भारतकी प्रसिद्ध बक्सिङ खेलाडी हुन्, मेरी कम। विश्व बक्सिङ प्रतियोगितामा उनी पाँच पटक विजेता बनेकी छिन्। उनको जीवनमा आधारित फिल्म ‘मेरी कम’ सन् २०१४ मा रिलिज भएको थियो। जसमा उनको भूमिका अभिनेत्री प्रियंका चोपडाले गरेकी थिइन्। तिनै मेरीले गत सेप्टेम्बरमा पोल्यान्डमा आयोजित १३ औँ अन्तर्राष्ट्रिय सिलेसियन बक्सिङ च्याम्पियनसिपमा ४८ किलो वजन समूहमा स्वर्ण पदक जितिन्। तर, प्रतियोगिताका लागि त्यहाँ पुग्दा उनको वजन दुई किलो बढी थियो अर्थात् ५० किलो थियो। टुर्नामेन्टमा भाग लिन चार घण्टा मात्र बाँकी थियो। मेरीले चार घण्टामा दुई किलो वजन घटाइन्। उनले स्किपिङ गरेर मात्र दुई किलो वजन घटाएकी थिइन्। वजन घटाउन मात्र होइन, स्किपिङ गर्नु स्वास्थ्यका लागि पनि फाइदाजनक छ।
स्किपिङ उत्तम व्यायाम
स्किपिङ सम्पूर्ण शरीरका लागि लाभकारी छ। यो उत्तम व्यायाम हो। किनकि, स्किपिङ गर्दा केही मिनेटमै सम्पूर्ण शरीरको व्यायाम हुन्छ। शीघ्र वजन घटाउन चाहनेले स्किपिङ गर्नु राम्रो हो। स्किपिङ जहाँ पनि जतिखेर पनि गर्न सकिन्छ। यात्रा गर्दासमेत स्किपिङ गर्ने डोरी आफूसँग राख्न सकिन्छ।
मुटु स्वस्थ राख्छ
स्किपिङ कार्डियो एक्सरसाइज हो। स्किपिङ गर्दा मुटु स्वस्थ रहन्छ। दिनहुँ १५ मिनेट स्किपिङ गर्दा मुटुको धडकन राम्रो हुन्छ। ऊर्जा बढ्छ। शरीर अझै धेरै व्यायाम गर्नका लागि तयार हुन्छ।
छालाका लागि फाइदाजनक
स्किपिङ गर्दा छालालाई फाइदा पुग्छ। प्राकृतिक रूपमा छालामा निखार चाहनेले नियमित स्किपिङ गर्नुपर्छ। स्किपिङ गरेर विभिन्न छालासम्बन्धी समस्याबाट राहत पाउने सकिन्छ। स्किपिङ गर्दा पसिना बग्छ र रोमछिद्र खुल्छन्। जसले गर्दा चाउरिने, दागधब्बालगायत छालासम्बन्धी समस्या हटेर जान्छन्।
क्यालोरी घट्छ
स्किपिङ गर्दा शरीरमा ऊर्जाको सञ्चार हुन्छ। शरीर छरितो र कसिलो बन्छ। वजन घट्छ। मोटोपनका कारण विभिन्न स्वास्थ्यसम्बन्धी समस्याले सताउँछन्। शारीरिक समस्याबाट बच्न बोसो कम गर्नुपर्छ। १५ मिनेट मात्र स्किपिङ गर्दा दुई सय क्यालोरी कम हुन्छ।
रक्त सञ्चार सुधार्छ
स्किपिङले रक्त सञ्चार राम्रो गर्छ। स्किपिङ गर्दा असिनपसिन भइन्छ। शरीरमा भएका विषाक्त तत्व पसिनाका माध्यमले बाहिर निस्कन्छन्। हार्मोनलाई सन्तुलित गर्छ, स्किपिङले।
तनाव घटाउँछ
स्किपिङ गर्दा मानिस मानसिक रूपले पनि स्वस्थ हुन्छ। तनाव कम हुन्छ।
स्किपिङ गर्दा ध्यान दिनुपर्ने कुराः
स्किपिङ गर्दा ध्यान पुर्याइएन भने चोटपटक लाग्न सक्छ। मांसपेशी तन्किन सक्छ। खाली पेट मात्र स्किपिङ गर्नुपर्छ। स्किपिङ गर्दा लुगा खुला र आरामदायक लगाउनुपर्छ। स्किपिङ गर्नुअघि हल्का व्यायाम गर्नुपर्छ। जसले गर्दा मांसपेशी कम तन्किन्छन्। स्किपिङ गर्दा गति कम राख्नुपर्छ। बिस्तारै गति बढाउनुपर्छ।