जुम्ल्याहा जिम गुरुको फिटनेस मन्त्र

राम्रो अनलाइन     ०८ माघ २०७७, बिहिबार
जुम्ल्याहा जिम गुरुको फिटनेस मन्त्र

राम–लक्ष्मण जुम्ल्याहा दाजुभाइ हुन्। उनीहरू हेर्दा उस्तै देखिन्छन्। यी दुईको काम पनि एउटै छ– जिम प्रशिक्षण। 


काठमाडौँ, पेप्सीकोलास्थित ‘पर्फेक्ट फिटनेस क्लब’मा बिहानै भेटिन्छन्, फिटनेस टे«नर राम श्रेष्ठ र लक्ष्मण श्रेष्ठ। उनीहरू जुम्ल्याहा हुन्। २४ वर्षीय राम–लक्ष्मणलाई सुरुमा देख्ने जो कोही ‘कुन राम, कुन लक्ष्मण’ भनेर झुक्किन्छ। सिन्धुपाल्चोकका यी जुम्ल्याहा दाजुभाइको अनुहार मात्र एकनासे छैन, पेशा पनि एउटै छ। 

जिम नै सबथोक
जिम सुरु गर्दा राम १८ वर्षका थिए। ‘जिम जाने एक जना दाइको संगतले मलाई जिमतिर तान्यो,’ रामले भने, ‘सुरुमा फिटनेसम्बन्धी ज्ञान थिएन। जिम जान थालेपछि धेरै कुरा थाहा पाउदै गएँ।’ राम जिम गएको छ महिनापछि लक्ष्मणलाई पनि जिम जाने जाँगर चल्यो। ‘सानैदेखि सँगै खेलेर, खाएर हुर्कियौँ,’ लक्ष्मणले भने, ‘दाइ जहाँ गयो त्यही जान्थेँ। उसले जे ग¥यो त्यही गर्थें। दाइ जिम जान थालेपछि मलाई पनि जान मन लाग्यो। जिम जान थालेपछि घरमा बस्नै मन लागेन।’

जिम गएको एक वर्षपछि राम एउटा फिटनेसम्बन्धी गेममा सहभागी भए। ‘२०७१ सालमा ‘मिस्टर भक्तपुर’ को ६० केजी बडिबिल्डिङ कम्पिटिसनमा गोल्ड मेडल जितेँ,’ उनले भने, ‘२०७४ सालमा भएको ‘मिस्टर भ्याली’ बडिबिल्डिङ प्रतियोगितामा तेस्रो भएँ।’ प्रतियोगितमा जितेका उपाधिले उनलाई फिटनेस क्षेत्रमा लाग्न थप हौसला दियो। आगामी दिनमा यसै क्षेत्रमा केही गर्नुपर्छ भन्ने रामको सोचाइ छ। आफ्नै एउटा फिटनेस क्लब खोल्न चाहन्छन्, उनी। ‘आफू मात्र होइन, आफूजस्ता धेरै युवालाई फिटनेस क्षेत्रमा आबद्ध गराउने मन छ,’ उनले भने। 

राम पर्सनल टे«नर हुन्। लक्ष्मण जिममा ओभरोल टे«निङ गराउँछन्। दिनमा ५० देखि ६० जनालाई उनीहरू फिटनेस टे«निङ दिन्छन्। जिममा नयाँ–नयाँ मानिससँग चिनजान हुने भएकाले आफूहरूलाई यो क्षेत्र मन पर्ने उनीहरू बताउँछन्। राम–लक्ष्मण बिहान ६ देखि १० बजेसम्म र बेलुका ४ देखि ८ बजेसम्म व्यायाम सिकाउँछन्। ‘हरेक क्षेत्रका मानिसलाई जिम गराउन पाउँदा बिहान–बेलुका चार–चार घण्टा बितेको पत्तै हुँदैन,’ लक्ष्मणले भने, ‘अरू क्षेत्रमा भएको भए यसरी भिज्न सकिँदैनथ्यो होला। जिम आफ्नो रुचिको विषय भएकाले सिकाउन मज्जा लाग्छ।’ 

