भ्रष्टाचारमुक्त बागमती प्रदेश बनाउने अभियानमा सरकार लागेको छः मुख्यमन्त्री बानियाँ

राम्रो अनलाइन     ०९ भदौ २०८२, सोमबार
भ्रष्टाचारमुक्त बागमती प्रदेश बनाउने अभियानमा सरकार लागेको छः मुख्यमन्त्री बानियाँ

बागमती–बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भ्रष्टाचारमुक्त बागमती प्रदेश बनाउने अभियानमा प्रदेश सरकार लागेको बताएका छन्। 

निर्माण व्यवसायी सङ्घ मकवानपुरले आज हेटौँडामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले सुशासनयुक्त र भ्रष्टाचारमुक्त बागमती प्रदेश बनाउने अभियानमा सहयोग गर्न सबैसँग आग्रह गरे।

लागत अनुमानअनुसार काम नगर्ने कर्मचारी र व्यवसायी दुवै कारवाहीको दायरामा आउने बताँदै मुख्यमन्त्री बानियाँले कामको गुणस्तरमा कुनै सम्झौता नगर्न व्यवसायीलाई आग्रह गरे । ‘‘ठेक्कामा हिजो आठ वटा रड हाल्नुपर्नेमा छ वटा मात्र हाल्ने प्रवृति थियो, अब त्यो दिन अन्त्य भएको छ”, मुख्यमन्त्री बानियाँले भने, “अब इस्टिमेटअनुसार काम भएको छ वा छैन्, त्यो सबै प्रविधिले पत्ता लगाई हाल्छ । बदमासी गर्ने कर्मचारी र व्यवसायी दुवैमाथि कारवाही हुन्छ ।”

उपभोक्ता समितिमार्फत हुने काममा विकृति बढेको बताउँदै मुख्यमन्त्री बानियाँले अब प्रदेश सरकारको रु १० लाखभन्दा माथिका सबै योजना बोलपत्र प्रक्रियाबाट अघि बढ्ने बताए। उनले निर्माण व्यवसायीले अत्यधिक घटाघटमा ठेक्का हाल्ने बाध्यता रोक्नका लागि सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्ने बताए।

प्रतिक्रिया