चन्द्रागिरिमा प्रस्फुटन भए प्रधानमन्त्री ओलीका काव्यिक भावना

राम्रो अनलाइन     १६ कात्तिक २०८१, शुक्रबार
चन्द्रागिरिमा प्रस्फुटन भए प्रधानमन्त्री ओलीका काव्यिक भावना


काठमाडौँ– तिहार बिदाको समयलाई सदुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली केबुलकार चढेर शुक्रबार मध्यान्ह परिवारसहित चन्द्रागिरि डाँडोमा पुग्दा वातावरण थोरै घमाइलो थियो । वरिपरिका जङ्गललाई हुस्सुले नछोपे पनि मौसम छ्याङ्ग खुलेको भने थिएन । स्वदेशी र विदेशी यात्रीहरू आफ्नै लयमा चन्द्रागिरि पहाड, चन्द्रागिरि रिसोर्ट र भालेश्वर महादेवको परिसरमा घुमिरहेका थिए ।

यही बीचमा त्यहाँ पुगेका प्रधानमन्त्री ओलीले भालेश्वर महादेवको दर्शन र केही यात्रुको आग्रहमा तस्बिर खिचाएपछि काठमाडौँ उपत्यका देखिने छेउतिर राखिएको कुर्सी र टेबलमा बसेर डायरी र कलम समाए । नजिकै रहेका सुरक्षाकर्मी र सहभागीले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्न लागेको भन्ने ठाने पनि प्रधानमन्त्री ओलीले सतीदेवीको भाल पतनको पौराणिक प्रेमकथालाई चित्रण गर्दै त्यसलाई काव्यिक भावमा पस्किए।

“चन्द्रागिरि प्रेमको प्रतीक
सतीदेवी भाल पतन
सर्वोत्तम प्रेमकथा !’’

साथमै रहेकी प्रथम महिला राधिका शाक्य र सचिवालयको टोलीलाई प्रधानमन्त्री ओलीले यही रचनालाई वाचन गरेर सुनाए । चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले तत्कालै प्रतिक्रिया दिए, ‘सम्माननीयज्यू प्रायः चन्द्रागिरि आउँदा केही न केही लेख्नुहुन्छ । हामी धन्य छौँ ।’

राजनीतिका साथै कला, साहित्य र सङ्गीतलाई सक्दो समय दिने र अध्ययनमा त्यत्तिकै रुचि राख्ने नेताका रुपमा परिचित प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले धेरै पटक सार्वजनिकरुपमा भन्ने गरेका छन्– ‘म कवि÷साहित्यकार होइन ।’ तर उनलाई गहिराइका साथ बुझ्नेहरू भन्छन्– ‘नहाँमा सृजनात्मक चेत उच्च छ । समय मिल्ने हो भने उनको लेखनी जम्न सक्छ । उनका अभिव्यक्तिमा दार्शनिकता, साहित्यिक भाव र असीमित हास्यरस पाइन्छ ।’

सायद त्यही भएर होला, समय मिल्ने बित्तिकै प्रधानमन्त्री ओलीलाई रचनागर्भको हुटहुटीले तानिहाल्छ । यसअघि तत्कालीन समयमा पनि प्रधानमन्त्री रहनुभएका ओलीले २०७५ असार ३० गते चन्द्रागिरिमा मदन भण्डारी फाउण्डेसन अन्तर्गतको कला साहित्य प्रतिष्ठानले आयोजना गरेको तीनदिने हिमवतखण्ड कला साहित्य सम्मेलनको समापनका अवसरमा सोही स्थलमा बसेर बिना शीर्षकको कविता लेखेका थियो–

“परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र ?
बाँचुन्जेल हो जिन्दगी मर्नु त छँदैछ ।
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ
सगरमाथा, लुम्बिनी, मेची, महाकाली
हाम्रा लह–लह खेत बारी, झपक्क कान्ला र आली
सपनामा भए पनि देख्न पाउँ
चन्द्रागिरिको डाँडामा आएर सपनामा
भावी सन्तती मुस्कुराएको देख्न पाउँ
तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ
मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ ।”

त्यतिमात्र होइन त्यसपछि २०७८ भदौ ४ गते ‘भिराडिल–चन्द्रागिरि जेसुम’ उत्सवमा चन्द्रागिरि पुगेर एमाले अध्यक्ष ओलीले रचना गरेको अर्को कविताका अंशहरू यस्ता थिए–
“कतै इतिहास, कतै परम्परा
गौरव कतै, कतै पौरख
यहीँ चन्द्रागिरिका डाँडाहरूतिर
सतिदेवी बोकेर काँधमा शोकमग्न शिवजी
यहीँ बाटो भौँतारिएका थिए
जहाँ सतिदेवीको बाल अर्थात् निधार खस्यो
यहीँ चन्द्रागिरि हुँदै ३२ सय वर्ष अगाडि
चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए
त्यहाँ आवाद गर्न, थानकोट मातातीर्थ
यहीँ पृथ्वीनारायणले जुँगामा ताउ लगाएका थिए
लोभिँदै नजर फ्याँकेर उपत्यकातिर
नजिकै फाखेलको गाउँमा देवकोटाले
मानवताको बिगुल फुकेका थिए‘।”

प्रधानमन्त्री ओलीले फर्कने समयमा चन्द्रागिरि हिल्स रिसोर्टको आगन्तुक पुस्तकमा पनि आफ्ना भावनाहरू अभिव्यक्त गरेका थिए । उनले लेखेका छन्, ‘काम गर्नेलाई नेपालमा अवसर छ । काम नगरेर कुरा मात्र गर्नेहरूलाई झन् अवसरै अवसर छ । गर्नेलाई अवसर छ भन्ने कुराको दृष्टान्तमध्ये एउटा गतिलो उदाहरण चन्द्रागिरि हिल्स र चन्द्रप्रसाद ढकाल । चन्द्रागिरि हिल्स आइयो । हेर्नसम्म हेरियो । फुर्सदले मनोरञ्जन लिइयो ।’

अध्यक्ष ढकालले राज्य र अन्य निकायको सहयोग पाएमा यस्ता पर्यटकीय पूर्वाधार मुलुकका साथै प्रदेशमा बनाउने योजना प्रधानमन्त्री ओलीलाई सुनाएका थिए । 

प्रतिक्रिया