन पनि सुखद रहिरहन्छ ।

उता पुरुषबाट यस्तो समझदारी र आश्वासन नपाएका महिलाको मानसिक अवस्था अर्कै हुन्छ । उनीहरू आफ्नो यौनेच्छा र यौन व्यवहारमा आएको यो हठात् परिवर्तनबाट किंकर्तव्यविमूढमात्र होइन, कुण्ठा र ग्लानिबाट ग्रस्त हुन पुग्दछन् । झन् आफ्नो पुरुषसाथीमा यौनेच्छा र उत्तेजना अपेक्षाकृत रूपमा यथावत् पाउँदा उनीहरू आफ्नो घर आफ्नो हातबाट फुत्कने हो कि भन्ने पिरबाट ग्रस्त हुन पुग्दछन् । 

प्रतिक्रिया