काठमाडौं–कुनै पनि देशको अन्तर्राष्ट्रिय विमानस्थल सो देशको मुहार हो । विमानस्थलमा यात्रुहरूले पाउने रेस्पोन्स र सेवाबाट सम्बन्धित देशको छवि निर्माणमा महत्वपूर्ण योगदान रहेको हुन्छ । तर, हाम्रो देशको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र सञ्चालित क्याफे तथा रेस्टुरेन्टहरूमा भने लामो समयदेखि जारी व्यथिति र ज्यादतीले यात्रुहरू मारमा पर्ने गरेका छन् ।
यहाँ सञ्चालित क्याफेमा बजार मूल्यभन्दा कैयौँ गुणा बढी मूल्यमा खाद्य वस्तु तथा पेय पदार्थ बिक्री गर्ने गरिएको पाइन्छ। सामान्य खानेपानीको बोतल, बिस्कुट, र चाउचाउ जस्ता तोकिएको खुद्रा मूल्य भएका वस्तुमा समेत अतिरिक्त रकम असुल गरिने गुनासो बारम्बार उठ्ने गरेको छ।
अन्तर्राष्ट्रिय स्तरको विमानस्थल भए पनि उपलब्ध खानाको गुणस्तर कमजोर र उचित ताजापन नहुने गरेको छ। क्याफेका भान्सा, काउन्टर, तथा बसोबास क्षेत्रमा पर्याप्त सरसफाइ र स्वच्छता कायम नगरेको पाइन्छ। एक कप कफीका लागि पनि यात्रुहरू लामो लाइनमा बस्नुपर्ने अवस्था छ । चिया कफीका लागि चाहिने चिनीको स्याचेट पनि उपलब्ध छैन । खुल्ला भाँडोमा झिाँगा भन्किरहेको ठाउँबाट चम्चाले चिनी उठाएर प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।
विमानस्थल भित्र थोरै मात्र क्याफेहरूलाई ठेक्का दिइने भएकाले उनीहरूको एकाधिकार जस्तै कायम हुन्छ। विकल्प नहुँदा यात्रुहरू बाध्य भएर तोकिएकै महँगो मूल्य तिर्न विवस छन् ।
क्याफे सञ्चालनका लागि हुने टेन्डर/ठेक्का प्रक्रियामा अनियमितता र अनुगमनको कमीका कारण व्यवसायीहरूले मनपरी भाउ असुल्ने गरेका छन्।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग वा विमानस्थल प्रशासनले समय–समयमा निर्देशन दिए पनि दीर्घकालीन नियमन र कडाइका साथ कारबाही नहुँदा समस्या दोहोरिने गरेको छ।