टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’

राम्रो अनलाइन     १८ वैशाख २०८३, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’

काठमाडौँ–टोखा  नगरपालिकाले सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । टोखा नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी नगरपालिकाभित्रका ११ वडामा वैशाख २० गतेदेखि निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

नगरप्रमुख प्रकाश अधिकारीले यसअघि अस्पताल र स्वास्थ्य केन्द्रमा मात्र सीमित रहेको यो कार्यक्रमलाई यस वर्षदेखि अझ प्रभावकारी बनाउन वडावडामा विस्तार गर्न लागिएको जानकारी दिए। उनले वैशाख २० गते वडा नं ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यस वर्षको कार्यक्रम शुभारम्भ गरिने बताए ।  त्यसपछि प्रत्येक वडामा तीनतीन दिनको तालिका बनाएर स्वास्थ्य सेवा उपलब्ध गराइने नगरपालिकाले उनले बताए।

कार्यक्रमको पहिलो दिन ३० वर्षभन्दा माथिका नागरिकका लागि नसर्ने रोगको परीक्षण (स्क्रिनिङ) गरिनेछ । यसअन्तर्गत तौल र उचाइको अनुपात बीएमआई, रक्तचाप, सुगर, पिसाबमा एल्बुमिन, क्षयरोगको खकार परीक्षण तथा महिलाहरूका लागि पाठेघरको मुखको क्यान्सर भीआइए परीक्षण गरिने नगरपालिकाले जनाएको छ । परीक्षणका क्रममा स्वास्थ्यमा समस्या देखिएकालाई थप उपचारका लागि दोस्रो दिनको शिविरमा पठाइनेछ ।

दोस्रो दिन वडाभित्र स्थायी रूपमा बसोबास गर्ने ७० वर्षमाथिका सबै ज्येष्ठ नागरिक र ६० देखि ७० वर्ष उमेर समूहका लक्षित वर्गलाई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा प्रदान गरिने नगरप्रमुख अधिकारीले बताउनुभयो । सोही दिन प्रयोगशाला परीक्षणका लागि नमूना सङ्कलन, भिडियो एक्स–रे र इसिजी सेवा उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।  नगरपालिकाका अनुसार थाइराइड र ९प्रोस्टेट०को परीक्षण भने टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिने व्यवस्था मिलाइएको छ ।

तेस्रो दिन विशेषज्ञ चिकित्सकले रिपोर्टका आधारमा बिरामीलाई निःशुल्क औषधि वितरण, स्वास्थ्य परामर्श र आवश्यकताअनुसार थप उपचारका लागि अन्य अस्पतालमा रेफर ९प्रेषण० गर्नेछन् । नगरपालिकाले नसर्ने रोगको समयमै पहिचान, रोकथाम र विशेषज्ञ सेवासहितको यस कार्यक्रमका लागि आन्तरिक स्रोतबाट ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

प्रतिक्रिया