आज कसैलाई पक्राउ गरिन्छ, निलम्बन गरिन्छ वा अनुसन्धानको घेरामा पारिन्छ। त्यतिबेला उसको घरमा पनि परिवार हुन्छ, आफ्ना मान्छे हुन्छन्, नाता–गोता हुन्छन्। दुःखमा रुवाबासी हुन्छ, चिन्ता हुन्छ।
त्यस्तो अवस्थामा आफ्ना मान्छेले भेट्न खोज्नु, अवस्थाबारे बुझ्न चाहनु र मानवीय रूपमा साथ दिन खोज्नु स्वाभाविक कुरा हो।तर हाम्रो समाजमा कहिलेकाहीँ कसलाई भेटियो, कहाँ भेटियो र कसको नजिक देखियो भन्ने आधारमै मानिसको चरित्र र अपराधको फैसला गर्न खोजिन्छ। यो प्रवृत्ति खतरनाक छ।
कुनै व्यक्ति दोषी हो कि निर्दोष हो भन्ने कुरा अनुसन्धान, प्रमाण र अदालतको प्रक्रियाले निर्धारण गर्ने हो; भेटघाटको तस्वीर वा सम्बन्धको अनुमानले होइन।
पूर्वप्रधानन्यायाधीश होस् वा प्रहरी अधिकृत, नेता होस् वा सामान्य नागरिक–कानुन सबैका लागि एउटै हुनुपर्छ। कसैसँग भेट्दैमा अपराधी भइँदैन, र कसैसँग नजिक देखिँदैमा दोष प्रमाणित हुँदैन।अझ गम्भीर प्रश्न त के हो भने–कानुनको शासनका नाममा हामीले मानवीय संवेदनालाई नै अपराध ठान्न थालेका त छैनौँ ?
आफ्नो मान्छे दुःखमा पर्दा भेट्न जानु, परिवारले आफ्नो मान्छेको अवस्था बुझ्न खोज्नु र मानवीय सम्बन्ध कायम राख्नु समाजको स्वाभाविक पक्ष हो। त्यसलाई प्रमाण लुकाउने, अपराधमा संलग्न हुने वा अनुसन्धान प्रभावित पार्ने कार्यसँग एउटै तराजुमा राख्नु हुँदैन।हो, यदि कसैले प्रमाण नष्ट गर्छ, अनुसन्धान प्रभावित गर्छ, गैरकानुनी लेनदेन गर्छ वा अपराधमा प्रत्यक्ष संलग्न हुन्छ भने कानुनअनुसार कारबाही हुनुपर्छ।
तर केवल भेटघाट वा सम्बन्धका आधारमा दोषी ठहर गर्ने मानसिकता स्वीकार्य हुन सक्दैन।हामीले व्यक्ति हेरेर होइन, प्रमाण हेरेर न्याय गर्ने संस्कार विकास गर्नुपर्छ।आज अरूको घरमा परेको समस्या भोलि आफ्नै घरमा पनि पर्न सक्छ।त्यसैले मेरो आग्रह एउटै छ—कानुन कठोर होस्, तर विवेकहीन नहोस्।
अनुसन्धान निष्पक्ष होस्, तर मानवीय संवेदना नमराओस्। र न्याय सबैका लागि एउटै मापदण्डमा आधारित होस्।