महिलामा किन हुन्छ यौनेच्छाको कमी ? 

डा. सुमनराज ताम्राकार     १६ साउन २०७८, शनिबार
महिलामा किन हुन्छ यौनेच्छाको कमी ? 

सामान्य भाषामा यौन सम्पर्क राख्ने वा यौन तनाव शान्त पार्ने इच्छालाई यौनेच्छा भन्न सकिन्छ । यौन साथी भन्नाले यौन सम्पर्क राखिएको व्यक्ति भन्ने बुझिन्छ । भोक, निद्रा, प्यास जस्तै यौन पनि मानव जीवनको अभिन्न आवश्यकता हो । यौनेच्छा मानसिक तथा भावनात्मक व्यग्रतासँग सम्बन्धित छ । अधिक र कम यौनेच्छा दुवै समस्या हुन् । मस्तिष्कको अगुवाइमा सञ्चालन हुने यौनेच्छाका लागि विभिन्न हर्मोनले महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । तर, मस्तिष्कलाई यौनिक रूपमा सक्रिय बनाउने काम भने कल्पना, स्पर्श, दृश्य, गन्ध, ध्वनि, स्वादलगायत इन्द्रियहरूको उपजले गर्छ ।

यौन एक जटिल प्रक्रियाको क्रियाशीलता हो । मस्तिष्क र स्नायु प्रणालीले यौन उत्तेजना तथा यौनांगको क्रियाकलापमा समन्वयकारी भूमिका निर्वाह गर्छन् । त्यसो त यौन भावना (परिकल्पना) मस्तिष्कबाट नै सुरु हुन्छ । मस्तिष्कमा यौन व्यग्रता सञ्चालन गर्ने भाग छुट्टै हुन्छ । यौन भावनालाई समयमै सही तरिकाले व्यवस्थापन गर्ने जिम्मा मस्तिष्ककै हुन्छ । कतिपय अवस्थामा यौनसम्बन्धी खराब बानी (लत) बाट बचाउन खेलकुद, व्यायाम, अन्य रुचिका विषयमा समय व्यतीत गर्ने तथा यौन साहित्य वा फिल्मबाट टाढा रहने कार्यका लागि पनि मस्तिष्कले नै नियन्त्रणकारी भूमिका निर्वाह गर्छ । 

यौनप्रधान इन्द्रियमध्ये छालाको माध्यमबाट स्पर्श र घर्षण महसुस हुन्छ । शरीरका कतिपय अंगमा वा भाग यौनका दृष्टिले निकै संवेदनशील हुन्छन् । त्यहाँ स्पर्श गर्दा यौन उत्तेजना बढ्छ । यस्ता कामोत्तेजक क्षेत्रमा यौनांगका साथै नितम्ब, गुदद्वार, स्तनको तिघ्राको भित्री भाग, काखी, नाभी, गर्दन, कान, ओठ आदि पर्छन् । त्यसो त यौन सम्पर्क पनि विशेष खाले स्पर्श नै हो । एकअर्काको यौनांगबीचको घर्षणका क्रममा स्पर्श नै भइरहेको हुन्छ ।

दृष्टिबाट यौन उत्तेजना बढ्छ । तुलनात्मक रूपमा पुरुषहरूले दृष्टिबाट बढ्ता यौनको मज्जा लिन्छन् । त्यसैले पनि लुकेर भए पनि यौन क्रियाकलाप हेरी उत्तेजित हुन्छन् । गन्धको सवालमा व्यक्ति विशेषको आफ्नै शारीरिक गन्ध हुन्छ । कतिपय अवस्थामा यसले पनि यौन आकर्षणमा सघाउँछ भने कतिपय अवस्थामा वितृष्णा जगाउने हुन्छ । यौनको वातावरण बनाउने सिलसिलामा हल्का बास्नादार पफ्र्युम, धूप वा स्प्रेले मादकता थप्दछ ।

यौन क्रियाकलापमा ध्वनिको निकै महत्वपूर्ण भूमिका हुन्छ । यौन कार्यका लागि पशुपक्षीमा त यही नै मुख्य इन्द्रिय हो । यौन कार्यको तयारी, आमन्त्रण, प्रेमालाप, भावना व्यक्त गर्नेदेखि चरम सन्तुष्टिको आवाज सबैमा ध्वनिकै महत्व हुन्छ । चुम्बनको यौनसँग प्रत्यक्ष सम्बन्ध छ भने भोजन वा व्यञ्जनको अप्रत्यक्ष सम्बन्ध छ । 