‘प्यासन’ नै ‘प्रोफेसन’
‘हामीले आफ्नो प्यासनलाई प्रोफेसन बनायौँ,’ दाजुभाइले एकै स्वरमा भने। यो क्षेत्रमा नभएको भए यतिबेला आफूहरू विदेशिने उनीहरू बताउँछन्। ‘देशमा केही गर्न सकिँदैन भनेर विदेशिने हाम्रा धेरै साथी छन्,’ लक्ष्मणले भने, ‘हामीले आफ्नै देशमा स्कोप खोज्यौँ। काम देशले होइन, आफैँले खोज्ने कुरा रहेछ।’

जिममा लाग्नको लागि सुरुमा उनीहरूले परिवारको सहयोग पाएनन्। ‘‘गुण्डागर्दी गर्न जिम जान लागेको’ भनेर आफन्त र साथीभाइले भन्थे,’ रामले भने ‘पूरै समय जिममा लागेर आफैँ जिम सिकाउन थालेपछि कसैले केही भनेनन्। घरपरिवारमा पनि अब हामीले केही गर्छौं भन्ने आशा पलाएको छ।’
आजभोलि मानिसहरू फिटनेसप्रति सजग भएको उनीहरूको अनुभव छ। ‘यो दुई वर्षमा फिटनेसमा धेरै परिवर्तन आइसकेको छ,’ रामले भने, ‘जिम गर्नुुपर्छ,

एक्सरसाइज गर्नुपर्छ भन्ने सोच बच्चादेखि बूढा, महिला–पुरुष सबैमा आएको छ।’ फिटनेस बडिबिल्डरको लागि मात्र नभएर सबैको लागि भएको उनीहरू बताउँछन्। ‘पहिला जिम भनेको बडिबिल्डरका लागि भन्ने थियो,’ लक्ष्मणले भने, ‘अहिले स्वस्थ हुनदेखि तौल बढाउन÷घटाउन पनि मानिसहरू जिम आउँछन्।’ १८ वर्षका किशोरदेखि ५५ वर्षका मानिससम्म जिम आएको देखेर उनीहरूलाई खुशी लाग्छ। 

जिम गुरु 
जिम सिक्न आउने धेरैले उनीहरूलाई ‘जिम गुरु राम–लक्ष्मण’ भनेर बोलाउँछन्। जिममा उनीहरूलाई देखेर धेरै पटक मानिस झुक्किएको उनीहरू बताउँछन्। ‘नचिन्नेले मलाई लक्ष्मण, लक्ष्मणलाई म भनेर बोलाउँछन्,’ रामले भने, ‘अरूको त के कुरा कहिलेकाहीँ एउटै कपडा लगाएर एउटै तरिकाले हिँड्यो भने हामीलाई देखेर हाम्रै आमा पनि झुक्किनुहुन्छ।’ आफूहरूको अनुहार एउटै भए पनि सधैँ देखिरहनेले भने आनीबानीले राम–लक्ष्मण भनेर छुट्याउन सक्छन्। ‘रामको मन कमलो छ तर, झडङ्ङ रिसाउने बानी छ,’ लक्ष्मणले भने, ‘म अलि अन्तरमुखी स्वभावको छु। हत्तपत्त कसैसँग बोल्दिनँ।’

राम यो क्षेत्रमा नलागेको भए आफू यस क्षेत्रमा लाग्ने सम्भावना न्यून भएको उनी बताउँछन्। ‘आज म जे छु दाइको कारणले छु,’ लक्ष्मणले भने, ‘अप्ठ्यारो हुँदा हामी दुवै एकअर्कालाई उत्प्रेरित गर्छौं,’ उनले भने, ‘भविष्यमा पनि यसरी नै एकअर्कालाई साथ दिँदै अगाडि बढ्ने सोच छ।’

मेडलको चाहना
भविष्यमा राष्ट्रियस्तरको बडिबिल्डिङमा प्रतियोगितामा सहभागी भएर मेडल ल्याउने रामको इच्छा छ। फिटनेस क्षेत्रमा लाग्न चाहनेको लागि साथ र सहयोगको एकदमै खाँचो रहेको उनीहरू बताउँछन्। ‘यो फिल्डमा चाहिने भनेको सपोर्ट हो,’ उनले भने, ‘परिवारले सपोर्ट गरेर मात्र हुँदैन। देशले पनि सपोर्ट गर्नुपर्छ।’ 

