लुम्बिनी– स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । बुटवलमा पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बन्नुभएका कांग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे विजयी भएका हुन् ।
स्थानीय तहको पहिलो निर्वाचन २०७४ मा नेकपा (एमाले) का तर्फबाट नगरप्रमुख निर्वाचित हुनुभएका निवर्तमान नगरप्रमुख शिवराज सुवेदीसँग करिब दुई हजार ३०० मतले पराजित भएका पाण्डेलाई अहिले एमालेकै उम्मेदवारलाई सात हजारभन्दा बढी मतान्तरले पराजित गरेर विजयी भएका हुन् । उपप्रमुखमा भने एमालेकी उम्मेदवार सावित्रा अर्याल विजयी भइन् । उहाँ गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार चीनबहादुर गुरुङलाई झण्डै सात हजारभन्दा बढी मतान्तरले पछि पार्दै विजयी भएकी हुन् ।
बुटवलमा १९ वडा रहेकामा कांगे्रसले १२ वडामा जित हासिल गरेको छ । एमालेले पाँच वडामा जित हासिल गरेको छ भने एकीकृत समाजवादीले एक र एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।