प्रेमी प्रेमीकाले यौन सम्पर्क गर्दा कण्डम प्रयोग गर्न झन्झट मान्ने, प्रयोग गरिहाले पनि हतारमा सावधानी नपनाउँदा कण्डम फुट्ने हुनाले गर्भरहन सक्छ । यसो भएमा पार्टनरको बीचमा झगडा पर्न एवं सम्वन्ध बिग्रन पनि बेर लाग्दैन । यसो हुन नदिन आपत्कालिन गर्भ निरोधका विधि अपनाउन सकियो भने यस तनावलाई कम गर्न सकिन्छ । तर धेरै युवा युवतीलाई यसबारेमा त्यती जानकारी छैन ।
एक सर्वेक्षण अनुसार करीब ६२ प्रतिशत युवक तथा २७ प्रतिशत युवतीले डेटिङ्का बेला यौनजन्य गतिविधि गर्ने गरेको पाइन्छ । जस अनुसार ४० प्रतिशत युवक तथा ९ प्रतिशत युवतीले डेटिङ्का बेला यौनसम्पर्क गर्ने गर्छन् ।
नेपालमा १२ हप्ता सम्मको गर्भपतन गराउन पाइने प्रावधान छ । असुरक्षित यौन सम्पर्क गरेको ५ दिन अर्थात् आपत्कालीन गर्भ निरोधका लागि उपयुक्त समय घर्किसकेपछि सल्लाह लिने गर्छन् । यस्तो अवस्थामा सुरक्षित गर्भपतनको बाटो देखाई दिनुको विकल्प हुँदैन । गर्भ रहने क्रममा डिम्ब निष्कासन, यौन सम्पर्क, वीर्य स्खलन, डिम्व निसेचन तथा डिम्वारोपणको तारतम्य मिल्नुपर्दछ । तर कण्डम फुट्नाले, कण्डम लगायतका अस्थायी साधन अपनाउन अल्छी गर्नाले, नियमित रुपमा पिल्स चक्की खान विर्सिनाले तथा बलात्कार जस्तो असुरक्षित यौन सम्पर्कका कारणले अनिच्छित गर्भ रहन सक्छ ।
माथि उल्लेखित परिस्थितिहरूको परिणाम स्वरुप गर्भ रहन नदिनको लागि गरिने उपायहरूलाई आकस्मिक परिवार नियोजन विधि अर्थात् मेडिकल भाषामा ‘ईमर्जेन्सी कन्ट्रासेप्सन’ भनिन्छ । आजकाल आपत्कालीन गर्भ निरोधका लागि प्रोजेस्टेरोन नामक हर्मोन मात्र भएको पिल्स चक्की पनि पाइन्छ । यस अघि इस्ट्रोजेन र प्रोजेस्टेरोन दुवै हर्मोन भएको पिल्स चक्की पाइन्थ्यो ।
इमर्जेन्सी कन्ट्रासेप्सन अन्तर्गत युज्पे विधिमा दुवै हर्मोन भएको ओभरल नामक पिल्स चक्की शारीरिक सम्पर्क भएको यथाशक्य चाँडो दुई चक्की खानुपर्दछ । त्यसको १२ घन्टा पछि पुनः थप दुई चक्की ओभरल खानुपर्दछ । त्यसैगरी लेभोनोरजेस्ट्रेल (प्रोजेस्टेरोन मात्र) भएको इक्सी नामक पिल्स चक्की दुई मात्रा १२ घन्टाको अन्तरालमा खानुपर्दछ । इक्सीको पहिलो मात्रा असुरक्षित यौन सम्पर्क भएको ७२ घन्टा भित्र खाइसक्नुपर्दछ । यो १२ घन्टाको फरकमा दुई पटक वा एकैमात्रा गरेर पनि खान सकिन्छ ।
यस्ता खाले हर्मोनयुक्त औषधिहरू असुरक्षित यौन सम्पर्क अगाडि वा शारीरिक सम्पर्कको ७२ घन्टा भित्र गरिसक्नु पर्ने भएपनि विश्व स्वास्थ्य संगठनका अनुसार परिवार नियोजनका साधन फेल खाएको परिस्थितिमा ५ दिनसम्म पनि यी साधनहरू प्रयोग गर्न सकिन्छ । नेपालमा पनि इकोन नामक आकस्मिक गर्भ निरोधक चक्की असुरक्षित यौन सम्पर्कको १२० घन्टा सम्म खान सकिन्छ । जुन एक प्याकेटमा २ चक्की हुन्छ ।
इमर्जेन्सी कन्ट्रासेप्सनकै रुपमा असुरक्षित यौन सम्पर्कको ७२ घन्टा भित्र माथि उल्लेखित पिल्स चक्कीहरू खान भ्याइएन भने पाँचौं दिन भित्र पाठेघरमा राखिने कपर टी राख्न सकिन्छ । यसै उद्वेश्यका लागि हर्मोन नभएको मिफेप्रोस्टोन औषधि पनि छ । जुन असुरक्षित यौन सम्पर्क भएकै महिनाको महिनावारीको २७ औं दिनसम्म खान सकिन्छ ।