मध्यमवर्गीय परिवारका मानिसको लागि फिटनेस क्षेत्रमा लाग्नु एकदमै चुनौतीपूर्ण रहेको राम बताउँछन्। ‘आर्थिक स्थितिले गर्दा कहिलेकाहीँ डाइट पुग्दैन,’ उनले भने, ‘डाइट नपुगेपछि सोचेको जस्तो बडी बनाउन सकिँदैन। बजेट नपुग्दा बीचैमा अड्किइन्छ मान्छे।’

यो क्षेत्रमा आफूहरूलाई आत्मसन्तुष्टि मिल्ने उनीहरू बताउँछन्। ‘ऐनामा हेर्दा आफ्नो बडी देखेर आनन्द लाग्छ,’ लक्ष्मणले भने, ‘भयंकर पैसा कमाउँछु भनेर होइन, आफू पनि फिट अरूलाई पनि फिट बनाउँछौँ भनेर यो क्षेत्रमा लागेका हौँ।’ लक्ष्मणको भविष्यमा दाजुभाइ एउटै स्टेजमा उभिने इच्छा छ। उनी आफ्नो आइडल आफ्नै दाइ रामलाई मान्छन्। लक्ष्मण अमेरिकन बडिबिल्डर जेरेमी बुन्डियालाई फलो गर्छन्। उनले आफ्नो खुट्टामा जेरेमीले बनाएको जस्तै ट्याटूसमेत बनाएका छन्। 

 

जिमबारे भ्रम

 

जिमबारे मानिसहरूमा केही भ्रम भएको श्रेष्ठ दाजुभाइ बताउँछन्। ‘एक्सरसाइज गरेर मात्र हुँदैन,’ रामले भने, ‘जिमअनुसार डाइट पनि फलो गर्नुपर्छ। टेनरको सल्लाहअनुसार गर्दा मात्र आफूले सोचेको परिणाम पाउन सकिन्छ।’ एक्सरसाइज मात्रले ज्यान घटाउन÷बढाउन नसकिने उनी बताउँछन्। ‘फिट हुनको लागि खानेकुरा मिलाउनुपर्छ,’ लक्ष्मणले भने, ‘नियमित अभ्यास गर्नुपर्छ।’ 

जिममा आजभोलि पुरुषसँगै महिला पनि उत्तिकै आउन थालेको उनीहरूले बताउँछन्। ‘पहिला केटीहरूमा ‘जिम गर्दा केटाको जस्तो शरीर हुन्छ’ भन्ने भ्रम थियो,’ लक्ष्मणले भने, ‘अहिले हाम्रो जिममा पुरुषभन्दा महिला बढी छन्। उनीहरूले मज्जाले जिम गरेर आफूले चाहे जस्तो शरीर बनाइरहेका छन्।’ 

राम–लक्ष्मणका साथीभाइले भन्ने गरेका छन् – ‘क्या मोज लाइफ छ है, तिमीहरूको।’ साथीहरूले भनेको जस्तो ‘मोज लाइफ’ नभएको उनीहरू बताउँछन्। लक्ष्मणले भने, ‘काम गर्दा शारीरिक र मानसिक रूपले थाकिन्छ। यो क्षेत्रमा अवसर भए पनि चुनौती पनि उत्तिकै छ।’

‘केटीलाई सिकाउन पाइन्छ, मक्खै छस् नि’ भनेर धेरै साथीभाइले भन्छन्,’ रामले भने, ‘महिला होस् वा पुरुष, हाम्रो काम उनीहरूलाई फिटनेस ट्रेनिङ दिनु हो। जो हामी इमानदारीसाथ गर्छौं।’

जिमले शारीरिक र मानसिक स्वास्थ्य बलियो बनाउने उनीहरूको धारणा छ। ‘जिमले मानिसको आत्मविश्वास बढाउँछ,’ रामले भने, ‘जिम गर्नु भनेको आफूले आफूलाई समय दिनु हो।’ व्यस्त जीवनशैलीबाट एक घण्टा मात्रै आफ्ना लागि समय छुटाउँदा कसैलाई घाटा नहुने लक्ष्मण बताउँछन्। ‘जिम गर्दा आफूले आफूलाई बुझ्न सकिन्छ,’ उनले भने, ‘जिमलाई समय दिनु आफूलाई समय दिनु बराबर हो।’ 

प्रतिक्रिया