अमेरिकाको सेन्ट लुइस शहरमा सन् १९०४ मा तेस्रो गृष्मकालीन ओलम्पिक खेल आयोजना भएको थियो। यस ओलम्पिकको पुरुष म्याराथन अहिले पनि सम्झना गरिन्छ। अव्यवस्थित आयोजनाको नमुनाका रूपमा यसलाई लिइन्छ। पुरुष म्याराथनमा चार देशका ३२ जना खेलाडी सहभागी थिए। तर, १४ जनाले मात्र दौड पूरा गर्न सके।
बिहान दौड सुरु गर्नुको साटो आयोजकले दिउँसो दौड सुरु गरे। दिउँसो तापक्रम बढ्यो। दौड रंगशालाबाट सुरु भएको थियो। दौडिनुपर्ने बाटो धुलाम्य थियो। त्यसमाथि दौडका अधिकारी धावकका अगाडि र पछाडि गाडीमा सवार हुन्थे। धावकहरूलाई धुलो उडेर साह्रै गाह्रो भएको थियो।
म्याराथनको समापन रेखा (फिनिस लाइन) मा सबैभन्दा पहिले आइपुगेका थिए, अमेरिकी धावक फ्रेड लोर्ज। तर, उनले बदमासी गरेका थिए। त्यतिबेला म्याराथनमा २४.८५ माइलको दूरी हुन्थ्यो (अहिले २६.२ माइल हुन्छ)। लोर्जले नौ माइल दौडेपछि एउटा कारसँग लिफ्ट मागे। कारबाट १९ माइलको दूरी पार गरेपछि उनी फेरि दौडिन थाले र रंगशालामा आइपुगे। त्यहाँ उनले तत्कालीन राष्ट्रपति थियोडर रुजबेल्टकी छोरी एलिस रुजबेल्टसँग विजेताका रूपमा फोटो खिचाउन पनि भ्याए। स्वर्ण पदक हात पार्नै लाग्दा उनको बेइमानीको पर्दाफास भयो। त्यसपछि उनलाई आजीवन खेलमा प्रतिबन्ध लगाइयो।
थोमस हिक्स प्रतियोगितामा विजेता घोषित भए। उनले पनि धाँधली गरेका थिए। स्ट्राइक्नाइन नामक विषादी खाएका थिए। मुसा मार्न प्रयोग गर्ने यो विषादीको थोरै मात्रा प्रयोग गर्दा मान्छे उत्तेजित र उत्साहित हुन्छ।
यस म्याराथनमा दुई जना अफ्रिकी आदिवासीले पनि भाग लिएका थिए। तीमध्ये लेन ताउ प्रतिभाशाली धावक थिए। खेलप्रेमीहरूले उनले जित्ने अपेक्षा गरेका थिए। तर, दौडमा उनलाई बाटोमा भुस्याहा कुकुरहरूले एक माइलसम्म लखेटेका थिए। ताउ म्याराथनमा नवौँ भएका थिए।