जिम कुन उमेरमा सुरु गर्ने वा पाको उमेरमा जिम गर्नु हुन्छ÷हुँदैन भन्नेबारे विभिन्न भ्रम रहेको पाइन्छ । जिम भन्नेबित्तिकै धेरैले तौल उचाल्ने र शरीरका विभिन्न भागको मसल फुलाउने काम भनेर बुझ्छन् । तर, जिम गर्नु भनेको शरीरको मांसपेशी ठूलो बनाउने काम मात्र होइन, फिट र तन्दुरुस्त रहनका लागि पनि जिममा विभिन्न एक्सरसाइज गर्न सकिन्छ । हरेक उमेरका मानिसले आफूलाई फिट राख्न जिम गर्न सक्छन् ।

टिनएजमा जिम
सानो उमेरमा जिम गर्नुहुन्छ कि हुँदैन भनेर धेरैले प्रश्न गर्छन् । बढ्दो उमेरकाले जिम ज्वाइन गर्दा उनीहरूलाई फाइदा हुन्छ । जिममा गएर के गर्ने भन्नेबारे चाहिँ जानकारी हुनुपर्छ । भर्खरै जिममा भर्ना भएका १५ वर्षसम्मका किशोर÷किशोरीले एकैचोटि हेभी वेट उचालेर मसल बनाउँछु भनेर सोचे र त्यहीअनुसार गरे भने त्यो गलत हुनेछ । शारीरिक विकास भइरहेका र बढ्दो उमेरकाले जिममा हेभी वेट उचाल्नु हुँदैन । जिम गर्न आएका र जिम गर्न चाहने कतिपयले सानैदेखि जिम गर्दा उचाइ बढ्दैन भन्ने भ्रम पालेको देखिन्छ । यो एकदमै गलत सोच हो । जिमसँगै किशोर÷किशोरीले क्याल्सियम, प्रोटिनजस्ता खानेकुरा सन्तुलित रूपमा खाने र त्यहीअनुसार वर्कआउट र एक्सरसाइज गर्दा शारीरिक विकासमा फाइदा पुग्छ । त्यस्तै, यसले मांसपेशी बढाउन पनि भूमिका खेल्छ । त्यसैले जिम गर्दा उचाइ नबढ्ने होइन, बढ्नमा सहयोग गर्छ । स्ट्रेचिङ एक्सरसाइजलाई फोकस गर्दा हाइट बढाउन मद्दत गर्छ । पर्याप्त खुला ठाउँको अभावमा आउटडोर खेलुकदबिना हुर्किएका तन्नेरीको शारीरिक विकासमा जिमखानाभित्र गरिने पुलअप, सेटअप, पुसअपजस्ता एक्सरसाइजले सहयोग पुग्छ ।
टिनएजरले स्क्वाट सेट, काँधमा हेभी वेट राखेर उठाउने गर्नु हुँदैन । एउटै सेटलाई लामो अवधि गर्नुपर्छ, जसले गर्दा मसलमा हिट पैदा हुन्छ र त्यसको असर देखिन थाल्छ । कहिल्यै एक्सरसाइज नगरेकाले कुनै पनि सेट चार÷पाँच पटक गर्नेबित्तिकै दुख्यो भनेर छोड्ने गर्छन् । यसो गर्दा आफूले फोकस गरेको एक्सरसाइजको असर देखिँदैन । हेभी वेट काँधमा राखेर गर्नु राम्रो मानिँदैन । सानो वेट लिएर रिपिटिसन गर्नुपर्छ । केही समय एक्सरसाइज गरेपछि ढाड दुख्यो, खुट्टा दुख्यो भनेर छोड्नु हुँदैन ।

