जिमखानामा महिला

सुवर्ण खड्का, फिटनेस एक्सपर्ट     ३० चैत २०७७, सोमबार
जिमखानामा महिला

फिटनेस भन्नेबित्तिकै पुरुषहरूले ज्यान कसिलो बनाउने भन्ने मान्यतामा परिवर्तन आउन थालेको छ । हिजोआज पुरुषकै हाराहारीमा महिला पनि फिटनेस सेन्टर तथा जिमखाना धाउन थालेका छन् । महिलालाई पनि आफ्नो शरीर सुन्दर र कसिलो होस् भन्ने चाहना हुनु स्वाभाविक नै हो । तर, जिम गरेपछि पुरुषको जस्तो शरीर नहोस् भन्नेमा महिला सचेत पनि देखिन्छन् । पुरुष र महिलाको शारीरिक बनावट केही भिन्न हुने भएकाले पुरुषले जस्तै जिम गर्दैमा महिलाको शरीर पुरुषको जस्तो हुने पनि होइन । महिलाले पनि दक्ष ट्रेनरसँग परामर्श गरेर जिम गरेमा आफ्नो शरीरलाई फिट र सुन्दर बनाउन सक्छन् । 

धेरैलाई के भ्रम छ भने जिमखाना गएर केही महिना फलाम उचालेपछि शरीर ठूलो र राम्रो देखिन्छ । कतिपय पुरुष जिम गरेर आफ्नो ज्यान ठूला देखाउन चाहन्छन् । तर, महिलाको रुचि स्लिम र फिट देखिने हुन्छ । त्यसैले जिम सुरु गर्नुअघि नै आफूले कस्तो खालको ज्यान बनाउन चाहेको हो त्योअनुसार प्लान गरेर जिम ज्वाइन गर्दा राम्रो हुन्छ । सही खानपिन र सही व्यायामले मात्र आफूले चाहे जस्तो ज्यान बनाउन सकिन्छ । जिम गर्न थाली हाले ‘अब जे खाए पनि म मोटाउने होइन’ भन्दै जथाभावी खान थालियो भने सुन्दर ज्यान बनाउने योजना पूरा हुँदैन । 

मोटो शरीर भएका कतिपय महिला जिमखाना जान लाज मान्छन् । कतिपय जिमखानामा महिला र पुरुषका लागि छुट्टाछुट्टै ठाउँ छुट्याइएको पनि हुँदैन । यस्तो अवस्थामा अप्ठ्यारो मानेर केही दिन जिम गर्न आउने र पछि एकाएक गायब हुनेहरू पनि हुन्छन् । तर, आफ्नो शरीर फिट बनाउने कुरामा लाज मान्नु हुँदैन । फिटनेस एक्सपर्ट वा ट्रेनरको सहयोगमा जिम गर्ने हो भने महिलाले पनि आफ्नो शरीर फिट बनाउन सक्छन् । बच्चा जन्माइसकेपछि पनि महिलाहरूले जिम गरेर आफ्नो शरीर फिट बनाउन सक्छन् । 

धेरै महिलाहरूको चाहना आफ्नो पेटको बोसो घटाउने र सुन्दर हिप कसरी बनाउने भन्नेमा हुन्छ । यी दुई पार्टको मात्र एक्सरसाइज गर्न पनि सकिन्छ । तर, शरीर फिट र सुन्दर बनाउने इच्छा जागेपछि अन्य भागको पनि एक्सरसाइज गर्दा राम्रो हुन्छ । कार्डियो, ट्रेडमिलमा रनिङलगायत एक्सरसाइज गर्दा शरीर फिट राख्न मद्दत पुग्छ । एक्सरसाइजसँगै ब्यालेन्स डाइट चार्ट फलो गर्नुपर्ने हुन्छ । हप्तामा छ दिन ट्रेनरको सहयोगमा शरीरका विभिन्न पार्टको एक्सरसाइज गर्दा शरीर फिट हुन्छ । जिम गर्न थालेँ भनेर खानपानमा बेवास्ता गरियो भने शरीर फिट हुन सक्दैन । जिम गर्नेहरूको खानपिनमा प्रोटिनको मात्र सही हुनुपर्छ । जंग फुड खान छोडेर फिटनेस एक्सपर्टले सुझाएको डाइट चार्ट फलो गर्नुपर्छ । 


 

प्रतिक्रिया