यौन समागमको समयमा चरमोत्कर्षमा पुगेर पनि कुनै पुरुष वीर्य स्खलन गर्न असमर्थ भएको अवस्थालाई स्खलनहीनता भनिन्छ । स्खलनहीनता दुई किसिमका हुन्छन्–
परिस्थितिजन्यः कुनै बेला, कहिलेकाहीँ विशेष अवस्थामा मात्र हुने ।
पूर्णः प्रत्येक पटक स्खलनहीन अवस्थामै चरमोत्कर्षकमा पुग्ने ।
स्खलनहीनताका कारक तत्व
वीर्यवाहिनी नली र पौरुष ग्रन्थि वा दुवैबाट वीर्य निष्कासन नभएको कारण स्खलनहीनताको स्थिति उत्पन्न हुन्छ । यसका लागि जिम्मेवार सम्भावित कारणमा ढाडको नसामा चोटपटक, नितम्बभित्र रहेको प्रजनन प्रणालीमा संक्रमण, लामो र गम्भीर मधुमेहको अवस्थालगायत रोग प्रमुख हुन् । यसबाहेक तनाव, चिन्ता, यौन जोडीहरू बीचको सम्बन्ध आदि मनोवैज्ञानिक कारणले पनि स्खलनहीनता हुनसक्छ । यस्तो स्खलनहीनता धेरैजसो परिस्थितिजन्य स्खलनहीनताको कारक तत्वका रूपमा रहने गरेको छ ।
निराकरण
मनोवैज्ञानिक कारणले हुने स्खलनहीनताको निराकरण गर्न जोडीले संवाद गरी सम्बन्ध बिगार्ने कारण पत्ता लगाई समस्या समाधानतिर लाग्नुपर्छ । त्यसका लागि यौन चिकित्सक वा मनोवैज्ञानिकसँग सल्लाह गर्न सकिन्छ । संक्रमणको कारणले हुने स्खलन संक्रामक कीटाणु, विषाणु वा परजीवी पत्ता लगाई प्रतिजैविक, विषाणु नाशक औषधिको प्रयोगद्वारा गर्न सकिन्छ ।
स्नायु वा नसासम्बन्धी कारणले हुने स्खलनहीनताको उपचार जटिल हुन्छ । स्नायु चिकित्सक वा स्नायु शल्य चिकित्सकको सहयोगबाट समस्या समाधान गर्न सकिन्छ ।
स्खलनहीन पुरुष बुबा बन्न सक्छन् कि सक्दैनन् ? भन्ने जिज्ञासा धेरैलाई हुन्छ । सामान्य अवस्थामा स्खलनहीन पुरुष बुबा बन्न नसक्ने भए तापनि यी उपाय अपनाए उनीहरू बुबा बन्ने सम्भावना बढ्छः
लिंगमा भाइब्रेटरको प्रयोग
स्खलनहीनताबाट पीडित ६० प्रतिशत पुरुषमा यो उपाय प्रभावकारी भएको पाइएको छ । भाइब्रेटर नामक यौन उपकरणको प्रयोगले ढाडमा रहेका सुषुम्ना नाडीको चेतनाका नसाको सम्वेदनालाई तिखो पारेर स्खलन गराई वीर्य निष्कासन सम्भव हुनसक्छ । यथासमय श्रीमतीमा कृत्रिम गर्भाधान गराई स्खलनहीन पुरुष बुबा बन्न सक्छन् । तर सुषुम्ना नाडीमा लागेको चोटका कारण चेतनाका नसा नै सुकेको अवस्थामा भने यो उपाय सफल नहुनसक्छ ।
विद्युतीय स्खलन
यो प्रक्रियामा पुरुषलाई सामान्यतया बेहोश बनाउनुपर्छ । त्यसपछि पौरुषग्रन्थि निकटका चेतनाका स्नायुहरूलाई संवेदनशील बनाउन मलद्वारमा विद्युतीय तरंग प्रवाहित गरिन्छ । मलद्वारमा यस्तो तरंग पहिले थोरैबाट सुरु गरेर बढाउँदै लगेमा एउटा बिन्दुमा पुगेपछि पुरुष स्खलित हुन्छ र त्यसरी स्खलित पुरुषको वीर्यमा रहेका शुक्रकीटबाट कृत्रिम गर्भाधान गर्न सकिन्छ ।