असुरक्षित यौन सम्पर्कको केही घन्टा भित्र यी औषधिहरूको सेवन गरेमा डिम्वासयबाट डिम्व निस्कन नदिने वा ढिलाई गर्ने, शुक्रकिट र डिम्व बीच निषेचन हुन नदिने तथा डिम्व र शुक्रकिटबीच निषेचित भैसकेको भए पनि पाठेघरको भित्री तहमा बस्न नदिने विश्वास गरिएको छ । कपर टी ले शुक्रकिट र डिम्वलाई मार्नुको अलावा निषेचित भैसकेको डिम्वलाई पनि प्रतिकुल असर पुर्याउने अनुमान छ ।
प्रोजेस्टेरोन मात्र भएको पिल्स चक्की ८९ प्रतिशत प्रभावकारी छ भने दुवै हर्मोनको मात्रा हुने युज्पे विधिको प्रभावकारीता केवल ७४ प्रतिशत मात्र छ । यसरी साधन पिच्छे यसको प्रभावकारीतामा भिन्नता पाइन्छ । समग्रमा पिल्स चक्कीको प्रभावकारीता ७५ प्रतिशत छ । यी साधनहरूको प्रयोगले असुरक्षित यौन सम्पर्कका कारण गर्भ रहने सक्ने सम्भावनालाई ७५ प्रतिशतले घटाउँछ ।
गर्भावस्थामा गल्तीले वा आपत्कालीन गर्भ निरोधका लागि औषधि खाँदाखाँदै पनि गर्भ निरन्तर हुन गएमा कुनै गर्भे शिशुमा कुनै हानी देखिएको छैन । तर गर्भ रहिसकेको अवस्थामा यी आपत्कालीन गर्भ निरोधमा प्रयोग गरिने औषधिहरूको प्रयोगले कुनै फाइदा हुँदैन । मस्तिष्कघात, माइग्रेन वा रगतको विकार समस्या भएका महिलाहरूमा प्रोजेस्टेरोन मात्र भएको पिल्सको प्रयोग राम्रो हुन्छ । छारेरोग तथा क्षयरोग विरुद्वको रिफाम्पिसिन औषधि सेवन गरिरहेकी महिलालाई पिल्सको मात्रा बढी चाहिन्छ ।
एकैपटक धेरै मात्रामा हर्मोन पिल्स चक्की बाध्यतावस खानु पर्दा वाक्वाकी लाग्ने, उल्टी हुने, पेट दुख्ने, आलस्य हुने, टाउको दुख्ने, चक्कर लाग्ने, स्तन भारी हुने हुन्छ । साधारणतया यी साधनको प्रयोग पश्चात् केही समयसम्म अस्थायी तवरले महिनावारीमा गडवडी आउन सक्छ । रगतको मात्रा पनि बढ्ता र अलि पिडादायी हुनसक्छ । यदि डिम्व निष्काशन हुनु अगाडि नै यी हर्मोनयुक्त पिल्स सेवन गरेको खण्डमा हल्का रगत देखिने वा महिनावारी अलि ढिला हुन सक्छ ।
आपत्कालीन गर्भ निरोधका साधनहरूको प्रयोगसँगै यसको पक्ष र विपक्षमा मतमतान्तर पनि छ । यसको विरुद्वमा लागेकाले यसले युवाहरू माझ असुरक्षित यौन सम्पर्क राख्न बढावा दिने, जसका कारण अनिच्छित गर्भ बढ्ने एवं यौनजन्य संक्रमणहरू बढ्ने आरोप लगाए भने आपत्कालीन गर्भ निरोध औषधिका उपलब्धताले गर्भपतनको संख्यामा कुनै कमी नआएको तथ्य पनि छ ।
आपत्कालीन गर्भ निरोधमा प्रयोग गरिने औषधिहरू परिवार नियोजनको प्राथमिक उपाय नभई अरु उपायहरू असफल हुँदाको अवस्थामा एउटा विकल्प हो । सामान्यतयाः यी पिल्स चक्की सँगै उल्टी रोक्ने औषधिको जरुरत पर्दैन । तर यदि यी औषधि खाएको दुई घन्टा भित्र उल्टी भएमा यथाशक्य चाँडो अर्को मात्रा खानु पर्दछ । आपत्कालीन गर्भ निरोधका साधनहरूले कुनै यौनजन्य संक्रमणबाट भने बचावट गर्दैन । यदि आपत्कालीन गर्भ निरोधका प्रयोगको तीन हप्तासम्ममा पनि महिनावारी खुलेन भने गर्भ रह्यो कि भनेर जाँच गराउनुपर्दछ ।