न्युरोड पुस्तक पब्लिकेसनद्वारा प्रकाशित तीन कृति एकसाथ लोकार्पण

राम्रो अनलाइन     २० असोज २०८३, मङ्गलबार
न्युरोड पुस्तक पब्लिकेसनद्वारा प्रकाशित तीन कृति एकसाथ लोकार्पण

काठमाडौँ–न्युरोड पुस्तक पब्लिकेसनद्वारा प्रकाशित तीन वटा साहित्यिक कृति एकसाथ सार्वजनिक गरिएको छ । 

सोमबार आयोजित समारोहमा साहित्यकार श्रवण मुकारुङले लेखक रूपक अधिकारीको उपन्यास ‘लाटो क्यानभास’, पविन दाहालको ‘रातो अभिलेख’ र युसन बस्नेतको ‘कुमारीत्व’ सार्वजनिक गरे। विमोचन गर्दै साहित्यकार मुकारुङले साहित्य सिर्जनामा चिन्तन र सामाजिक यथार्थको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । साहित्यले समाजका विविध पक्षलाई अभिव्यक्त गर्दै पाठकलाई सोच्न र प्रश्न गर्न प्रेरित गर्नुपर्ने उनको भनाइ छ ।

विमोचित ‘कुमारीत्व’ मा बलात्कारलगायतका सामाजिक घटना र त्यसले निम्त्याउने समस्या तथा प्रभावलाई कथावस्तुमार्फत प्रस्तुत गरिएको छ । त्यसै गरी पविन दाहालको ‘रातो अभिलेख’ सस्पेन्स तथा थ्रिलर शैलीमा लेखिएको कृति हो । यो लेखकको यसअघि प्रकाशित ‘तराजुमा प्रेम’ पछिको दोस्रो कृति हो । रूपक अधिकारीको ‘लाटो क्यानभास’ मा प्रेम, सम्बन्ध र त्यससँग जोडिएका भावनालाई चित्रात्मक तथा विश्लेषणात्मक ढङ्गले प्रस्तुत गरिएको छ । 

कृतिले प्रेमको अमरता तथा मानवीय सम्बन्धका विभिन्न रङलाई साहित्यिक रूपमा उजागर गर्ने प्रयास गरेको छ । समारोहमा न्युरोड पुस्तक पब्लिकेसनका राजेश गजुरेलले आगामी बडादसैँका अवसरमा पाठकका लागि सानो कोसेलीस्वरूप तीन वटा कृति बजारमा ल्याइएको जानकारी दिए। पाठकबाट प्राप्त हुने रचनात्मक सुझाव तथा समीक्षाले लेखकलाई आफ्ना आगामी कृति थप परिमार्जन गर्न सहयोग पुग्ने प्रकाशकको विश्वास छ ।

प्रतिक्रिया