जिज्ञासा : आर, वीरगञ्ज
तपाईंले पोर्नोग्राफी हेर्नुभएकाले होला, यस्तो जिज्ञासा राख्नुभएको। तर, नीलो फिल्ममा देखाएजस्तै यो त्यति सहज मैथुन होइन। पक्षीहरूमा बाहेक जनावरमै पनि खासै गुदद्वार मैथुन गरिएको देखिँदैन।
यद्यपि, यौन सम्पर्कको एउटा वैकल्पिक तरिकामध्ये गुदद्वार मैथुन पनि हो। यसमा पार्टनरको गुदामा लिंग छिराई यौन आनन्द लिइन्छ। यौन क्रियाकलापअंकित कतिपय मन्दिरका टुँडालमा गुदद्वार मैथुन झल्किने चित्र पनि छन्। यसरी प्राचीनकालमै गुदा मैथुन नौलो विषय होइन भन्ने कुरा प्रष्ट हुन्छ।
यो यौन आनन्द लिने एक तरिका भए पनि पूर्वीय समाजमा गुदद्वार मैथुनलाई प्राकृतिक यौन प्रक्रियाका रूपमा लिइँदैन। मानिसहरूको सदासर्वदा नौलो तथा नयाँ कुराको परीक्षण एवं उपभोग गर्ने चाहना र उत्सुकता हुने कारणले पनि गुदद्वार मैथुनको प्रचलन भएको हुन सक्छ।
एक अध्ययनअनुसार करिब १० प्रतिशत वैवाहिक जोडीले गुदद्वार मैथुन गर्छन्। पाठेघरको मुख, योनिमार्ग एवं बार्थोलिन ग्रन्थिबाट यौन उत्तेजनासँगै चिप्लो योनिरसको उत्पादन हुने हुनाले योनि–लिंग मैथुनमा यौन क्रिया सहज एवं आनन्दमयी हुन्छ।
योनिद्वारको दाँजोमा गुदद्वार बढ्ता कसिलो हुने हुनाले पुरुष पार्टनरले मन पराए पनि अत्यधिक पीडाका कारण यस्ता खाले मैथुन विशेषतः महिला पार्टनरले मन पराउँदैनन्। तर, पुरुष समलिंगीबीच गुदद्वार मैथुन प्रचलित रहेको देखिन्छ। एचआईभी÷एड्स संक्रमणको प्रादुर्भावअगावै गुदद्वार मैथुनप्रति आशक्ति देखिन्छ।
योनिमार्गको दाँजोमा गुदद्वार अनि गुदाशयको भित्ता कमलो एवं पातलो हुने भएकाले सजिलै घाउ हुने, रक्तस्राव हुने सम्भावना बढी हुन्छ। यस्तो परिस्थितिमा संक्रमित वीर्य वा रगतबाट एचआईभीलगायत यौनजन्य संक्रमण सजिलै सर्छ। त्यसैले यौनरोग तथा एचआईभी÷एड्स सर्ने सम्भावना गुदद्वार मैथुनमा अझ बढी छ।
गुदद्वारमा संकुचन हुने बाक्लो खाले दुइटा मांसपेशी हुने भएकाले गुदद्वार मैथुनका पारखीले प्राक्क्रीडामा जस्तै पूर्णतः तनावरहित वातावरणमा मात्र गुदद्वार मैथुन गर्न सकिन्छ। गुदद्वार तथा गुदाशयमा दिसाको उपस्थितिसँगै यसमा विभिन्न हानिकारक कीटाणु हुने कुरालाई बेवास्ता गर्न मिल्दैन।
लिंग–योनि सम्पर्कमा जस्तै गुदद्वार मैथुनमा पनि कन्डम प्रयोग गर्नु बुद्धिमानी हुन्छ। यस क्रममा गुदा र गुदाशयलाई चिप्लो बनाई मैथुन सहज बनाउन कन्डमलाई असर नपुर्याउने खालको लुब्रिकेन्ट (चिप्लो पार्ने पदार्थ) प्रयोग गर्नुपर्छ।
विपरित लिंगी पुरुष पार्टनर (श्रीमान्) वा पुरुष समलिंगीबीच पुरुष भूमिका लिनेले गुदद्वार मैथुन गर्न चाहन्छन्। यस कार्यको जोखिम, तयारी तथा सम्भावित समस्याको व्यवस्थापन उचित तवरले गर्न राम्रो सहकार्य हुनु जरुरी छ। करकाप, डर, धम्की, वैवाहिक बलात्कारको क्रममा गुदद्वार मैथुनको खराब लत नै छ भने सम्बन्धित चिकित्सक एवं परामर्शदाताको सल्लाह लिनुपर्छ।
आवश्यकता परेको खण्डमा कानुनी उपचार खोज्नतर्फ पनि लाग्नुपर्छ। गुदद्वार मैथुनका कारण कुनै स्वास्थ्य समस्या उत्पन्न भएमा वा शंका लाग्नेबित्तिकै स्वास्थ्य जाँचमा विलम्ब गर्नु हुँदैन।
खासमा गुदद्वार एवं गुदाशय यौनक्रियाको लागि उपयुक्त प्राकृतिक मार्ग होइन। गुदद्वार मैथुन चलनचल्तीको यौन क्रिया नभएको कारण यस कार्यले गुदद्वार क्षेत्रमा यौनरोगलगायत कुनै संक्रमण वा स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा यसलाई लुकाई राख्ने प्रवृत्ति हुन्छ। जसले गर्दा प्रभावित व्यक्तिको स्वास्थ्यमा थप जटिलता उत्पन्न हुन्छ।