महिलामा यौनांग चिलाउने समस्या

डा. सुमनराज ताम्राकार     ०४ चैत २०७८, शुक्रबार
महिलामा यौनांग चिलाउने समस्या


स्त्री जननेन्द्रियमा दुख्नु एवं पीडा हुनु र चिलाएको अनुभूति हुनु फरक कुरा हुन् । स्त्रीरोग ओपीडीमा आउने महिलामध्ये करिब १० प्रतिशत महिला योनीद्वार वरिपरि चिलाउने समस्या लिएर आउँछन् । स्त्री यौनांगमाथिको भागलाई मेडिकल भाषामा ‘भल्भा’ भनिन्छ । 

महिलाहरूको यौनांग वरिपरि चिलाउने समस्याले पीडा हुने, छुँदा वा दबाउँदा दुख्ने एवं सुन्निने पनि हुँदैन । यस समस्याबाट पीडित महिलाले राति बढी चिलाउने शिकायत गर्छन् । रातिको समयमा एकाग्रता बढ्नु, केन्द्रीय स्नायु प्रणाली थकित हुनु एवं यौनांग वरिपरि तातोपना बढ्नुका कारण पनि राति बढ्ता चिलाउँछ ।
यौनांग वरिपरि चिलाउनाको कारण

योनीस्रावः योनीद्वारमा ट्राइकोमोनास तथा क्यान्डिडाको संक्रमणका कारणले हरियो वा सेतो पानी बग्यो भने पनि चिलाउने समस्या देखिन्छ । तर, पीपयुक्त योनीस्रावले चाहिँ भल्भामा पीडा गराउँछ । 

यौनांगको छालाको समस्याः भल्भाकै छालाको समस्या तथा सोरियासिस, सेबोरिक डर्माटाइटिस, इन्टरट्राइगोलगायत छालाजन्य समस्याले पनि भल्भामा असर पुर्‍याउँछ र यौनांग चिनाउने समस्या देखिन्छ । 

संक्रमणः फंगस  (क्यान्डिडा), भाइरस (हर्पिस, वार्ट), परजीवी (चुर्ना, लुतो) एवं यौनजन्य संक्रमण (धातुमेह, ट्राइकोमोनास) लगायत भल्भामा हुने विभिन्न खाले संक्रमण हुन् । एलर्जी तथा नाइलनयुक्त भित्री कपडा वा कतिपय साबुन एवं केमिकलले धोएको भित्री कपडाको प्रयोगले पनि यौनांग वरिपरि चिलाउने समस्या निम्त्याउन सक्छ । भल्भामै हुने कतिपय क्यान्सर र ट्युमरमा पनि चिलाउने समस्या हुन्छ ।

भल्भामा चिलाउने समस्या महिलामा मधुमेह, औषधिको एलर्जी, भिटामिन विशेषको कमीका कारण पनि हुन सक्छ । ती महिला मनोरोगबाट प्रताडित भएका पनि हुन सक्छन् ।

त्यसो त भल्भामा चिलाउने समस्या अन्य रोगको एउटा लक्षण मात्र पनि हुन सक्छ । त्यसैले चिलाउने समस्या भएकी महिलालाई विस्तृत तवरमा चिलाउन थालेको अवधि, अन्य लक्षण, परिवार नियोजनका साधनको प्रयोग, मानसिक समस्या, भित्री कपडाको बनोट सोध्नुपर्छ । शारीरिक जाँचको क्रममा तिनीहरूको पोषणको स्थिति, पंmगल वा अन्य संक्रमणको प्रमाण, चुर्ना, दाद भए नभएको चेक गर्नुपर्छ । 

सम्भावित रोगको निक्र्यौलका लागि प्रभावित क्षेत्रको छाला खुर्केर एवं रगत, पिसाब, दिसाको जाँचबाट कारक तत्व पत्ता लगाउन सकिन्छ । तर, भल्भामा मात्र अत्यधिक चिलाउने समस्या छ भने ट्राइको मोनास, क्यान्डिडा संक्रमण, भल्भाकै छालाजन्य समस्या, मधुमेह तथा भल्भाकै क्यान्सर वा ट्युमर सम्झिनुपर्दछ ।
उपचारको क्रममा व्यक्तिगत सरसफाई, भित्री कपडाको उचित छनोट, एन्टिबायोटिक वा स्टेरोइडयुक्त मलमबाहेक मधुमेह, एलर्जीको यथोचित् उपचार पनि गर्नुपर्छ । ट्युमर वा क्यान्सर लागेको शंका भएमा प्रभावित क्षेत्रबाट मासुको अंश निकाली (बायोप्सी गरी) त्यसको रिपोर्टअनुसार आवश्यक उपचार गराउनुपर्छ । 
 

प्रतिक्रिया