‘निर्वाचनमा निष्पक्ष ढङ्गले कलम चलाऔँ’

राम्रो अनलाइन     ०३ वैशाख २०७९, शनिबार
‘निर्वाचनमा निष्पक्ष ढङ्गले कलम चलाऔँ’


रुपन्देही– आसन्न निर्वाचनमा निष्पक्ष ढङ्गले कलम चलाउन सरोकारवालाले आग्रह गरेका छन् । कुनै दल वा समूहको प्रभावमा नपरी सत्य, तथ्यका आधारमा सञ्चारमाध्यममा समाचार सङ्कलन र सम्प्रेषण गर्न उनीहरूको सुझाव छ ।

निर्वाचन आयोगले शनिबार रुपन्देहीको मणिग्राममा आयोजना गरेको निर्वाचन आचारसंहिता र आमसञ्चार क्षेत्रबारेको मिडिया अभिमुखीकरण कार्यक्रममा निर्वाचन आयुक्त सगुनशम्शेर जबराले निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन सञ्चारकर्मी र सञ्चारमाध्यमले समेत आचारसंहिताको पालना गर्नुपर्ने बताए  ।

निर्वाचन आयुक्त जबराले आचारसंहिता कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने र सूचना प्रवाह गर्ने पहिलो सरोकारवालाका रूपमा सञ्चारमाध्यमलाई लिएको बताउँदै सोहीअनुसार भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे  ।

आयुक्त जबराले नागरिकले सबैभन्दा बढी विश्वास मिडियाको गर्ने भएकाले मिडियामार्फत सही र सत्य सूचना सम्प्रेषण गर्न आग्रह गरे । आयोगका कमी–कमजोरी भए त्यसलाई समेत सुधार गर्ने गरी सत्य, तथ्य समाचार बाहिर ल्याउन सुझाव दिए ।

निर्वाचन आयोगका कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले निर्वाचन आचारसंहिताप्रति सबै संवेदनशील बन्नुपर्ने बताए । उनले निर्वाचन बिथोल्न र भ्रम छर्न विभिन्न तत्वले भूमिका खेल्न सक्ने भएकाले त्यसलाई प्राथमिकता नदिन आग्रह गरे । उनले सञ्चारमाध्यमले पनि राजनीतिक दल वा उम्मेदवारबाट रकम लेनदेन गर्न नहुने बताउँदै दलका जुलुस, आमसभा, आमसभा हुने ठाउंँ, त्यसमा सहभागी, दलको खर्चलगायतको अनुगमन गरी सत्य, तथ्य बाहिर ल्याउन आग्रह गरे ।

पत्रकार एवं सूचना आयोगका पूर्वआयुक्त यशोदा तिमिल्सनाले चुनावमा राजनीतिक दलका आलोचना र घृणास्पद अभिव्यक्तिलाई सञ्चारमाध्यमले प्राथमिकता दिन नहुने बताइन् । निर्वाचनमा सञ्चारकर्मी मिथ्या सूचना र दुष्प्रचारबाट बच्नुपर्ने उनको भनाइ छ ।
 

प्रतिक्रिया