२० देखि ४० सम्मकाले के गर्ने ?
२० देखि ४० वर्षसम्मको अवधिमा हामीले आफ्नो शरीरलाई चाहेअनुसारको बनाउन सक्छौँ । बडी बनाउने उद्देश्यले जिम गर्नेहरूले यो अवधिमा तौल बढाउने, घटाउने तथा शरीरका विभिन्न भागमा मसलको सँगसँगै शरीरको फ्रेम बढाउन सक्छन् । २० वर्ष माथिकाले वेट लिफ्ट, स्क्वाट सेट, डेडलिफ्ट, लेग लन्ज आदि एक्सरसाइज गर्न सक्छन् । जिम स्टेप बाई स्टेप गर्नुपर्ने भएकाले सबै सुधार एकै पटक देखिँदैन । जिम गर्दा तौल घट्छ कि बढ्छ भन्नेबारे पनि धेरै मानिसमा अलमल रहेको पाइन्छ । जिममा कोही तौल बढाउने उद्देश्यले आउँछन् भने कोही घटाउने । जिम गर्ने तरिका र डाइट चार्ट फलो गर्ने तरिकाले तौल घटाउने÷बढाउने कुरा निर्धारित गर्छ । यदि कसैलाई तौल घटाउनु छ भने अलि बढी शारीरिक परिश्रम हुने जिमका तरिका फलो गर्नुपर्छ । त्यस्तै, बोसो कम लाग्ने र तौल नबढाउने खालका डाइट खानुपर्छ । तौल बढाउन चाहनेले भने कम शारीरिक परिश्रम हुने जिमको तरिका अपनाउनुपर्छ । मोटाउने खालको डाइट चार्ट फलो गर्नुपर्छ । जिमले मात्रै मोटाउने र दुब्लाउने कुरा निर्धारण गर्दैन । शारीरिक बनावटमा जिमको करिब २० प्रतिशत मात्रै हिस्सा हुन्छ । बाँकी ८० प्रतिशत चाहिँ पोषण, आनीबानीले निर्धारण गर्छ । नियमित जिम गर्नेहरूले उपयुक्त पोषण लिनुपर्छ । प्रशिक्षकले भनेअनुसार डाइट चार्ट फलो गर्नुपर्छ ।
शरीर सेप र साइजमा आइसकेपछि घरमै बसेर पनि एक्सरसाइज गरेर आफ्नो शरीरलाई मेन्टेन गर्न सकिन्छ । वर्षौंसम्म जिम क्लब गइरहनुपर्छ भन्ने छैन । होम बेस्ड कार्डियोका विभिन्न तरिका छन् । तिनलाई फलो गर्न सकिन्छ । सुतेर गरिने कतिपय एक्सरसाइजले पेट घटाउने र बेली एरियाको बोसो कम गर्ने भएकाले निश्चित अवधि जिम गरेपछि घरमै बसेर पनि आफूलाई मेन्टेन गर्न सकिन्छ ।

४० वर्ष माथिकाले गर्नुपर्ने अभ्यास
जिम गर्नका लागि उमेरको हदबन्दी नभए पनि कुन उमेरकाले के गर्ने ? के नगर्ने ? त्यो भने फलो गर्नैपर्छ । किशोरावस्थामा गरिने जिम, किशोरावस्था पार गरेपछि गर्ने जिम र ४० वर्ष कटेपछि गर्ने जिमका तरिका फरक त अवश्य नै हुन्छ । फिटनेस ट्रेनरको सल्लाहअनुसार वर्कआउट गरेर शरीरमा शक्ति बढाउँदै थप एक्सरसाइज गर्नुपर्ने हुन्छ । ब्लड प्रेसर, सुगर, मुटुसम्बन्धी कुनै रोग भए/नभएको निक्र्यौल गरेर जिममा गरिने एक्सरसाइज छनोट गर्नुपर्छ । कार्डियो बेसका एक्सरसाइजमा बढी जोड दिनुपर्छ । ट्रेड मिल, साइक्लिङ, इल्केट्रिकल क्रस ट्रेनरलगायत कार्डियो मेसिनलाई फोकस गरेर सही तरिकाले एक्सरसाइज गर्नुपर्छ । पेट र बोसो घटाउने खालका एक्सरसाइज गर्नुपर्छ । श्वास प्रश्वासमा विशेष ध्यान दिनुपर्छ । बढ्दो उमेरसँगै मांसपेशी संवेदनशील हुने भएकाले हेभी वेट उचाल्न जोड दिनु हुँदैन । खानपिनमा ध्यान दिनुपर्छ । तौल बढाउने खानेकुरा कम गर्नुपर्छ । शरीरमा जम्मा भएको अतिरिक्त बोसोले विभिन्न किसिमका रोग निम्त्याउने भएकाले त्यसलाई हटाउने र बढ्न नदिने व्यायाममा ध्यान दिनुपर्छ ।






