काठमाडौं–राजनीतिक विश्लेषक तथा ज्योतिष गुरु केदार बरालले प्रधानमन्त्री बालेन शाहको लोकप्रियता आगामी दिनमा अझ बढ्दै जाने बताएका छन्। उनका अनुसार बालेन शाहविरुद्ध जति आलोचना, विरोध वा राजनीतिक प्रहार भए पनि त्यसले उनको जनसमर्थन कमजोर पार्नेभन्दा झन् बलियो बनाउने संकेत देखिन्छ।
बरालका अनुसार बालेन शाहको कुण्डलीमा रहेको बलियो शनि, राहुको प्रभाव, चतुर्थ भावको स्थिति तथा दशम भावमा रहेको केतुले उनलाई संघर्षबाट निखारिने, चुनौतीलाई अवसरमा बदल्ने र नेतृत्व क्षमतालाई थप मजबुत बनाउने योग प्रदान गरेको देखिन्छ। साथै उच्च स्थानमा रहेको बृहस्पति र प्रभावशाली सूर्यले उनलाई जनविश्वास, प्रतिष्ठा, साहस र निर्णय क्षमताको बल प्रदान गरिरहेको उनको विश्लेषण छ।
उनका अनुसार यस्ता ग्रहयोग भएका व्यक्तिहरू सजिलै विचलित हुँदैनन्। उनीहरू जति दबाबमा पर्छन्, त्यति नै मजबुत भएर अगाडि बढ्ने स्वभावका हुन्छन्। बालेन शाहको हकमा पनि यही अवस्था देखिएको भन्दै बरालले सामाजिक सञ्जाल, सूचना प्रविधि र अन्तर्राष्ट्रिय चासोका विषयमा समेत उनको प्रभाव विस्तार हुँदै जाने संकेत रहेको बताएका छन्।
“आजको युगमा जनताको मन जित्ने सबैभन्दा ठूलो आधार इमानदारी, कामप्रतिको प्रतिबद्धता र परिणाम हो। बालेन शाहप्रति जनताको भरोसा अझै कायम छ। परिवर्तनको अपेक्षासहित नयाँ विकल्प खोजिरहेका नागरिकहरूले उनीप्रति आशा राखेका छन्। त्यसैले केवल विरोध गरेर उनको राजनीतिक उचाइ घटाउन सहज देखिँदैन,” बराल भन्छन्।
तर बरालले सरकारको समग्र कार्यसम्पादनका विषयमा भने गम्भीर टिप्पणी गरेका छन्। उनका अनुसार प्रधानमन्त्रीको व्यक्तिगत लोकप्रियता बलियो भए पनि मन्त्रीहरूको कार्यसम्पादनले अपेक्षित परिणाम दिन नसकेको जनगुनासो यथार्थमै रहेको छ।
“प्रधानमन्त्री एक्लैले देश चलाउने होइन, सरकार टिमवर्कबाट चल्ने हो। प्रधानमन्त्रीको सोच राम्रो भएर मात्र पुग्दैन, त्यसलाई व्यवहारमा उतार्ने मन्त्रीहरू पनि उत्तिकै सक्षम, जिम्मेवार र जनताप्रति उत्तरदायी हुनुपर्छ। जनताले जुन स्तरको परिवर्तनको अपेक्षा गरेका थिए, त्यो अनुसार धेरै मन्त्रीहरूको काम देखिन सकेको छैन,” बरालको भनाइ छ।
उनका अनुसार बालेन शाहले अब आफ्नो ध्यान मन्त्रीहरूको कार्यक्षमता, जिम्मेवारीबोध र परिणाममुखी कामतर्फ केन्द्रित गर्न आवश्यक छ। कतिपय मन्त्रीहरूले प्रधानमन्त्रीलाई अपेक्षित राजनीतिक तथा प्रशासनिक सहयोग दिन नसकेको अनुभूति जनतामा देखिन थालेको भन्दै उनले सरकारभित्रको समन्वय र कार्यशैलीमा सुधार आवश्यक रहेको बताए।
“जनताले बालेन शाहलाई विश्वास गरेका छन्। तर त्यो विश्वासलाई दीर्घकालीन उपलब्धिमा बदल्न सक्षम टोली आवश्यक हुन्छ। यदि मन्त्रीहरूले जनअपेक्षा अनुसार काम गर्न सकेनन् भने त्यसको राजनीतिक मूल्य प्रधानमन्त्रीले पनि चुकाउनुपर्ने अवस्था आउन सक्छ। त्यसैले अब सरकारभित्रको कमजोरी पहिचान गरेर सुधार गर्नु आवश्यक छ,” बरालले बताए।
उनको निष्कर्ष छ, बालेन शाहको व्यक्तिगत लोकप्रियता, जनविश्वास र नेतृत्व क्षमता अहिले पनि बलियो देखिन्छ। ग्रहयोगले पनि उनको उन्नति, प्रतिष्ठा र प्रभाव विस्तारको संकेत गरिरहेको छ। तर देशलाई सही गति दिन र जनताको अपेक्षा पूरा गर्न प्रधानमन्त्रीसँगै मन्त्रीहरू पनि उत्तिकै सक्षम, इमानदार र परिणाममुखी हुन आवश्यक छ। जनताको भरोसा कायम राख्ने सबैभन्दा ठूलो आधार भाषण होइन, काम र परिणाम नै हो।