संसारमा भएका विचित्र घटना

एजेन्सी     २६ जेठ २०७८, बुधबार
संसारमा भएका विचित्र घटना

–अमेरिकाका एकचालिसौँ राष्ट्रपति जर्ज एच डब्लू बुसलाई ब्रोकाउली भनेपछि दिक्क लाग्थ्यो। बाल्यकालदेखि नै उनी यो तरकारी मन पराउँदैनथे। सन् १९८९ मा उनी राष्ट्रपति भए। सर्वोच्च पदमा आसीन भएको केही समयपछि उनले ह्वाइटहाउस र एयर फोर्स वनमा ब्रोकाउलीलाई प्रतिबन्ध लगाए।

उनले सन् १९९० मा दिएको एक अन्तर्वार्तामा भनेका थिए, ‘बाल्यकालदेखि नै मलाई ब्रोकाउली मन पर्दैनथ्यो। तर, मेरी आमाले मलाई यो तरकारी खान बाध्य पार्नुहुन्थ्यो। अब म अमेरिकाको राष्ट्रपति भएको छु। त्यसैले ब्रोकाउली निषेध गरेको हुँ।’ 

–नाजी जर्मनीमा सन् १९३० को दशकमा किताब जलाउने अभियान चलेको थियो। जर्मन विद्यार्थी युनियनले नाजी विचारधारासँग मेल नखाने कृतिहरू जलाउने अभियानको नेतृत्व गरेको थियो। यहुदी, शान्तिवादी, धार्मिक, अराजक, समाजवादी, कम्युनिस्ट आदि लेखकका थुप्रै किताब जलाइएका थिए।

कार्ल माक्र्स र कार्ल काउत्स्कीका किताबहरू सबैभन्दा पहिले जलाइए। त्यही क्रममा जर्मन यहुदी कवि हाइरिख हाइनको एउटा किताब पनि जलाइयो। त्यस किताबमा धेरैले उद्धरण गर्ने एउटा प्रसिद्ध वाक्य थियो– ‘जहाँ किताब जलाइन्छन्, त्यहाँ पछि गएर मान्छेहरू जलाइन्छन्।’   

–हाल फ्रान्समा पर्ने स्ट्रासबर्ग शहरमा सन् १५१८ मा एउटा रहस्यमय प्रकोप फैलिएको थियो। त्यो थियो, नृत्य प्रकोप। जुलाईदेखि सुरु भएको प्रकोप सेप्टेम्बरमा अन्त्य भएको थियो। सयौँ मान्छे दिनरात महिनौँसम्म पागलसरी नाचेका थिए।

यस क्रममा थकान र हृदयाघातका कारण केहीको मृत्यु पनि भएको थियो। आजसम्म पनि त्यतिबेला त्यस शहरमा किन त्यसरी त्यत्तिका मान्छेले एकाएक भोक–प्यास बिर्सेर हप्तौँसम्म नाचेका थिए भन्ने रहस्य खुलेको छैन। 

प्रतिक्रिया