सन् २०१२ मा सम्पन्न ‘मिस तामाङ’को उपाधि विजेता सुमी मोक्तान म्युजिक भिडियो मोडलिङमा स्थापित नाम हो । भारतको दिल्लीमा पढेकी उनले सन् २००८ मा ‘मिस दिल्ली’को उपाधि जितेकी थिइन् । सन् २०१३ मा ‘मिस नेपाल’मा भाग लिएकी उनले त्यहाँ चौथो स्थान हात पारिन् । ‘दुई रुपैयाँ’ र ‘जानी नजानी’ गरी दुई फिल्ममा आइटम डान्स गरिसकेकी छिन् । फिल्म ‘झ्यानाकुटी’मा छोटो भूमिका निर्वाह गरेकी छिन् । असोज ३ गते प्रदर्शन हुन लागेको फिल्म ‘सरौतो’मा एक्सन भूमिकामा देखिने सुमी मिक्स मार्सल आर्टकी खेलाडी पनि हुन् । उनले ‘सम्पूर्ण’सँग आफ्नो फिटनेस अनुभव बाँडेकी छिन् ।
फिटनेसका लागि मार्सल आर्ट
डेढ वर्षअघि अरूजस्तै शरीर फिट राख्न जिम जान्थेँ । बडी टोन्ड राख्न र स्लिम देखिन जिम जाने गर्थें । जिममा कार्डियो, वेट लिफ्टिङ आदि गरिन्थ्यो । तर, डेढ वर्षयता मिक्स मार्सल आर्टको अभ्यास गरिरहेकी छु ।
फिल्म ‘सरौतो’ गर्ने भएपछि चरित्रको हिसाबले मैले मार्सल आर्टको स्किल देखाउनुपर्ने भयो । फिल्ममा थुपै्रै एक्सन गर्नुपर्ने थियो । चरित्रलाई विश्वसनीय बनाउन मैले मिक्स मार्सल आर्टको ट्रेनिङ सुरु गरेँ । यसमा तेक्वान्दो, उसु, ह्यान्ड फाइट सबै पर्छन् । फिल्मका लागि सुरु गरे पनि पछि मार्सल आर्ट गर्न मज्जा लाग्यो । सुटिङ सकिएको धेरै भइसक्यो तर अहिले पनि निरन्तर गइरहेकी छु । जिमभन्दा यो सही लाग्यो । किनभने, यसले शरीर फिट राख्छ र सेल्फ डिफेन्स पनि सिकाउँछ । राम्रो गर्दै गइयो भने प्रतियोगितामा भाग लिन सकिन्छ ।
सुरु–सुरुमा ट्रेनिङ गर्न एकदमै गाह्रो लाग्यो । किक हान्नै गाह्रो हुन्थ्यो । धेरै दिनसम्म शरीर जता छोयो, त्यतै दुख्थ्यो । तर, केही दिनपछि सहज हुँदै गयो । शारीरिक रूपमा फिट रहन मानसिक रूपले फिट रहनु जरुरी छ ।

जे खाए पनि चल्छ
जिम र मार्सल आर्टमा धेरै फरक हुँदो रहेछ । जिम गर्दा केही सप्लिमेन्ट लिनुपर्छ । तर, यो गेममा जे खाए पनि चल्छ । धेरै चिल्लो–पिरो खानु भएन । सामान्य खाना खान कुनै समस्या हुन्न । हिजोआज कसैले जिम र गेममा कुन राम्रो भनेर सोध्यो भने गेम रोज्छु । शरीर फिट राख्ने सजिलो उपाय रहेछ । यसमा न डाइटको चिन्ता, न खानेकुराको पिर ।
