साइबर अपराधका अनेक खाले घटना बेला–बेलामा प्रकाशमा आइरहेका हुन्छन् । कतिपय घटना त निकै अविश्वासिला पनि हुन्छन् । साइबर अपराधका जेजति घटना समाचारमा आएका छन्, तीमध्ये बढीजसो यौन अपराधसँग जोडिएका छन् ।
तुलनात्मक रूपमा पुरुषमा साइबर सेक्सको लत बढी हुन्छ । नेपाली समाजमा पहुँच र स्वतन्त्रताको दृष्टिले पनि यसो भएको हुन सक्छ । अहिलेको पुस्तालाई कम्प्युटर, ग्याजेट, इन्टरनेटबारे राम्रो जानकारी छ । यी माध्यमबाट गरिने यौनिक गतिविधिलाई साइबर सेक्सका रूपमा लिने गरिन्छ । कुनै जमानामा पत्रपत्रिका, फिल्मबाट मानिस लुकीछिपी यौन आनन्द लिन्थे । समय फेरिएको छ, आजकल इन्टरनेटमार्फत जो कोहीको यौनजन्य सामग्रीमा सहज पहुँच छ । बन्द समाज तथा परम्परागत मूल्य–मान्यताका पक्षधर राष्ट्रमा यस्ता सामग्रीलाई गैरकानुनी मानिन्छ । कडा सजायको व्यवस्था पनि गरिएको छ । तर, विडम्बना जहाँ बढी कडा गर्न खोजिएको छ, त्यहीँ नै यस्ता यौन सामग्रीको अधिक माग तथा गोप्य तवरले उपभोग गर्ने प्रवृत्ति देखिएको छ ।
साइबर सेक्सलाई हस्तमैथुनसँग दाँज्न सकिन्छ । कहाँसम्म सामान्य, कहाँदेखि खराब लत छुट्याउनै मुश्किल छ । हस्तमैथुनजस्तै साइबर सेक्स पनि यौन आनन्द प्राप्त गर्ने एक वैकल्पिक उपाय हो भन्ने कुरामा दुई मत छैन । साइबर सेक्सका माध्यमबाट व्यक्ति विशेष एक्लैले भरपूर यौन आनन्द लिन सक्छ । विश्वव्यापी यौन हिंसा, बलात्कारका घटना वृद्धि हुनुमा साइबर सेक्स अर्थात् इन्टरनेटमा उपलब्ध भएका यौन सामग्रीलाई दोष दिनेहरूको कमी छैन ।
अन्य प्रयोजनका लागि इन्टरनेट प्रयोग गर्ने क्रममा यौन सामग्री उपलब्ध हुने साइट, पोर्टलबारे जानकारी छ भने रमाइलोको लागि यी सामग्री हेरेर कतिपयले यौन आनन्द लिने गर्छन् । तर, रमाइलोका लागि सुरु गरिएको काम पछि लत बन्न पुग्छ । तसर्थ, कानुनी रूपमै बन्देज गरिएको कुरालाई निरन्तरता दिने÷नदिने व्यक्ति विशेषमा भर पर्छ । एक्लो वातावरण, एकान्त ठाउँमा कम्प्युटर तथा ग्याजेटको उपलब्धता, अभिभावक तथा अग्रजको निगरानीको कमी, आईटीबारे जानकार, पोर्न साइट वा पोर्टलको जानकार, यस्ता सामग्रीमा आफ्नै इच्छा र साथीभाइको सल्लाह नै साइबर सेक्सका आधारभूत कारक तत्व हुन् ।
निश्चय पनि साइबर सेक्स सीमित परिधिसम्म एकातिर यौन मनोरञ्जनको राम्रो एवं स्वस्थ विकल्प हो भने यसै कारण आफ्नो यौन चाहनालाई आफ्नो वशमा राख्न नसकिने खण्डमा यौन अपराध गर्न बेर लाग्दैन । साइबर सेक्सको खराब बानी लाग्यो भने विभिन्न शारीरिक समस्या देखापर्नुका साथै व्यक्तिगत कार्य क्षमतामा पनि व्यापक ह्रास आउँछ । साइबर सेक्सको लतले यौन जीवन नै अस्तव्यस्त हुन सक्छ । यसले गर्दा मानसिक समस्या निम्तिन सक्छ ।
साइबर सेक्सको निरन्तर उपयोगले एचआईभी, एड्सलगायत यौनरोग लाग्नबाट बचाए पनि अनिँदो हुने, आँखा दुख्ने, ढाड दुख्ने, टाउको दुख्ने, अण्डकोष दुख्ने, आलस्य हुने, खाना खान मन नलाग्नेजस्ता लक्षण देखिन सक्छन् । साइबर सेक्सको लतबाट बच्न आवश्यक कार्यको लागि मात्र इन्टरनेट प्रयोग गर्नुपर्छ । इन्टरनेटमा यौन सामग्री हेर्ने सोच आउनासाथ तथा वातावरण बन्नासाथ साथीभाइ र परिवारजनको सामीप्यमा गई कुराकानी, हँसीमजाक गर्ने वा आफूलाई मन पर्ने खेलकुदमा समयमा समय व्यतीत गर्नतर्फ लाग्नुपर्छ ।
घरमा छोराछोरीले एक्लै इन्टरनेट चलाउन चाहने, कोही आउनासाथ अनुहार तथा मुड एक्कासि परिवर्तन गर्ने गर्छन् कि, अभिभावकले याद गर्नुपर्छ । छोराछोरीका साथीसंगीसँग अप्रत्यक्ष जानकारी लिनुपर्छ । कोही आवश्यकताभन्दा बढी समय कम्प्युटरमा व्यतीत गर्छ भने वास्तविकता बुझ्नुपर्छ । साइबर सेक्सको खराब बानी छ भने आफ्नो मन मिलेको व्यक्तिसँग छलफल गर्नुपर्छ । आवश्यक परेको खण्डमा मनोचिकित्सकसँग परामर्श लिनुपर्छ । साइबर अपराध र साइबर सेक्स एकापसमा जोडिएको हुँदा रोग लाग्नुभन्दा रोकथाम गर्नु बुद्धिमानी भनेजस्तै साइबर सेक्सलाई अनुशासित बनाउन सकेको खण्डमा साइबर अपराध पनि स्वतः घटेर जानेछ ।