कम यौनेच्छा

यौन क्रियाकलापका लागि मानव शरीरका विभिन्न इन्द्रियहरूको सामञ्जस्यमा यौनेच्छा विकास हुन्छ । पुरुषमा जस्तै महिलामा पनि टेस्टोस्टेरोनले यौनेच्छा जगाउने भए पनि इस्ट्रोजेनले योनि एवं योनिमार्गमा सहायकसिद्ध भूमिका निर्वाह गर्छ । 

तुलनात्मक रूपमा पुरुषमा अधिक यौनेच्छा भए जस्तै महिलामा व्यक्तिपिच्छे यौन चाहना तल–माथि हुनसक्छ । स्त्री जननेन्द्रियका भित्री तथा बाह्य भागवरिपरि कुनै स्वास्थ्य समस्या (पीडा, महिनावारी गडबडी, असामान्य योनिस्राव) का कारण कुनै महिला यौन सम्पर्क राख्न हिचकिचाउन सक्छिन् । सानै उमेर वा किशोरी अवस्थामा यौन दुव्र्यवहार, यौन हिंसा वा बलात्कारबाट प्रताडित महिलामा कालान्तरमा यौनप्रति घृणा जाग्ने वा नकारात्मक सोच हुनसक्छ । त्यसै गरी, दिनभरिको थकान, कामकाज वा जिम्मेवारीका कारण विशेषतः महिलामा यौनेच्छा कम हुनसक्छ । 

पटक–पटकको चरम यौन असन्तुष्टि, श्रीमान् वा पुरुष पार्टनरको स्वार्थी प्रवृत्ति, तिनीहरूको हतारिने बानी तथा प्रतिकूल वातावरण (एकान्त ठाउँको अभाव, गोप्यताको शंका, उज्यालो आदि) का कारण पनि महिलामा यौन चाहना घट्न सक्छ । त्यसै गरी, महिनावारी, गर्भवती, सुत्केरी अवस्थामा पनि कतिपय महिला यौन सम्पर्क राख्न असजिलो मान्नसक्छन् । महिनावारीका बेला तल्लो पेट दुख्ने समस्या (डिस्मेनोरिया), पीडादायी यौनसम्पर्क (डिस्परेनुया), योनि संकुचन, सुख्खा योनि, इन्डोमेट्रिओसिस, स्त्री जननेन्द्रियको भित्री अंगको संक्रमण (पीआईडी) का बेला महिलाहरूको यौनप्रति आकर्षण घट्नसक्छ ।

त्यसै गरी, गर्भावस्थामा बढेको पेट, भारी स्तन एवं प्रसवोत्तर लगत्तैको समयमा बढेको स्तन, सामान्य रगतमिश्रित योनिस्राव, फुलेको पाठेघरले यौनसम्पर्क तथा यौनजन्य क्रियाकलापमा प्राकृतिक रूपमै यौन चाहना कम हुन्छ । महिनावारी एवं सुत्केरी अवस्थामा मानसिक चिन्ता एवं विचलनका कारण पनि यौनेच्छा कम हुनसक्छ ।

त्यसैले जिम्मेवार वा समझदार श्रीमान् वा पुरुष पार्टनरले आफ्नो श्रीमती वा साथीको इच्छा, भावना अनि शारीरिक स्थितिलाई विचार गरी यौन कार्य अगाडि बढाउनु राम्रो हुन्छ । दबाबपूर्ण तरिकाले होइन, आफ्नो महिला पार्टनरको मन जितेर यौन सम्पर्क स्थापित गर्नुपर्छ । शारीरिक सम्पर्कमा मात्र जोड वा ध्यान नदिई प्राक्क्रीडा वा यौन आनन्दका वैकल्पिक उपाय अपनाउनु बुद्धिमानी हुन्छ । पटक–पटकको यस्तो मायालु व्यवहारले महिलामा यौनप्रति सकारात्मक भावना जागृत गराउन सघाउ पुर्‍याउँछ । ।

सेक्स हर्मोन

सेक्स हर्मोनका सवालमा पुरुष हर्मोनलाई एन्ड्रोजेन भनिन्छ, जुन ९५ प्रतिशत अण्डकोषमा तथा बाँकी पाँच प्रतिशत एड्रिनल ग्रन्थिबाट उत्पादित हुन्छ । यसको मुख्य अंश टेस्टोस्टेरोनले यौनेच्छा बढाउन प्रभावकारी भूमिका खेल्छ । महिलामा इस्ट्रोजेन मुख्य हर्मोन हो । यसले योनिद्वारको छालामा लचकता ल्याउनुका साथै योनिमार्ग रसिलो बनाई यौन सहायक भूमिका निर्वाह गर्छ । तर, महिलामा पनि टेस्टोस्टेरोन यौनेच्छा र यौन व्यग्रताका लागि महत्वपूर्ण हुन्छ । 

प्रतिक्रिया